
काठमाडौं । पाँचौँ दिन मोहम्मद सिराजले २५ बलमा तीन विकेट लिएपछि भारतले घरेलु टिम इंग्ल्यान्डसँगको टेस्ट शृंखला दुई–दुईको बराबरीमा टुंग्याएको छ । केनिङटन ओभलमा सम्पन्न टेस्टअन्तर्गत दोस्रो इनिङको पाँचौँ दिन इंग्ल्यान्डबाट ब्याटिङमा आएका गस अट्किन्सनलाई ८५.१ ओभरमा बोल्ड गर्दै पभेलियन पठाएपछि भारतले ६ रनको रोमाञ्चक जित निकाल्दै शृंखला दुई–दुईको बराबरीमा टुंग्याएको हो ।
पाँचौँ दिन ब्याटिङमा आउनुअघि इंग्ल्यान्डलाई जितका निम्ति ३५ रनको आवश्यकता थियो । चौथो दिनको समाप्तिसम्म ६ विकेटमात्र गुमाएको हुँदा इंग्ल्यान्डले सहज जित निकाल्ने अनुमान थियो । तर, पाँचौँ दिन सिरोजले तीन र प्रसिद्द कृष्णाले एक विकेट लिएपछि ३७४ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ३६७ रनमा समेटिएको हो ।
अन्तिम विकेट बाँकी हुँदा इंग्ल्यान्डलाई जितका निम्ति १७ रनको आवश्यकता थियो । टिमले नवौँ विकेटको रूपमा जेमी ओभरटनलाई गुमाएपछि दाँया हात भाँच्चिएको भए पनि क्रिस बोक्स ११औँ नम्बरमा ब्याटिङका निम्ति आएका थिए । १०औँ विकेटका रूपमा अट्किन्सन बोल्ड भएपछि वोक्स नै अविजित रहेका थिए । दोस्रो इनिङमा इंग्ल्यान्डका ह्यारी ब्रोकले १११ र जोए रुटले १०५ रनको शतकीय इनिङ खेले ।
यसबाहेक, बेन डकेटले ५४, कप्तान ओले पोपले २७, गस अट्किन्सनले १७ र ज्याक क्राउलीले १४ रन थपे । भारतलाई रोमाञ्चक जित दिलाउन सिराजले दोस्रो इनिङमा पाँच विकेट लिए । प्रसिद्द कृष्णाले चार विकेट लिँदा आकाश दीपले एक विकेट हात पारे ।
त्यसअघि पहिलो इनिङमा भारतले २२४ रन बनाएको थियो । पहिलो इनिङमा घरेलु टिमले २४७ रन बनाउँदै ३२ रनको झिनो अग्रता बनाएको थियो । भारतले दोस्रो इनिङमा ३९६ रन बनाएपछि इंग्ल्यान्डले जितका निम्ति ३७४ रनको लक्ष्य पाएको थियो ।
यसअघि यी दुई टिमबीचको पहिलो टेस्ट इंग्ल्यान्डले पाँच विकेटले जितेको थियो । दोस्रो खेल ३३६ रनले जितेपछि भारतले शृंखला एक–एकको बराबरीमा ल्याएको थियो । यी दुई टिमबीचको तेस्रो टेस्ट इंग्ल्यान्डले २२ रनले जित्दा चौथो टेस्ट बराबरीमा समाप्त भएको थियो ।