
काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्ष ०८१/८२ मा सात अर्ब १२ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले मंगलबार (साउन २७) सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणानुसार, अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा १५.०१ प्रतिशतले बढेको छ ।
अघिल्लो आर्थिक वर्ष ०८०/८१ मा बैंकले ६ अर्ब १९ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको वितरणयोग्य मुनाफा चार अर्ब ७७ करोड ३० लाख रुपैयाँ छ ।
बैंकको वितरणयोग्य मुनाफा बढेसँगै लाभांश क्षमता वृद्धि भएको छ । गत वर्षको मुनाफाबाट बैंकले १७ रुपैयाँ ६४ पैसा लाभांश दिन सक्ने क्षमता छ ।
बैंकले गत वर्ष ४० अर्ब ४७ करोड चार लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको अन्त्यसम्म बैंकको यस्तो आम्दानी ४६ अर्ब ४१ करोड ३४ लाख रुपैयाँ थियो ।
गत वर्षको अन्त्यसम्ममा बैंकले चार खर्ब १२ अर्ब ७९ करोड ५५ लाख रुपैयाँ ऋण प्रवाह गरेको छ । उक्त अवधिमा बैंकले चार खर्ब ६१ अर्ब ६० करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।
असार मसान्तसम्म यो बैंकको खराब कर्जा ४.४५ प्रतिशत कायम छ । अघिल्लो वर्षको असार मसान्तसम्म बैंकको खराब कर्जा ४.२७ प्रतिशत थियो ।
बैंकको रिटर्न अल इक्विटी (आरओई) अनुपात ११.०८ प्रतिशत छ । गत वर्ष यो अनुपात ११.६४ थियो ।