site stats
बाह्रखरी :: Baahrakhari
देश
वैदेशिक रोजगारीमा दैनिक चार नेपालीको मृत्यु
फाइल तस्बिर

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपालीका आफन्तलाई एकै वर्ष क्षतिपूर्ति र आर्थिक सहायता स्वरुप एक अर्ब ५७ करोड २६ लाख २४ हजार ६९५ रुपैयाँ उपलब्ध गरिएको छ । 

उक्त रकम गत आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका एक हजार ५१७ जनाको परिवारलाई उपलब्ध गराइएको हो । 

बितेको वर्ष वैदेशिक रोजगारीमा दैनिक औसतमा चारजनाभन्दा बढी नेपालीले ज्यान गुमाएका थिए ।

गत आर्थिक वर्ष विभिन्न देशका रोजगारदाता कम्पनी, बिमा कम्पनी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार बोर्डले उक्त क्षतिपूर्ति तथा आर्थिक सहायता मृतकका परिवारलाई उपलब्ध गराएका हुन् ।

“गत आर्थिक वर्ष २०८०/८१ मा क्षतिपूर्ति बापत ५४ करोड ९२ लाख २४ हजार ६९५ रुपैयाँ विदेशबाट प्राप्त भएको छ,” परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागका प्रवक्ता तथा निर्देशक लेखनाथ गौतमले बाह्रखरीसँगको कुराकानीमा जानकारी दिए । 

वैदेशिक रोजगार बोर्डले गत आर्थिक वर्ष वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको परिवारलाई आर्थिक सहायता स्वरुप एक अर्ब दुई करोड ३४ लाख रुपैयाँ उपलब्ध गरेको देखिन्छ । 

रोजगार दाता कम्पनी, बिमा कम्पनी र बोर्डले २०८१ असार १ गतेदेखि २०८२ असार मसान्तसम्मको अवधिमा क्षतिपूर्ति र आर्थिक सहायता अन्तर्गत सो रकम उपलब्ध गराएका हुन् । 

वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा विश्वका १५१ देशमा आठ लाख ३९ हजार २६६ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए । सो वर्ष प्रत्येक दिन औसतमा २३ सय नेपाली वैदेशिक रोजगारीमा गएको देखिन्छ ।  

विभाग र बोर्डको तथ्याङ्कले दैनिक २३ सय नेपाली वेदैशिक रोजगारीमा जाने र चारजना काठको बाकस (मृत्यु) मा फर्कने गरेको देखाउँछ ।

वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मृत्यु हुनेको संख्या पनि बढ्दो छ । कमाउन गएका परिवारको सदस्यको मृत्यु हुँदा नेपालमा रहेका परिवारमाथि पीडा र बोझ दुवै बढ्दो छ । पीडित परिवार रोजगारदाता कम्पनी र वैदेशिक रोजगार बोर्डले उपलब्ध गराउने क्षतिपूर्ति रकममा आफन्तको मृत्युको दिएको पीडा लुकाउन बाध्य छन् । 

वैदेशिक रोजगार बोर्ड र कन्सुलर सेवा विभागबाट प्राप्त तथ्याङ्क अनुसार पछिल्लो चार वर्षमा वैदेशिक रोजगारीमा गएकामध्ये ५ हजार ५५९ जनाको मृत्यु भएको छ ।  उक्त अवधिमा मृत्यु भएकाको परिवारलाई रोजगारदाता कम्पनी, विमा कम्पनी र बोर्डले क्षतिपूर्ति स्वरुप ५ अर्ब ९४ करोड ७५ हजार २८ रुपैयाँ उपलब्ध गरेका छन् । 

मृतकका परिवारले क्षतिपूर्ति दुई ठाउँबाट पाउँछन्– एउटा रोजगारदाता कम्पनी र अर्को वैदेशिक रोजगार बोर्ड । रोजगारदाता कम्पनीले बिमाको आधारमा क्षतिपूर्ति रकम सम्बन्धीत देशमा रहेको नेपाली दूतावास मार्फत परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागमा पठाउँछन् । 

विभागले सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत उक्त क्षतिपूर्ति रकम पीडित परिवारसम्म पुर्याउने गर्छ । बोर्डले भने सिधै पीडित परिवारलाई रकम उपलब्ध गराउँछ ।  श्रम अवधि भित्र या श्रम अवधि सकिएको एक वर्ष भित्र मृत्यु भएको रहेछ भने पीडित परिवारलाई क्षतिपूर्ति स्वरुप १० लाख रुपैयाँ आर्थिक सहायता बोर्डले उपलब्ध गराउँछ । 

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा रोजगारदात कम्पनीले पठाएको र बोर्डले दिएको रकम समेत जोड्दा मृतकका परिवारलाई १ अर्ब ३६ करोड ४७ लाख ७५ हजार ३९४ रुपैयाँ उपलब्ध गरिएको थियो । उक्त वर्ष १ हजार ३५५ जना नेपालीको मृत्यु वैदेशिक रोजगारीका त्रममा भएको थियो । 

कन्सुलर सेवा विभागका प्रवक्ता गौतमका अनुसार आर्थिक वर्ष २०८०/८१ मा क्षतिपूर्ति बापत ६६ करोड ४८ लाख ७० हजार ३९४ रुपैयाँ विदेशबाट प्राप्त भएको थियो । यो बाहेक बोर्डले उक्त अवधिमा मृत्यु भएकाको नजिकको आफन्तलाई ६९ करोड ९९ लाख ५ हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गरेको थियो । 

कन्सुलर सेवा विभागका अनुसार पछिल्लो चार आर्थिक वर्षमा २ अर्ब ७२ करोड ५४ लाख ९१ हजार २८ रुपैयाँ क्षतिपूर्ति वापत विदेशबाट प्राप्त भएको छ । 

विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ मा ७० करोड ७० लाख ५४ हजार ९६४ रुपैयाँ, २०७९/८० मा ८० करोड ४३ लाख ४० हजार ९७५ रुपैयाँ, २०८०/८१ मा ६६ करोड ४८ लाख ७० हजार ३९४ रुपैयाँ र २०८१/८२ मा ५४ करोड ९२ लाख २४ हजार ६९५ रुपैयाँ विदेशबाट क्षतिपूर्ति बापत प्राप्त भएको छ । 

वैदेशिक रोजगार बोर्डकाअनुसार पछिल्लो पाँच वर्षमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति स्वरुप ३ अर्ब ९५ करोड २३ लाख ७ हजार रुपैयाँ आर्थिक सहायता बोर्डले उपलब्ध गरेको छ । 

बोर्डको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ मा ७३ करोड ७७ लाख १५ हजार रुपैयाँ, २०७८/७९ मा ८३ करोड ६० लाख ९९ हजार रुपैयाँ, २०७९/८० मा ६५ करोड ५१ लाख ८० हजार रुपैयाँ, २०८०/८१ मा ६९ करोड ९९ लाख ५ हजार रुपैयाँ र २०८१/८२ मा एक अर्ब २ करोड ३४ लाख रुपैयाँ आर्थिक सहायता रकम वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको नजिकको व्यक्तिलाई उपलब्ध गरिएको छ । 

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार बितेको १७ वर्षमा (आ.व. २०६५/६६ देखि २०८१/८२ सम्म) वैदेशिक रोजगारीमा जानेहरुको नाममा ७३ लाख ५२ हजार ७२८ वटा श्रम स्वीकृति जारी गरिएको छ । उक्त अवधिमा १५ हजार १४ जना नेपालीले वैदेशिक रोजगारीकै क्रममा ज्यान गुमाएका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  ०९:२९
प्रतिक्रिया दिनुहोस्