
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विदेशमा रहेका नेपाली नागरिकहरूका लागि मताधिकारको व्यवस्था गर्न अभियान नै चलाउने भएको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सरकार र सम्बन्धित निकायहरूको गम्भीर ध्यानाकर्षण गराउने अभियान सञ्चालन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता मनीष झाले जानकारी दिए ।
पार्टी सभापति रवि लामिछानेका विषयमा भइरहेको हस्ताक्षर अभियानलाई संगठन निर्माणका गतिविधिसँग प्रभावकारी बनाएर लैजाने निर्णय बैठकले गरेको छ ।
“राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर अभियानलाई देशव्यापी रूपमा प्रभावकारी बनाउन केन्द्रीय समितिको तर्फबाट संगठन निर्माणका हरेक गतिविधि सँगसँगै प्रभावकारी बनाइने समेत निर्णय भएको छ,” झाले भने ।
उनले शुक्रबारसम्म ३२ लाख ६ हजार ६०८ हस्ताक्षर संकलन भएको छ । ६२ लाख १६ हजार ६६९ सहयोग रकम उठेको छ ।
केन्दीय समिति बैठकले पार्टीको संस्थापक केन्द्रीय सदस्य इश्रामुल्ला मियाँलाई केन्द्रीय सदस्यको जिम्मेवारी पुनः दिने निर्णय गरेको छ । हज कमिटीको अध्यक्षमा नियुक्ति हुँदा पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए ।
पार्टीले सम्पादन गर्नुपर्ने विभिन्न रणनीतिक कार्यहरू सम्पादन गर्नका लागि रणनीतिक समूहहरू गठन गर्ने निर्णय भएको उनले बताए । पार्टीको संगठन वडादेखि जिल्ला हुँदै प्रदेश र केन्द्रसम्म सशक्त बनाउन र आवश्यक सबलीकरणका लागि केन्द्रीय समितिका सबै सदस्यहरू तथा केन्द्रीय विभागका सबै सदस्यहरूलाई जिल्ला जिल्लामा परिचालन गर्ने पनि कार्यक्रम रहेको झाले जानकारी दिए । त्यस्तै, पार्टीको रिक्त विभिन्न विभाग तथा समितिहरूमा जिम्मेवारी समेत दिइएको छ ।
जसलाई जिम्मेदारी दिइयो
क. केन्द्रीय श्रम तथा उपभोक्ता हित विभाग प्रमुख– श्याम बाबु गौतम, काठमाडौं ।
ख. केन्द्रीय सार्वजनिक लेखा समीक्षा विभाग प्रमुख– गोकुल सापकोटा, नवलपुर ।
ग. मधेस प्रदेश समितिको सहमहामन्त्री– गणेश धिमाल, बारा र श्री पुनम शाह, सिराहा ।
घ. केन्द्रीय श्रम तथा उपभोक्ता हित विभाग उपप्रमुख– ललित श्रेष्ठ, नवलपुर ।