काठमाडौं । निजी लगानीमा सञ्चालित अमुदी फुड्स लिमिटेडले २० करोड रुपैयाँबराबरको २० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको छ । उद्योगले अंकित मूल्यमा आईपीओ निष्कासन गर्न लागेको हो ।
उद्योगले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । अमुदी फुड्स र क्यापिटलबीच आईपीओ निष्कासनसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा अमुदी फुड्सको तर्फबाट अध्यक्ष अच्युत बस्नेत र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीइओ) मन्दीप लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
चितवनको भरतपुर महानगरपालिका–१२, गोन्द्राङमा अमुदी फुड्स रहेको छ । उद्योगमा विभिन्न क्षेत्रमा अनुभवप्राप्त प्रतिष्ठित व्यवसायी, उद्योगी, शिक्षाविद् तथा ख्यातीप्राप्त व्यक्तित्वहरूको लगानी रहेको छ । अमुदी फुड्सले ‘यू एन्ड मी’ ब्रान्डमा गुणस्तरीय स्न्याक्स उत्पादन गर्दै आएको छ ।
स्न्याक्सको क्षेत्रमा एक दर्जन उत्पादन गर्दै आएको अमुदीले अब नुडल्स उत्पादनलाई पनि रणनीतिक रूपमा अघि सारेको छ । उद्योगबाट उत्पादित ‘यू एन्ड मी’ ब्रान्डले स्वदेश तथा विदेशमा नेपाली स्वादको पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ ।
उद्योगको क्षमता अभिवृद्धि गरी नुडल्स उत्पादनमार्फत बजार विस्तार, रोजगारी सिर्जना र अन्तर्राष्ट्रिय बजारमा ‘यू एन्ड मी’लाई एक प्रतिस्पर्धी ब्रान्डको रूपमा स्थापित गर्ने लक्ष्य लिएको अमुदी फुड्सले जनाएको छ ।