काठमाडौं । एकै वर्ष एक हजार ४३७ जना नेपालीले दक्षिण अमेरिकी राष्ट्र ब्राजिलमा शरणार्थीको ‘स्टाटस’ (हैसियत) माग्दै आवेदन दिएका छन् । सन् २०२४ मा उनीहरूले ब्राजिलमा शरणार्थीको हैसियत माग गर्दै आवेदन दिएका हुन् ।
ब्राजिलको न्याय तथा सार्वजनिक सुरक्षा मन्त्रालयको तयार पारेको ‘रिफ्युजी इन नम्बर्स, २०२५’ प्रतिवेदनमा ब्राजिलमा शरणार्थीको हैसियत माग गर्ने छैटौँ ठूलो संख्या नेपालीको भएको उल्लेख छ ।
गतवर्ष ब्राजिलमा शरणार्थीको हैसियत माग गर्ने सबैभन्दा ठूलो संख्या क्रमशः भेनेजुएला, क्युबा, एङ्गोला, भारत र भियतनामका नागरिकपछि नेपाली पर्छन् ।
प्रतिवेदन अनुसार, सन् २०२४ मा कुल ६८ हजार १५९ जनाले ब्राजिलमा शरणार्थीको हैसियत माग्दै आवेदन दिएका थिए । आवेदन दिनेमा भेनेजुएलाका २७ हजार १५०, क्युबाका २२ हजार २८८, एङ्गोलाका ३ हजार ४२१, भारतका २ हजार १४४, भियतनामका १ हजार ९१४ र नेपालका १ हजार ४३७ जना थिए ।
सोही अवधिमा कोलम्बियाका १ हजार १३१, चीनका ५९८, मोरक्कोका ४७७, सोमालियाका ४२९, बंगलादेशका ४१५, क्यामरुनका ३९१, टोगोका ३६२, पाकिस्तानका ३५५, अफगानिस्तानका ३४५, हाइटीका ३१३, डोमेनिकन रिपब्लिकका २९५, पेरुका २४९, कंगोका २३९, लेबनानका २३२ र अन्य राष्ट्रका ३ हजार ९७४ जनाले शरणार्थीका लागि आवेदन दिएका थिए ।
ब्राजिलमा शरणार्थीको हैसियत माग गर्दै आवेदन दिने नेपाली सबै मानव तस्करको प्रलोभनमा परी अमेरिका जान हिँडेकाहरू हुन् ।
गत वर्ष ब्राजिलमा शरणार्थीको हैसियत माग गर्दै आवेदन दिने कुल आप्रवासीमा २.१० प्रतिशत संख्या नेपालीको छ । सन् २०२३ को तुलनामा २०२४ मा ब्राजिलमा शरणार्थीको हैसियत माग गर्दै आवेदन दिने नेपालीको संख्या ४८.७५ प्रतिशत वृद्धि भएको छ ।
“अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति हुनुअगाडि ठूलो संख्यामा नेपाली अमेरिका जान ब्राजिल आएको देखिन्छ । ट्रम्पले कडाई गर्ने भएपछि उनले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुअगावै अमेरिका छिर्ने मनसायले ठूलो संख्यामा नेपाली आएजस्तो तथ्यांकले देखाउँछ,” ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्लेले बाह्रखरीसँग भने ।
‘रिफ्युजी इन नम्बर्स, २०२४’ प्रतिवेदन अनुसार सन् २०२३ मा ५८ हजार ६२८ जना विदेशीले ब्राजिलमा शरणार्थीको हैसियत माग गर्दै आवेदन दिएका थिए । उक्त वर्ष यसरी आवेदन दिने नेपालीको संख्या ९६६ थियो, जुन संख्या ब्राजिलमा शरणार्थीको हैसियत माग्ने भारतीय, चिनियाँ र बंगलादेशीकोभन्दा बढी थियो ।
