साहित्य

दीपकराज सापकोटा
कुन क्षणमा लाग्यो होला मुख हेर्ने रहर
सुन्दरताको कुरा हो कि आफू चिन्ने रहर
कस्तो थियो प्रतिक्रिया आफैँलाई देख्दा
आफू चिन्न सकेँ कि नाइँ, पहिलोपटक भेट्दा ?
जमेको त्यो पानीमाथि उत्रिएको छाया
हेरूँ हेरूँ कति लाग्ने मोहनी त्यो माया
सधैँ हेर्न पाए अहा, कति राम्रो होला
तरलबाहेक कुन तत्त्वमा आकृति यो खुल्ला ?
कति भयो खोजतलास कस्तो भयो प्राप्ति
दुःखकष्ट कति भयो अनि कति सास्ती
भेटेका दिन कति खुसी कति हेर्यौ मुहार
त्यत्रो ठूलो उपलब्धि पक्कै बन्यो जुहार ।
कसलाई दियौ उपहार को भो भाग्यमानी
बाँड्यौ या बेच्यौ तिमीले मान्छे छानीछानी
सर्वाधिकार नबनाउँदा कति कति मालिक
आविष्कार गर्नेको खै कता छ त सालिक ?
प्रकाशित मिति: शनिबार, साउन २४, २०८२ १२:३०
प्रतिक्रिया दिनुहोस्