site stats
बाह्रखरी :: Baahrakhari
देश
रवि राखिएको रूपन्देही कारागारमा अनुगमन टोलीले जे देख्यो

बुटवल । पछिल्लो समय रूपन्देहीको भैरहवास्थित जिल्ला कारागार चर्चामा छ । जहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई राखिएको छ । लामिछानेलाई अँध्यारो कोठामा मानव अधिकारका न्यूनतम मापदण्ड पनि पालना नगरेर राखिएको दाबीसहितका समाचार बाहिरिएपछि रूपन्देही कारागार थप चर्चामा छ । कतिपयले उनलाई एसीसहितको कोठामा राखिएको पनि दाबी गरे ।

चर्चाकैबीच सोमबार राष्ट्रिय मानव अधिकार आयोगको एक टोलीले रूपन्देही कारागारको अनुगमन गरेको छ । आयोगकी आयुक्त लिली थापाको नेतृत्वको टोलीले अनुमगन गरेको हो ।

कस्तो छ रवि बस्ने कोठा ?
अनुगमनमा गएको आयोगको टोलीका अनुसार, पूर्वगृहमन्त्री लामिछाने कारागारमा एक्लै बस्छन् । उनी बस्ने कोठाको क्षेत्रफल ४२० स्क्वायर फिट छ । कारागार प्रमुख सुरेश भण्डारीका अनुसार, कोरोनाको समयमा संक्रमितलाई छुट्टै राख्न बनाइएको कोठामा उनलाई राखिएको हो ।

मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रूपन्देहीका प्रतिनिधि रिमा बिसीका अनुसार, लामिछानेको कोठाको झ्यालमा प्लाइउड राखिएको छ । उनी बस्ने कोठाको भुइँमा निलो रंगको‍ कार्पेट बिछ्याइएको छ ।

अनुगमनका क्रममा लामिछानेले आफ्ना कपडा भित्रै सुकाउने गरेको तथा कोठाबाट कपडा नसुकेको गन्ध आएको पाइएको बिसीले बताइन् ।

Bhairawa-Karagar-1754914561.jpg
कतिपयले लामिछाने राखिएको कोठामा एसी रहेको दाबी गरेका थिए । तर, अनुगमनमा एसी नभएको बिसी बताउँछन् . तर, दुईवटा पंखा भने रहेको उनले जानकारी दिइन् ।

"जिप्सन लगाइएको कोठामा एउटा ठूलो फलामको पंखा छ, अर्को स्ट्यान्ड पंखा छ," उनले भनिन् ।

उनका अनुसार, लामिछाने बस्ने कोठामा अट्याच शौचालय छ । तर, पूरै गारो लगाइएको छैन । "अट्याच शौचालय छ । तर, पूरै गारो छैन, हल्कामात्रै गारो लगाइएको छ," उनले भनिन् ।

इन्सेक प्रतिनिधि बिसीका अनुसार, उनको कोठामा एउटा रेडियो, एउटा लो बेड, एउटा टेबुल र कुर्सी राखिएको छ । टेबुलमा पुस्तक राखिएको छ ।

"रविजीको कोठामा सञ्चार हक भनेर एउटा रेडियो राखिएको छ । टेलिफोनलगायत उपकरण हामीले अनुगमनका क्रममा केही पनि देखिएन," उनले भनिन्, "पत्रपत्रिका ठ्याक्कै कारागारले उपलब्ध गराउने भन्ने रहेनछ । उहाँले जुनसुकै पत्रिका मगाउनुभयो भने पढ्नलाई त्यस्तो अप्ठेरो चाहिँ छैन," उनले थपिन्, "कोठामा एउटा लो बेड छ, तर त्यो रविजी अटाउनुहुन्छ जस्तो छैन, लम्बाइ सानो छ । कोठाको कुनाको भागतिर टेबुलमा रविजीले पढ्ने पुस्तकहरू राखिएका छन् ।"

Anugaman-1754914560.jpg
के हो झ्यालको वास्तविकता ?
कारागार प्रमुख भण्डारीका अनुसार, लामिछानेको कोठाको झ्यालमा प्लाइउड राखिएको छ । वरपर अग्ला घर छन् । ती घरको छतबाट उनका गतिविधि निगरानी गर्न सकिने भएकाले सुरक्षाको कारणले प्लाइउड नहटाइएको उनको भनाइ छ ।

"कारागार आसपास अग्ला र भित्रका सम्पूर्ण गतिविधि नियाल्न मिल्ने व्यक्तिका घरहरू छन् । ती घरबाट कारागारभित्रका गतिविधि नियाल्नका साथै तस्बिर खिच्न मिल्ने अवस्थाले सुरक्षा चुनौती रहेको छ," उनले भने, "पहिले त्यो कोभिडको समयमा आइसोलेसन बनाइएको कोठा हो । कोरोना सर्छ भनेर लगाइएको प्लाइउड हो त्यो । पूर्वगृहमन्त्रीजस्तो व्यक्तिको गतिविधि ट्र्याक हुन सक्छ वा उहाँमाथि प्रहार हुन सक्छ भन्ने कुरालाई ख्याल गर्दै सुरक्षाको कारणले नै राखिएको हो ।"