सन् २०२३ मा भेनेजुयलाका २९ हजार ४६७, क्युबाका ११ हजार ४७९, एङ्गोलाका ३ हजार ९५७, भियतनामका एक हजार १४२, कोलम्बियाका एक हजार ४५, नेपालका ९६६, भारतका ९६१, चीनका ८१८, मोरक्कोका ४८७, गुयनाका ४४१, लेबनानका ४०७, पेरुका ३७३, नाइजेरियाका ३६५, बंगलादेशका ३४०, घानाका २७० र अन्य देशका ६ हजार ११० जनाले ब्राजिलमा शरणार्थीको माग गरेका थिए ।
अवैध तरिकाले दक्षिण अमेरिकी राष्ट्रहरू हुँदै अमेरिका जानेहरू प्रत्येकले मानव तस्करलाई ८० लाखभन्दा बढी रकम बुझाएको उनीहरू आफैँले बताउने गरेका छन् ।
ब्राजिलमा शरणार्थीको हैसियत माग गर्ने नेपालीमा महिलाको तुलनामा पुरुषहरूको संख्या निकै ठूलो रहेको छ । “नेपाली आवेदकहरूमा ९२.६५ प्रतिशत पुरुष र ७.३५ प्रतिशत महिला छन्,” ‘रिफ्युजी इन नम्बर्स, २०२५’ प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार सन् २०२४ मा १८ वर्षसम्मका ६५ जना र १९ वर्षदेखि ६५ वर्षसम्मका एक हजार ३७२ जना नेपालीले ब्राजिलमा शरणार्थीका लागि आवेदन दिएका थिए ।
प्रतिवेदनमा ६ वर्षसम्मका एकजना, ७ देखि ११ वर्ष उमेर समूहका तीनजना र १२ देखि १८ वर्ष उमेर समूहका ६१ जनाले शरणार्थीका लागि आवेदन दिएको उल्लेख छ ।
१५ देखि २४ वर्ष उमेर समूहका ५१९ जना, २५ देखि ३९ वर्ष उमेर समूहका ८१९ जना र ४० देखि ६४ वर्ष उमेर समूहका ९५ जना नेपालीले ब्राजिलमा शरणार्थीको लागि आवेदन दिएको देखिन्छ ।
अवैध तरिकाले अमेरिका जान ब्राजिल पुगी शरणार्थीको हैसियत माग गर्ने नेपालीमा सबैभन्दा ठूलो संख्या १५ देखि ३९ वर्ष उमेर समूहको छ । यो उमेर समूहका एक हजार ३३८ जनाले सन् २०२४ मा शरणार्थीका लागि ब्राजिलमा आवेदनमा दिएका थिए । प्रतिवेदनले नेपाली स–साना बालबालिकासमेत साथमा लिएर ब्राजिल पुगेको देखाउँछ ।
सबैभन्दा ठूलो संख्यामा नेपालीले ब्राजिलको दक्षिणी सहर साओ पाउलोमा शरणार्थीका लागि आवेदन दिने गरेका छन् । साओ पाउलोमा आवेदन दिने विदेशीमा पनि सबैभन्दा ठूलो संख्या नेपालीको छ ।
“साओ पाउलोमा शरणार्थीको हैसियत माग गर्दै परेका आवेदनमा सबैभन्दा ठूलो संख्या नेपालीको थियो, जसले कुलको ३८.९ प्रतिशत हिस्सा ओगटेको थियो,” प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार, सन् २०२४ मा ब्राजिलको राष्ट्रिय शरणार्थी समितिले १३ हजार ६३२ जना आप्रवासीलाई शरणार्थीको हैसियत प्रदान गरेको छ । यस वर्ष विश्वका १३० देशका नागरिकले ब्राजिलमा शरणार्थीको हैसियत माग गर्दै आवेदन दिएका थिए ।
“गतवर्ष एकै पटक चार–पाँच सय नेपाली साओ पाउलो पुगेका थिए । ट्रम्प राष्ट्रपति भएपछि आप्रवासी नीतिमा कडाई गरेसँगै अवैध तरिकाले अमेरिका जाने उद्देश्यले ब्राजिल आउनेहरू रोकिएका छन्,” राजदूत काफ्लेले भने ।
