
बुटवल । लुम्बिनी प्रदेशमा विपद्का घटनाबाट दश वर्षमा ४०० भन्दा धेरैले ज्यान गुमाएका छन् । मनसुनजन्य विपद्का कारण भएका विभिन्न घटनाबाट लुम्बिनी प्रदेशमा पछिल्लो दश वर्षमा ४५९ जनाको ज्यान गएको हो ।
लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार, दश वर्षमा एकहजार ६१८ घटना घट्दा ६१९ जना घाइते र ३२ जना बेपत्ता भएका छन् । यस अवधिमा आठहजार ३१५ परिवार प्रभावित भएका छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् फोकल पर्सन गंगाधर पाण्डेका अनुसार, दश वर्षको अवधिको तथ्यांक हेर्दा सबैभन्दा धेरै ०७३ सालमा विपद्का घटना घटेका छन् । मृत्यु हुनेको संख्या पनि सोही वर्ष धेरै छ ।
कुन वर्ष कति क्षति ?
विपद् फोकल पर्सन गंगाधर पाण्डेका अनुसार, लुम्बिनीमा ०७२ सालमा २५ वटा प्रकोपका घटना भएका थिए । जसमा १९ जनाले ज्यान गुमाए । यस्तै, २३ जना घाइते र तीनजना बेपत्ता भएका छन् । २५ परिवार प्रभावित भए ।
०७३ साल सबैभन्दा बढी मानवीय र आर्थिक क्षतिको वर्ष बन्यो । त्यस वर्ष १३७ घटनामा १०७ जनाको मृत्यु, ६२ घाइते र पाँचजना बेपत्ता भए । त्यस वर्ष पाँचहजार १३ परिवार प्रभावित भएका थिए । यस्तै, झन्डै ७३ करोड ८५ लाख रुपैयाँ बराबरको क्षति भएको थियो ।
०७४ सालमा १०६ घटनामा ५० जनाको मृत्यु भएको थियो । यस्तै, ५१ घाइते, सातजना बेपत्ता र एकहजार ५४० परिवार प्रभावित भए । त्यस वर्ष ५५ करोड रुपैयाँ बराबरको क्षति भएको थियो ।
०७५ सालमा १२५ प्रकोपका घटनामा २९ जनाको मृत्यु हुँदा ७६ जना घाइते भए । त्यस वर्ष ३०८ परिवार प्रभावित भए । अनुमानित आर्थिक क्षति ४९.९ करोड रुपैयाँ थियो ।
०७६ सालमा १३५ घटनामा ५० जनाको मृत्यु हुँदा ६३ घाइते भए । बेपत्ता नभए पनि २१३ परिवार प्रभावित भए । आर्थिक क्षति १५ करोड रुपैयाँ रहेको थियो ।
०७७ सालमा २३१ वटा प्रकोप भएका थिए । जसमा ४१ जनाको मृत्यु हुँदा ६६ जना घाइते भएको थियो । एकजना बेपत्ता भए । यस्तै, ३७७ परिवार प्रभावित भए । त्यस वर्ष २१.७ करोड रुपैयाँ बराबरको क्षति भएको थियो ।
०७८ सालमा १९९ प्रकोपमा ५७ जनाको मृत्यु भएको थियो । यस्तै, ९१ जना घाइते र पाँचजना बेपत्ता भएका थिए । त्यस वर्ष २८५ परिवार प्रभावित भएका थिए भने २४.८ करोड रुपैयाँको क्षति भएको थियो ।
०७९ सालमा १७१ घटनामा ३३ जनाको मृत्यु भएको थियो । त्यस वर्ष ६९ जना घाइते हुँदा दुईजना बेपत्ता भए । विपद्जन्य घटनाबाट २३५ परिवार प्रभावित भए । त्यस वर्षको अनुमानित क्षति २३.२ करोड रुपैयाँ थियो ।
०८० सालमा १९७ प्रकोपका घटना भए । जसमा २० जनाको मृत्यु हुँदा ४८ जना घाइते भए । त्यस वर्ष २१० परिवार प्रभावित भए भने १५ करोड रुपैयाँको क्षति भएको थियो ।
०८१ सालमा सबैभन्दा बढी २९२ घटना रेकर्ड गरिएको छ । ०८१ मा ५३ जनाको मृत्यु भएको थियो । यस्तै, ७० जना घाइते तथा नौजना बेपत्ता भए । ०८१ मा १०९ परिवार प्रभावित भए । आर्थिक क्षति ५४.६ करोड रुपैयाँ बराबर अनुमान गरिएको छ ।
लुम्बिनीमा कति जोखिम ?
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ अनुसार, यस वर्ष लुम्बिनी प्रदेश सबैभन्दा बढी प्रभावित हुने देखिएको छ । कार्ययोजनाअनुसार, लुम्बिनीमा करिब एक लाख १९ हजार ८३० घरधुरीका पाँचलाख २३ हजार ६५६ जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ ।
प्राधिकरणका अनुसार, सबैभन्दा धेरै कपिलवस्तु र बर्दिया प्रभावित हुने अनुमान गरिएको छ । सबैभन्दा कम रुकुमपूर्व प्रभावित हुने अनुमान गरिएको छ ।
कपिलवस्तुमा ८४ हजार ४४९ केसलोड (विपद्का घटना)को प्रक्षेपण गरिएको छ । यस्तै, बर्दियामा ८३ हजार ८१३ रहेको छ । यस्तै, दाङमा ६४ हजार ८८१, बाँकेमा ५६ हजार १७३, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ४५ हजार ८७८, प्युठानमा ४४ हजार ५८९, रूपन्देहीमा ४१ हजार ७५, पाल्पामा ३५ हजार ३६० रहेको छ । यस्तै, अर्घाखाँचीमा २५ हजार ८२७, गुल्मीमा २२ हजार ४७२, रोल्पामा १४ हजार ३५३ र रुकुमपूर्वमा चारहजार ८८६ छ ।