मानव अधिकार आयोगको टोलीले भने झ्यालको प्लाइउड हटाउन निर्देशन दिएको इन्सेक प्रतिनिधि बिसीले जानकारी दिइन् ।

उनले भनिन्, "रविजीलाई ट्र्याक हुने, सर्पको टोकाइबाट बचाउन तथा ढुंगाइँटाले हान्ने भएकोले सुरक्षाको हिसाबले प्लाई थियो भन्ने थियो । तर, आयोगका आयुक्तज्यूले प्लाई हटाएर सिसा वा बाक्लो जाली लगाउन निर्देशन दिनुभएको छ । कारागार प्रमुखज्यूले पनि काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।"

Anugaman-1754914559.png
के रविलाई फरक सुविधा छ ?
प्रमुख भण्डारीका अनुसार, लामिछानेलाई सुरक्षालाई ध्यानमा राखी कारागारमा छुट्टै राखिएको छ । चार महिनादेखि कारागारमा रहेका लामिछानेलाई बाहिर आएजस्तो एसीलगायत कुनै सुविधा केही नदिइएको भण्डारीको भनाइ छ ।

उनले लामिछानेलाई समयसमयमा भेट गरी समस्या तथा आवश्यकताका सम्बन्धमा सोधपुछ गर्ने गरेको र देखिएका समस्या समाधान गरेकोबाहेक एसीजस्ता सुविधा नदिइएको स्पष्ट पारे ।

उनका अनुसार, लामिछानेलाई अन्य सामान्य कैदीले पाउने सेवासुविधा नै दिइएको छ । लामिछानेले चाहेमा मात्र बाहिरबाट आउने व्यक्तिले भेट्न पाउने तथा सञ्चार सुविधा उपयोग गर्ने वातावरण मिलाइएको भण्डारी बताउँछन् ।

कस्तो छ रूपन्देही कारागारको अवस्था ?
रूपन्देहीको भैरहवास्थित जिल्ला कारागार कार्यालयमा अहिले ६२८ कैदी छन् । जबकि यस कारागारको क्षमता २५० कैदीमात्र हो ।

प्रमुख भण्डारीले कारागार व्यवस्थापनामा थुप्रै चुनौती रहेको बताए । "तराईको चर्को गर्मी, क्षमताभन्दा बढी कैदीबन्दी व्यवस्थापनसँगै अन्य झैझगडाका चुनौतीहरू छन्," उनले भने, "अहिलेसम्म अप्रिय घटना त भएको छैन । तर, चुनौतीका चाङ छन् ।"

उनका अनुसार, रूपन्देही कारागार ९२ वर्षअघि निर्माण गरिएको हो । कारागारको भौतिक संरचनाले थेग्न नसक्ने गरी कैदीबन्दी र थुनुवाको चाप हुँदा तराईको चर्को गर्मीमा विभिन्न रोगका संक्रमण हुने जोखिमसमेत छ । सुत्ने ठाउँ र शौचालयको समस्या पनि उस्तै छ । यहाँ जम्मा १६ वटा शौचालय छन् ।

rabi-story-(3)-1754914559.jpg
भण्डारीका अनुसार, टिनका पाताहरू चुहिन्छन् । गर्मी छल्न टिनमाथि खरले छाइएको छ । तारजाली लगाइएको पर्खालबाट कुन बेला के हुने हो भन्ने ठेगान छैन । असुविधा र अप्ठेराका कारण कारागारमा उत्पन्न हुने विभेदले 'ग्याङ' निर्माणको खतरा हुने भएकाले आफूले नियमित निरीक्षण र कारागारभित्रको अवस्थाबारे जानकारी लिने प्रयास गरिरहेको उनले बताए । कारागारभित्रको प्रशासन चलाउन कोठा र ड्युटी नाइके र चौकीदारको व्यवस्था हुने गरिएको छ ।

कारागारसँगै बस्ती जोडिएकाले खुला स्थानको अभाव छ । वरपर बलियो पर्खाल नहुँदा सुरक्षा चुनौती थपिएको छ । सामान्य जाली लगाएर कारागार क्षेत्र घेरिएको छ । घेरिएको क्षेत्रमा सबैतिर काँडेतारसमेत नहुँदा कैदीबन्दी भाग्ने र अन्य भित्र–बाहिर दुवैतर्फबाट आपराधिक क्रियाकलाप हुन सक्ने जोखिम छ ।

विसं १९९० सालमा निर्माण भएको यस कारागारमा सबैजसो भवन जीर्ण अवस्थामा छन् । भण्डारीले भने, "पुराना संरचना हुन्, मजबुत छैनन् ।"

कारागार प्रशासनका अनुसार, कारागारमा सबैलाई पर्याप्त हुने सेवा सुविधा छैन । पिउने पानीको समेत समस्या छ । बिजुली नियमित नहुने समस्याले थप हैरानी हुन्छ ।

"सबैलाई पुग्ने गरी स्वास्थ्य सामग्री उपलब्ध गराउन सकिएको छैन," प्रमुख भण्डारीले भने, "पर्याप्त खेल मैदान र सामग्री छैनन् ।"

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  १८:०३
प्रतिक्रिया दिनुहोस्