site stats
बाह्रखरी :: Baahrakhari
खेल
फिफा महिला वरीयता : नेपाल हालसम्मकै उच्च स्थानमा
फाइल तस्बिर ।

काठमाडौं । फिफा महिला वरीयतामा नेपाली राष्ट्रिय महिला टिमले हालसम्मकै उच्च स्थान हासिल गरेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार नेपाली टिम ८७औँ स्थानमा छ । नेपाली महिला फुटबलले पाएको यो हालसम्मकै उच्च वरीयता हो ।

नेपाल योपटक १३ स्थानमाथि उक्लियो । नेपाली टिम यसअघि १००औँ स्थानमा थियो ।

फिफा वरीयतामा यसअघि नेपाली टिमको उच्च स्थान ९१औँ थियो । नेपालले सन् २०१७ को डिसेम्बर १५ मा उक्त स्थान हासिल गरेको थियो ।

नेपाली महिला टिमले फिफाको जुलाई विन्डोमा एएफसी एसियन कप छनोटअन्तर्गत लाओस, श्रीलंका र उज्वेकिस्तानविरुद्ध प्रतिस्पर्धा गरेको थियो । छनोटको अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।

नेपाली टिमले त्यसअघि छनोटमा लाओसलाई ९–० ले पराजित गरेको थियो । नेपालले श्रीलंकाविरुद्ध ८–० को जित निकालेको थियो । नेपालले अन्तिम खेलमा उज्वेकिस्तानविरुद्ध निर्धारित समयसम्म २–२ को बराबरी खेलेको थियो । तर, पेनाल्टी सुटआउटमा ४–२ ले पराजित हुँदा एसियन कप खेल्ने नेपालको सम्भावना समाप्त भएको थियो ।

adsfgm-1754558097.jpg
फिफाको दक्षिण एसियाली वरीयतामा नेपालसँगै भारत, बंगलादेश, पाकिस्तान र भुटानको पनि स्थान सुधार भएको छ । भारत दक्षिण एसियाको शीर्ष स्थानमा छ । भारत सात स्थान सुधार गर्दै ६३औँ वरीयतामा उक्लिएको छ ।

दक्षिण एसियाली वरीयताको तेस्रो स्थानमा रहेको बंगलादेशले पनि कीर्तिमानी सुधार गरेको छ । फिफाको अगस्ट वरीयतामा बंगलादेशले सबैभन्दा धेरै २४ स्थान सुधार गरेको छ । बंगलादेश १०४औँ स्थानमा उक्लिएको छ ।

दक्षिण एसियाको चौथो स्थानमा पाकिस्तान छ । पाकिस्तान तीन स्थान सुधार गर्दै १५४औँ वरीयतामा उक्लिएको छ । पाँचौँ स्थानमा श्रीलंका छ । श्रीलंका दुई स्थान घट्दै १६५औँ वरीयतामा झरेको छ । छैटाँै स्थानमा भुटान छ । भुटान आठ स्थान उक्लँदै १६३औँ वरीयतामा छ । पुछारमा रहेको माल्दिभ्स दुई स्थान घटुवामा पर्दै १६५औँ वरीयतामा छ । 

विश्व वरीयता
विश्व वरीयतामा स्पेन शीर्ष स्थानमा उक्लिएको छ । स्पेन यसअघि दोस्रो स्थानमा थियो । स्पेनले एक स्थान सुधार गरेको हो । 

अमेरिका पहिलोबाट दोस्रो स्थानमा झरेको छ । तेस्रोमा तीन स्थान सुधार गर्दै स्वीडेन आएको छ । चौथो वरीयतामा इंग्ल्यान्ड छ । इंग्ल्यान्डले एक स्थान सुधार गरेको हो । दुई स्थान घटुवामा परेको जर्मनी पाँचौँ वरीयतामा छ ।

प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  १४:५७
प्रतिक्रिया दिनुहोस्