
काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लूभीएल)को फ्रेन्चाइज टोली काठमाडौं स्पाइकर्सको नयाँ मुख्य प्रशिक्षकमा लोकबहादुर बुढा नियुक्त भएका छन् ।
खेलाडी र प्रशिक्षकको भूमिकामा लामो समयदेखि काम गर्दै आएका लोक पहिलोपटक फ्रेन्चाइज भलिबल लिगमा प्रशिक्षक बनेका हुन् । यसअघि पहिलो संस्करणमा काठमाडौं स्पाइकर्सको मुख्य प्रशिक्षकमा नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक समेत रहेका जगदीश भट्ट थिए ।
यस सिजन लोकलाई नयाँ मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरिएको हो । त्रिभुवन आर्मी क्लबका पूर्वखेलाडीसमेत रहेका लोक हाल सोही क्लबमा प्रशिक्षकको भूमिकामा छन् । उनले राष्ट्रिय टिमको कोचिङ स्टाफको रूपमा रहेर समेत काम गरिसकेका छन् । लोकको प्रशिक्षण अनुभवले काठमाडौं स्पाइकर्सले राम्रो नतिजा हात पार्ने टिमको विश्वास छ ।
नेपाली राष्ट्रिय महिला टिमकी मुख्य स्पाइकर उषा भण्डारी मार्की प्लेयर रहेको काठमाडौं स्पाइकर्समा मनीषा चौधरी, यमुना रसाइली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्द छन् । यसअघि अक्सनबाट कविता भट्टलाई अनुबन्ध गरे पनि उनी अष्ट्रेलिया गएपछि उनको स्थानमा भुवनेश्वरीलाई राखिएको हो ।