site stats
बाह्रखरी :: Baahrakhari
खेल
एनपीएल अक्सन : आदील मुख्य आकर्षण, ‘अनसोल्ड’को सूचीमा शरद, पृथु र प्रदीप

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका निम्ति गरिएको बोलकबोलबाट कुल ३७ खेलाडी आठ फ्रेन्चाइज टिममा आबद्ध भएका छन् ।

शनिबार (साउन २४) ललितपुरस्थित रोयल टुलिपमा गरिएको अक्सनमा प्रतियोगितामा सहभागी आठ टिमले कुल २६ खेलाडीमा बोली लगाए । यस्तै, अक्सनपछिको ‘विस लिस्ट’बाट थप ११ खेलाडीलाई यी टिमले चयन गरे । योसँगै कुल ३७ जनाको कोटा पूरा भइसकेको छ । अब विदेशी खेलाडीको कोटा बाँकी छ ।

अक्सनमा आदील अन्सारी सबै टिमका निम्ति आकर्षण बने । ‘स्पट फिक्सिङ’मा मुछिएपछि पछिल्लो दुई वर्षयता घरेलु क्रिकेटबाट पर रहेका आदीललाई सबै टिमले सबैभन्दा उच्च मूल्य लगाए ।

‘ए’ श्रेणीमा रहेका आदीलको न्यूनतम मूल्य १० लाख थियो । तर, आठै टिमले चर्को इच्छा देखाउँदा उनको नाम आएको केही बेरमै यो रकम उच्चतम विन्दु १५ लाखमा पुगेको थियो । सबै टिमले इच्छा देखाउँदा आदीलका निम्ति लक्की ‘ड्र’ भयो । लक्की ‘ड्र’मा उपत्यकाको प्रतिनिधित्व गरिरहेको काठमाडौं गोर्खाज भाग्यमानी साबित भयो ।

यता, नेपाली क्रिकेटका ‘लेजेन्ड’ शरद भेषवाकर अक्सनमा बिक्री नहुने सबैभन्दा ठूलो नाम बने । चितवन राइनोजबाट यसअघि एनपीएलमा प्रतिनिधित्व गरेका शरदको नाम आउँदा कुनै टिमले इच्छा देखाएनन् । यसबाहेक पृथु बास्कोटा र प्रदीप ऐरी पनि ‘अनसोल्ड’ भएका १३८ खेलाडीभित्र रहे ।

अक्सनमा कुल चार खेलाडीले अधिकतम बोली पाए । तीमध्ये चितवन राइनोजले दुई खेलाडीमाथि समान १५ लाख खर्च गर्‍यो । कर्णाली याक्स र काठमाडौं गोर्खाजले एक/एक खेलाडीमा सबैभन्दा अधिकतम बोली लगाए ।

चितवनले ‘ए’ श्रेणीका देव खनाल र अर्जुन साउदमाथि १५ लाख रुपैयाँ खर्चियो । कर्णालीले पवन सर्राफ र काठमाडौंले आदीलमाथि १५ लाख रुपैयाँ खर्चिन कुनै हिचकिचाहट देखाएनन् ।

अक्सनबाट कुन टिमले कति खेलाडी भित्र्याए ?
अक्सनमा साबिक विजेता समेत रहेको जनकपुरले तीन खेलाडीमाथि बोली लगाउँदै टिममा भित्र्यायो । यसबाहेक जनकपुरले एक खेलाडीलाई ‘विस लिस्ट’बाट टिममा ल्यायो ।

साबिक उपविजेता समेत रहेको सुदूरपश्चिम रोयल्सले कुल पाँच खेलाडी भित्र्यायो । तीमध्ये तीन खेलाडी अक्सनबाट भित्र्याइयो । दुई खेलाडी भने अक्सनपछिको ‘विस लिस्ट’बाट टिममा आबद्ध भए ।

लुम्बिनी लायन्सले पनि पाँच खेलाडी आबद्ध गर्‍यो । तीन बोलकबोल र दुई खेलाडी ‘विस लिस्ट’बाट छानिए ।

काठमाडौंले पाँचै खेलाडी अक्सनबाट टोलीमा ल्यायो ।

चितवन राइनोजले दुई खेलाडी अक्सनबाट भित्र्यायो । र तीन खेलाडीलाई ‘विस लिस्ट’बाट टिममा अनुबन्ध गर्‍यो । 

कर्णाली ‘विस लिस्ट’बाट खेलाडी अनुबन्ध नगर्ने अर्को टोली बन्यो । कर्णालीले चार खेलाडीलाई बोलकबोलबाटै टिममा अनुबन्ध गरेको हो । 

विराटनगर किंग्सले तीन खेलाडी अक्सनबाट भित्र्यायो । दुई खेलाडी ‘विस लिस्ट’बाट टिममा ल्यायो ।

पोखरा एभेन्जर्सले पनि कुल चार खेलाडी भित्र्यायो । तीन खेलाडी अक्सनबाट र बाँकी एक ‘विस लिस्ट’बाट आए ।

यस्ता छन् आठ टोलीका खेलाडी 
जनकपुर बोल्ट्स : सचिन भट्ट, आदीत्य महता, मयन यादव र विकाश आग्री (विस लिस्ट) ।
काठमाडौं गोर्खाज : उत्तम मगर, तुलबहादुर थापा, सन्तोष यादव, आकाश त्रिपाठी र आदील आलम ।
कर्णाली याक्स : पवन सर्राफ, इमरान सेख, दीपक डु्रमे र युवराज खत्री ।
चितवन राइनोज : देव खनाल, अर्जुन साउद, विपीन आचार्य (विस लिस्ट), विपीन रावल (विस लिस्ट) र रञ्जित कुमार (विस लिस्ट) ।

विराटनगर किंग्स : सूर्य तामाङ, साहिल पटेल, नारायण जोशी, सर्वन किस्कु (विस लिस्ट) र शंकर राना (विस लिस्ट) ।
लुम्बिनी लायन्स : दिलीप नाथ, विशाल पटेल, शेर मल्ल, दुर्गेश गुप्ता (विस लिस्ट) र आदील खान (विस लिस्ट) ।
सुदूरपश्चिम रोयल्स : हेमन्त धामी, टेक रावत, दीपेन्द्र थापा, दीपक बोहरा (विस लिस्ट) र मिलन बोहरा (विस लिस्ट) ।
पोखरा एभेन्जर्स : अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल र सन्दीप खत्री क्षेत्री (विस लिस्ट) ।

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  ०६:२८
प्रतिक्रिया दिनुहोस्