site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपा र राप्रपाको विरोध, फेरि गरे बैठक बहिष्कार

काठमाडौं । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले मंगलबार (साउन २७) पनि प्रतिनिधिसभामा विरोध जनाएका छन् । बैठक सुरु हुनेबित्तिकै दुई दलका सांसदले आसनबाट उठेर विरोध जनाएका हुन् ।

त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद शिशिर खनाललाई बोल्न समय दिए । उनले आफूहरूले लामो समयदेखि सदनमा जायज मागका साथ विरोध गरे पनि कुनै सुनुवाइ नगरिएको भन्दै आपत्ति जनाए ।

लोकतान्त्रिक प्रक्रिया र नियमलाई नमान्ने, संविधानलाई कमजोर पार्ने, संविधानका प्रावधानलाई बेवास्ता गर्ने वा त्यसको मर्यादा घटाउने काम भइरहेको उनले बताए ।

उनले भ्रष्टाचार र बिचौलियाको संरक्षण गर्ने सरकार रहे मुलुक र लोकतन्त्रलाई दुर्घटनामा लैजाने उल्लेख गरे ।

सांसद खनालले गृहमन्त्री रमेश लेखकलाई अप्ठ्यारो पर्छ भनेर भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नगरिएको जिकिर गरे ।

यस्तै, राप्रपा सांसद विना लामाले भिजिट भिसा प्रकरणमा आफूहरूले राखेको मागलाई सरकारले बेवास्ता गरेको र त्यसलाई सघाउने काम संसद्ले गरेको आरोप लगाइन् । यस विषयमा संसदीय उच्चस्तरीय छानबिन समिति गठन नगरिएसम्म विरोध जारी रहने उनले बताइन् ।

त्यसपछि दुवै दलका सांसदले संसद् बैठक बहिष्कार गरे । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै दुई दलले गएको जेठ १३ गतेयता सदनमा निरन्तर विरोध जनाउँदै आएका छन् । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  १४:३७
प्रतिक्रिया दिनुहोस्