site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पाँचवटा संसदीय समितिको बैठक बस्दै (कार्यसूचीसहित)
फाइल तस्बिर ।

काठमाडौं । संघीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । 

अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक मामिला समिति, सार्वजनिक लेखा समिति र संयुक्त समितिको बैठक बस्न लागेको हो । 

अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सांसद र विज्ञसँग छलफल गर्ने कार्यसूची छ । बैठक दिउँसो १ बजे बस्नेछ । 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिबाट भएका स्थलगत अनुगमनका प्रतिवेदनमाथि छलफल हुनेछ । बैठक मध्याह्न सवा १२ बजे बस्नेछ । 

महिला तथा सामाजिक मामिला समितिको बैठकमा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी विद्यमान कानुनी जटिलता सम्बन्धमा छलफल हुनेछ । बैठक बिहान ९ बजे बस्नेछ । 

सार्वजनिक लेखा समितिको बैठक पनि आजै बस्दै छ । बैठकमा बेरुजुको आयतन उच्च भएका दश मन्त्रालयका सचिव र सो अन्तर्गतका विभागका प्रमुखसँग छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त)को बैठकमा  सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवन निर्माणको हालको कार्यतालिका र कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमा छलफल हुनेछ । 

बैठक बिहान सवा ९ बजे बस्नेछ । 

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  ०६:३१
प्रतिक्रिया दिनुहोस्