
चौतारीमा शीतल छर्ने
यौटा यौटा बोट रोपौँ
दिलबारीमा असल संस्कार
मलजल गरी सबले गोडौँ ।
सन्ततिका लागि पनि
केही असल छाप छोडौँ
सबैप्रति सद्भाव राखी
यौटा यौटा फूल बाँडौँ ।।
कर्म यस्तो गरौँ सबले
मर्दा लासमा फूल फालून्
नखुम्चियोस् नाकमुख
बरु लासमा आँसु झारून् ।
भेटी एकार्कोलाई
ओठमा मुस्कान सबले छोडौँ
सबैप्रति सद्भाव राखी
यौटा यौटा फूल बाँडौँ ।।
लामो यात्रा सुरु हुन्छ
पहिलो पाइला चालेपछि
घर, समाज, देश बन्छ
सबले असल गरेपछि
मर्नैपर्छ एक दिन सबले
केही असल काम गरौँ
सबै प्रतिशत भाव राखी
यौटा यौटा फूल बाँडौँ ।।
सानो लाग्छ दुःख आफ्नो
अर्काको दुःख देखेपछि
सुख मिल्छ जीवनलाई
दुःखहरू बाँडेपछि ।
चहर्याएको घाउमाथि
दल्नलाई मलहम बाडौँ
सबैप्रति सद्भाव राखी
यौटा यौटा फूल बाँडौँ ।।
वैरभाव फाली सबले
मुटुभरि माया पालौँ
राम्रो असल दिन सकौँ
कटुतालाई परै फालौँ ।
स्वच्छ आत्मा राखी सबलाई
प्रीति प्रीति मात्र बाँडौँ
सबैप्रति सद्भाव राखी
यौटा यौटा फूल बाँडौँ ।।
आत्मालाई साक्षी राखी
असल गर्ने प्रण गरौँ
ज्ञानीगुनी असल बन्ने
प्रेरणाको स्रोत बनौँ ।
हात मिलाई एकार्कामा
मित्रताको झन्डा गाडौँ
सबैप्रति सद्भाव राखी
यौटा यौटा फूल बाँडौँ ।