
नीरव गगनमा एउटा चम्किलो
सुनको तारा देख्दा
मलाई तिम्रो याद आउँछ
म हौसलाको पखेटा हाल्छु
त्यो तारा टिपी ल्याउन
तिम्रा लागि, केवल तिम्रा लागि
उड्छु दूर दूर
तर दुर्भाग्य,
तारा ज्योतिहीन बन्छ
खाली हात फर्कन्छु
ताराको अस्त देखेर
हो, ताराको जन्म हामी देख्दैनौँ
बरु, ज्योति भने देख्दा रहेछौँ अस्तपछि पनि
लामो समय
जुनकिरीजस्तो पिलपिल
मलाई आज उड्दा उड्दै
त्यही प्रकाशले झुक्यायो
पुतलीलाई जस्तै गरी
अस्तसँगै त्यो तारा आफ्नै
उदयविन्दुमा समाहित भइसकेछ
कुनै ज्योतिभित्र
आहा, समर्पण
तारा कसैको रहेछ !
हिमाल जति उठोस्
सागरमै बिलाउँछ
हिमालको अस्तित्व कतिन्जेल ?
लहरहरू सागरमै बिलाउँछन्
लहरको अस्तित्व कतिन्जेल ?
अनि, सागरको पनि कतिन्जेल ?
ब्रह्माण्ड अँध्यारो ऊर्जामा फैलिन्छ
यहाँ प्रकाशको अस्तित्व कतिन्जेल ?
उज्यालो पनि समर्पित छ
त्यसैले प्रिय घरको दियो पनि यहाँ
कसैका लागि जलिरहने रहेछ
समर्पणभित्र पनि समर्पण
रहेछ संसार
प्रेमभित्र पनि समर्पण
रहेछ संसार
जंगली सालको बुटो
सहजै छेड्ने भँवरा
कोमल फूलका पत्रहरूभित्र बिलाउँछ
आफूलाई मेट्दै
जसरी जड कोमलतामा गुम्छ
आफ्नो अस्तित्व नै समाप्त हुने गरी
आरनको प्रचण्ड अग्निमा
नगलेका कठोर मनहरू
प्रेमिल नजÞरको नशाबीच
मैनजस्तै पग्लन्छन्
मन हार्छ प्रेममा
मन मन रहन्न
प्रेम बन्छ मन
प्रेममा हार नै जित रहेछ
त्यसैले प्रिय,
म यो संसारको समर्पण खेल
विच्छेद गर्न सक्दिनँ
तारा त दूरको कुरा,
फूल पनि तिम्रो लागि चुड्न सक्दिनँ
म सक्छु त केवल मेटिन
तिमीभित्रै मेटिन
तिम्रो आलिंगनमा विलय हुन
म आफैँ तिम्रो उपहार बन्न
स्वीकार गर ।