गत वर्षको भदौमा साओ पाउलोमा एकसाथ १७६ नेपाली पुगेका थिए । त्यसलगत्तै ब्राजिलको अध्यागमनले अवैध तरिकाले अमेरिका जार्दै गरेको नेपालीसहित ७०० जना आप्रवासीलाई साओ पाउलोमा रोकेको थियो । साओ पाउलो विमानस्थलमा पुगेपछि उनीहरूले आफूहरू शरणार्थी भएको दाबी गरेपछि अध्यागमनले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
शरणार्थीको हैसियत माग गर्दै मुद्दा अघि बढाएपछि उनीहरू अध्यागमनको नियन्त्रणबाट मुक्त हुन्छन् र बाहिर निस्कन्छन् । त्यसपछि मानव तस्करको पछि लागेर उनीहरू पेरु हुँदै अमेरिकातर्फको यात्रामा लाग्ने गर्छन् ।
मानव तस्करले ब्राजिलबाट पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका छिराउने गरेको पाइन्छ । ब्राजिलदेखि अमेरिकासम्मको यात्रामा अकल्पनीय पीडा व्यहोर्नुपर्ने हुँदा केहीको यात्राका क्रममा बाटोमै मृत्यु हुने गर्छ ।
मानव तस्करले ठूलो संख्यामा नेपालीलाई सिधै दक्षिण अमेरिकी राष्ट्र बोलिभिया पनि पुर्याउने गर्छन् । बोलिभियाले नेपालीलाई ‘अनअराइभल भिसा’ दिन्छ । त्यसको फाइदा उठाउँदै मानव तस्करले नेपालीलाई सिधै बोलिभिया पुर्याउँदै त्यहाँबाट पेरु हुँदै अमेरिकातर्फको यात्रामा अघि बढाउने गरेको पाइन्छ । बोलिभिया हुँदै जानेको संख्या ब्राजिलमा शरणार्थीको हैसियत माग गर्नेमा पर्दैन ।
“मानव तस्करहरूको पछि लागेर ब्राजिल आइपुगेका धेरैलाई हामीले भेटेका छौँ । उहाँहरूले मानव तस्करहरूबारे केही जानकारी दिनुहुन्न । ‘मरे मरिन्छ, तर गइन्छ’ भन्ने उत्तर दिनुहुन्छ,” राजदूत काफ्लेले भने ।
ट्रम्पले सन् २०२५ जनवरी २० मा राष्ट्रपतिको शपथ लिएका थिए । त्यसपछि दक्षिण र मध्य अमेरिकी राष्ट्र हुँदै अमेरिका प्रवेश गर्ने आप्रवासीमाथि कडाई गर्ने नीति लिएका थिए । अवैध तरिकाले प्रवेश गरेकालाई पनि देश निकाला (डिपोर्ट) गर्ने नीति ट्रम्प प्रशासनले लिएको छ । फलस्वरुप अवैध तरिकाले दक्षिण अमेरिकी राष्ट्र हुँदै अमेरिका जाने क्रम रोकिएको भनाइ राजदूत काफ्लेको छ ।
ट्रम्प प्रशासनले अमेरिकाबाट डिपोर्ट गर्ने एक हजार ३६५ नेपालीसहित १४ लाख ४५ हजार ५४९ जना आप्रवाशीको सूची सार्वजनिक समेत गरिसकेको छ ।
ट्रम्प राष्ट्रपति भएपछि अमेरिकामा अवैध तरिकाले प्रवेश गरेका र बसोबास गरेका लगभग २०० जना नेपालीलाई डिपोर्ट गरिसकेको छ । सन् २०२४ मा अमेरिकाले मात्र ३५ जना नेपालीलाई डिपोर्ट गरेको थियो ।
ब्राजिलको न्याय तथा सार्वजनिक सुरक्षा मन्त्रालयको तयार पारेको ‘रिफ्युजी इन नम्बर्स, २०२२’ प्रतिवेदनमा सन् २०२१ मा ब्राजिलमा शरणार्थीको हैसियत माग गर्ने १८औँ ठूलो संख्या नेपालीको थियो । उक्त वर्ष ५५ जना नेपालीले ब्राजिलमा शरणार्थीको हैसियत माग गरेका थिए ।
कोरोना महामारीका कारण अवैध तरिकाले अमेरिका जाने नेपालीको संख्या सन् २०१९ पछि घटेको थियो । कोरोनाको प्रभाव घट्दै गएपछि फेरि अवैध तरिकाले अमेरिका जानेको संख्या बढेको देखिन्छ ।