
काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले नियमित कप्तान मार्क आन्द्रे टर स्टेगनलाई जिम्मेवारीबाट हटाएको छ । पछिल्लो समय मैदानबाहिर रहेका स्टेगन र क्लबबीच तनाव बढ्दा बार्सिलोनाले उनलाई कप्तानी जिम्मेवारीबाट हटाएको हो ।
बार्सिलोनाले यही समर विन्डोमा स्पान्योलबाट २४ वर्षीय गोलकिपर जोन गार्सियालाई अनुबन्ध गरेको थियो । यस्तै, क्लबले म्यानचेस्टर युनाइटेडबाट विंगर मार्कुस रासफोर्डलाई पनि लोनमा एक वर्षका निम्ति अनुबन्ध गरेको छ । यी दुईको पारिश्रमिक पूरा गर्न पछिल्लो समय बार्सिलोनाले स्टेगनलाई बेच्न खोजेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
गत सिजन घुँडाको विभिन्न चोटका कारण करिब वर्षभर नै मैदानबाट बाहिर रहे । बार्सिलोनाले ३३ वर्षीय स्टेगनको विकल्प खोजेपछि यी दुईबीचको तनाव बढेको हो ।
“अनुशासनको सम्बन्धमा उठेका विषयलाई क्लबले पक्कै पनि समाधान गरिसकेको छ । क्लबको खेलकुद व्यवस्थापन विभाग र प्राविधिक टिमसँगको छलफलपछि स्टेगनलाई कप्तानबाट अस्थायीरूपमा हटाउने निर्णय गरिएको छ,” बार्सिलोनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “उनको अनुपस्थितिमा क्लबको यो जिम्मेवारी उपकप्तान रोनाल्ड अराउहोले लिनेछन् ।”
स्पेनिस ला लिगाको साविक विजेतासमेत रहेको बार्सिलोनाले अगस्ट १६ मा मायोर्कासँग खेल्दै यस सिजनको सुरुआत गर्नेछ ।