काठमाडौं । अमेरिका र चीनले एकअर्कामाथि ट्यारिफ (आयात कर) नलगाउने सहमतिलाई थप ९० दिनका लागि विस्तार गरेका छन् । यो निर्णय हालको सहमति अवधि समाप्त हुने समयअगावै लिइएको बीबीसीले जनाएको छ ।
सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै मे महिनामा भएको सहमतिलाई निरन्तरता दिएका छन् । मे महिनामा भएको सहमतिमा दुवै देशले एकअर्काको सामानमा लगाइएका आयात करहरू अस्थायी रूपमा निलम्बन गरेका थिए ।
अमेरिकाले सहमति अवधि विस्तार गरिएन भने मंगलबारदेखि उच्च ट्यारिफहरू लागु हुने चेतावनी दिएको थियो ।
गत महिना भएको वार्तामा चीनले दुवै पक्ष सहमति कायम राख्ने प्रयासमा रहेको बताएको थियो । अमेरिकी अधिकारीहरूले त्यतिबेला राष्ट्रपति ट्रम्पको अन्तिम स्वीकृतिको प्रतिक्षा भइरहेको जनाएका थिए ।
दुई देशबीच अप्रिलमा व्यापारसम्बन्धी तनाव उत्कर्षमा पुगेको थियो । ट्रम्पले विश्वका धेरै देशका सामानहरूमा आयात कर लगाउने घोषणा गरेका थिए । चीनमाथि पनि उच्च कर लगाएको थिए, जसको जवाफमा चीनले अमेरिकी सामानमा कर वृद्धि गरेको थियो ।
मे महिनाको सम्झौता अनुसार, अमेरिकामा आयात हुने चिनियाँ सामानमा वर्षको सुरुको तुलनामा ३० प्रतिशत अतिरिक्त ट्यारिफ लागु गरिएको छ । चीनमा अमेरिकी सामानमा १० प्रतिशत नयाँ कर लागु गरिएको छ । बीबीसी