
काठमाडौं । न्युरोड टिम (एनआरटी)ले एन्फा यू–१६ युथ लिगमा सातदोबाटो युथ क्लबविरुद्ध साँघुरो जित निकालेको छ ।
मंगलबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा एनआरटीलाई जित दिलाउन टोलीका सुगम रानाको गोल निर्णायक बन्यो । सुगमले दिलाएको एक मात्र गोललाई नै अन्तिम समयसम्म जोगाँउदै एनआरटीले जित पक्का गरेको हो । सुगमले ४४औँ मिनेटमा एनआरटीलाई अग्रता दिलाए ।
यो जितसँगै एनआरटीले लिगमा १२ अंक जोडेको छ । एनआरटीले तीन जित, तीन बराबरी र पाँच हारबाट यो नतिजा आत्मसाथ गरेको हो । उसले अब १२औँ खेलमा मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्नेछ । खेल शुक्रबार (साउन २३ गते) बिहान १० बजे हुने तालिका छ ।
पराजित सातदोबाटो भने ११औँ चरणसम्म पनि अंकविहीन छ । सातदोबाटो ११औँ खेलसम्म पनि पराजित भएको हो । यसअघि उसले प्लानिङ ब्वाइज युनाइटेडसँग ४–०, मनाङ मर्स्याङ्दी क्लबसँग ६–०, श्री भगवती क्लबसँग ६–०, मछिन्द्र क्लबसँग १२–१, चर्च ब्वाइज युनाइटेडसँग ९–२, नेपाल पुलिस क्लबसँग ८–०, संकटा क्लबसँग ५–१ त्रिभुवन आर्मी क्लबसँग ३–१, हिमालयन शेर्पा क्लबसँग १–० र जावलाखेल युथ क्लबसँग ७–० ले पराजित भएको थियो ।
उसले अब १२औँ खेलमा पहिलो जितको निम्ति फ्रेर्न्ड्स क्लबको सामना गर्नेछ । खेल बिहीबार (साउन २२ गते) दिउँसो १ बजे हुने तालिका छ ।