site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सिद्धार्थ बैंकको वितरणयोग्य मुनाफा तीन गुणाले बढ्यो

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक वित्तीय विवरणअनुसार, बैंकको वितरणयोग्य मुनाफा तीन गुणाले बढेको छ ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा २२० प्रतिशतले वृद्धि भई एक अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष वितरणयोग्य मुनाफा ५८ करोड तीन लाख ६१ हजार रुपैयाँ वितरणयोग्य मुनाफा थियो ।

वितरणयोग्य मुनाफा बढेसँगै बैंकको लाभांश क्षमता प्रतिसेयर १३ रुपैयाँ २२ पैसा पुगेको छ । डिबेन्चर रिडेम्पसन रिजर्भमा एक अर्ब ४६ करोड रुपैयाँ रकम छुट्याइएको छ ।

समग्र मुनाफा पनि १०.२४ प्रतिशतले वृद्धि भई तीन अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष ०८०/८१ मा तीन अर्ब आठ करोड रुपैयाँभन्दा नाफा गरेको थियो । खराब कर्जालाई २.६२ प्रतिशतमा सीमित गर्दै सन्तुलित विस्तार गरेको छ ।

बैंकको खुद ब्याज आम्दानी आठ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६.४३ प्रतिशतले वृद्धि भएको हो । सेवा शुल्क र अन्य आम्दानी समेत १५.०९ प्रतिशतले बढ्दै एक अर्ब ६४ करोड रुपैयाँ पुगेको छ ।

सञ्चालन आम्दानीमा ११.८२ प्रतिशतको वृद्धिसँगै कुल आम्दानी ११ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।

बैंकले गत वर्ष थप एक अर्ब ३१ करोड रुपैयाँ कर्जा नोक्सानी प्रोभिजनिङ गरेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन १६.१६ प्रतिशतले बढ्दै दुई खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ । कर्जा लगानी ९.७६ प्रतिशतले वृद्धि भई दुई खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ ।

निक्षेपमा ३८ अर्ब ९९ करोड र कर्जामा १९ अर्ब सात करोड रुपैयाँको वार्षिक वृद्धि देखिएको छ । बैंकको चुक्ता पुँजी १४ अर्ब ९ करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा १६ अर्ब ९० करोड रुपैयाँ रहेको छ ।

प्रमुख वित्तीय सूचक
बैंकको प्रतिसेयर आम्दानी २४.१ रुपैयाँ पुगेको छ । वितरणयोग्य आम्दानीमा आधारित प्रतिसेयर आम्दानी १३.२२ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ २१९.९७ रुपैयाँमा पुगेर २३.६१ रुपैयाँले वृद्धि भएको छ ।

दोस्रो बजारमा सेयरमूल्य र प्रतिसेयर आम्दानीको प्राइस अर्निङ अनुपात १५.९३ रहेको छ । पुँजीकोष अनुपात ११.७७ प्रतिशत कायम छ । खराब कर्जा २.६२ प्रतिशत छ ।

कर्जा तथा निक्षेप अनुपात ७६.९२ प्रतिशत पुगेको छ, जुन ०.२४ प्रतिशत बिन्दुले सुधारिएको हो । बैंकको आधार ब्याजदर गत वर्षको तुलनामा १.६९ प्रतिशत बिन्दुले घटेर ६.४२ प्रतिशतमा झरेको छ । स्प्रेडदर ३.९८ प्रतिशतमा कायम गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  १३:०२
प्रतिक्रिया दिनुहोस्