काठमाडौं । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले एउटा कम्पनीलाई दुईवटा इन्टरनेसनल सेक्युरिटी आइडेन्टिफिकेसन नम्बर (आईएसआईएन) अर्थात् आईजीन दिने विषयमा मर्जर गर्न सक्ने प्रस्ताव गरेको छ । सीडीएससीले नेपाल धितोपत्र बोर्डमा संस्थापक र सर्वसाधारणतर्फको सेयर कारोबारमा फरक–फरक आईजीन नम्बर दिनुपर्ने व्यवस्थासहितको धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका, २०८२ पेस गरेको छ ।
उक्त निर्देशिकाको परिच्छेद ४ को दफा ९ मा मर्जरको व्यवस्था गरिएको छ । "कुनै धितोपत्रलाई फरक फरक आईजीन प्रदान रिएकोमा त्यस्तो धितोपत्रको लागि प्रचलित कानुन बामोजिम फरक आईजीन आवश्यक नपर्ने देखिएमा सम्बन्धित संगठित संस्थाको अनुरोधामा सीडीएससीले आवश्यकता अनुसार प्रदान गरिएको आईजीन मिश्रण (मर्जर) गर्न सक्नेछ," उक्त दफाको उपदफा (१) मा उल्लेख छ ।
बैंक तथा वित्तीय संस्था र बिमा क्षेत्रबाहेकका समूहको सेयर कारोबारमा दुईवटा आइजीन नम्बरको विषयले चर्चा पाएको हो । सीडीएससीले बोर्डमा पेस गरेको निर्देशिकामा धितोपत्रको प्रकारअनुसार छुट्टाछुट्टै आईजीन प्रदान गर्नुपर्ने उल्लेख छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संस्थापक र सर्वसाधारण समूहको सेयर छुट्टिएको अवस्थामा संस्थापक र सर्वसाधारण सेयर समूहलाई छुट्टाछुट्टै आईजीन प्रदान गर्नुपर्ने प्रस्ताव गरिएको छ । आईजीन मिश्रण गर्न सकिने व्यवस्था पनि सीडीएससीले निर्देशिकामा व्यवस्था गरेको छ ।
कुनै धितोपत्रलाई फरक फरक आईजीन प्रदान गरिएकोमा त्यस्तो धितोपत्रका लागि प्रचलित कानुन बमोजिम फरक आईजीन आवश्यक नपर्ने देखिएमा सम्बन्धित कम्पनीको अनुरोधमा सीडीएससीले आवश्यकता अनुसार प्रदान गरिएको आईजीन मिश्रण गर्न सकिने व्यवस्था गरेको छ । कम्पनीहरू एक आपसमा मर्जर भई कायम हुने आईजीन पनि धितोपत्रको प्रकार अनुसार एउटै प्रकारका धितोपत्र समूहलाई एउटै र फरक प्रकारका धितोपत्र समूहलाई छुट्टाछुट्टै प्रदान हुने प्रस्ताव सीडीएससीको छ ।
कुनै धितोपत्रलाई एउटै आईजीन प्रदान गरेकोमा त्यस्तो धितोपत्रका लागि प्रचलित कानुन बमोजिम फरक फरक आईजीन आवश्यक पर्ने देखिएमा सम्बन्धित कम्पनीको अनुरोधमा सीडीएससीले आवश्यकताअनुसार प्रदान गरेको आईजीन छुट्याई फरक–फरक प्रदान गर्न सक्ने व्यवस्था पनि निर्देशिकामा उल्लेख छ ।
सीडीएससीले साउन १२ गते बोर्डमा उक्त निर्देशिका पेस गरेको थियो । यो निर्देशिका हाल बोर्डले अध्ययन गरिरहेको छ । आवश्यकता र अभ्यासलाई हेरेर बोर्डले निर्णय लिने उच्च अधिकारी बताउँछन् ।
कम्पनीको संस्थापक र साधारण सेयरको आईजीन नम्बर र सेयरको स्क्रिप कोड फरक–फरक हुन् । वित्तीय क्षेत्रका कम्पनीहरूको हकमा आईजीन नम्बर र स्क्रिप कोड फरक फरक दिने गरे पनि अन्य क्षेत्रका कम्पनीका लागि सीडीएससी र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले सामान्यतया यी दुवै संकेत एउटै दिँदै आएका छन् ।
आईजीन नम्बर भनेको १२ अंकको कोड हो, जसले धितोपत्र र बन्ड जस्ता वित्तीय उपकरणको चिनारी दिन्छ ।
इमर्जिङ नेपालको संस्थापक सेयरको आईजीनको विषयसँगै पछिल्लो समय दुईवटा आईजीनको चर्चा चर्किएको हो । २०८१ फागुन ३ गते इमर्जिङ नेपाल लिमिटेडको संस्थापक र कर्मचारीतर्फको सेयर कारोबारयोग्य भए पनि पहिला दुईवटा आईजीन नम्बर प्रदान भएको थियो । अहिले एउटै बनाउन स्पष्ट कानुन नभएको सीडीएससीको जवाफपछि यो विषयले चर्चा पाएको हो ।
इमर्जिङसँगै कालिञ्चोक दर्शन, नागरिक लगानी कोष, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को समेत सर्वसाधारण र संस्थापकतर्फको छुट्टाछ्ट्टै दुईवटा आईजीन नम्बर छ ।