
काठमाडौं । चीनको सत्तारूढ कम्युनिस्ट पार्टी (सीपीसी)को अन्तर्राष्ट्रिय विभाग प्रमुख एवं वरिष्ठ राजनीतिज्ञ लियू जियानचाओलाई सोधपुछका निम्ति हिरासतमा राखिएको वाल स्ट्रिट जर्नलले जनाएको छ । चीनबाट भने यसबारे आधिकारिक पुष्टि गरिएको छ ।
वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार, ६१ वर्षीय लियूलाई जुलाईको अन्त्यमा विदेश भ्रमणबाट बेइजिङ फर्किएपछि अधिकारीहरूले सोधपुछका निम्ति नियन्त्रणमा लिएका थिए । लियूलाई चीनको सम्भावित भावी विदेशमन्त्री मानिन्छ । उनलाई राष्ट्रपति सी चिनफिङको निकटस्थका रूपमा हेन्छि ।
लियूले जुलाई २८ मा दक्षिण अफ्रिकामा आयोजित लिबरेसन मुभमेन्ट्स समिटमा सीपीसी प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।
लियूले विदेशमन्त्री वाङ यीसँगको सहकार्यमा चीनको विदेश नीतिमा प्रभावकारी भूमिका खेल्दै आएका थिए । लियूको प्रोफाइल र उनको हालैका अन्तर्राष्ट्रिय भेटघाटका तस्बिर अझै सीपीसीको आधिकारिक वेबसाइटमा उपलब्ध छन् ।
गत वर्ष चीनका तत्कालीन विदेशमन्त्री छिन गाङलाई अचानक हटाइएको भए पनि त्यसको कारण सार्वजनिक गरिएको थिएन ।
जिलिन प्रान्तमा जन्मिएका लियूले अक्सफोर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धको अध्ययन गरेका थिए । त्यसपछि चीनको विदेश मन्त्रालयमा विभिन्न पदमा कार्यरत रहे ।
उनी सीपीसीको अनुशासन आयोगमा पनि रहिसकेका छन् । आयोगले सन् २०१२ यता धेरै वरिष्ठ अधिकारी र सैन्य जनरलमाथि भ्रष्टाचारको जाँच गरेको छ ।