site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपाको आरोप– न्याय परिषद्‌मा परेको उजुरी गृहमन्त्रीको कार्यकक्षमा लेखियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकले न्यायालयमाथि हस्तक्षेप गरेको गम्भीर आरोप लगाएकी छन् । बिहीबार (साउन २९) प्रतिनिधिसभा बैठकमा उनले यस्तो आरोप लगाएकी हुन् ।

गृहमन्त्री लेखकले न्यायालयमा हस्तक्षेप गर्न खोजेका बारेमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सार्वजनिक अभिव्यक्ति दिइसकेको उनले उल्लेख गरिन् । उनले रुपन्देही जिल्ला अदालतमा रास्वपा सभापति रवि लामिछानेको मुद्दा पेसीमा चढेको दिन गृहमन्त्रीको कार्यकक्षमा न्यायपरिषद्‌मा दायर उजुरी तयार पारिएको जिकिर गरिन् ।

उक्त उजुरीको प्रतिलिपि गृहमन्त्रीको सचिवालयबाट पठाइएको समाचार सार्वजनिक भएको उनले सुनाइन् ।

प्रतिनिधिसभामा सांसद डा. चन्दा कार्कीको भनाइ पढ्नोस्–

सम्माननीय सभामुख महोदय,
प्रतिपक्षहरू दुई महिनाभन्दा बढी समयदेखि आन्दोलनमा छन्, तर सरकार मौन छ । 

हिजो प्रधानमन्त्रीज्यूको भाषण सुनेर जनता दिग्भ्रमित छन् । उहाँले नै भन्नुभएको हो— हामीले अदालतमा आफ्नै पार्टीका न्यायाधीश बनाउँछौँ र निर्णय बफादारीमा हुन्छ ।

आज त्यही प्रधानमन्त्रीले अदालतको फैसलाको जिम्मा सरकारले लिन सक्दैन भन्नुहुन्छ । 

माननीय गृहमन्त्रीज्यू फेरि पनि चर्चामा हुनुहुन्छ । नैतिकता जागेर मा. रामहरि खतिवडाज्यूले राजीनामा दिनुभयो । तर, माननीय गृहमन्त्रीज्यूको नैतिकता जगाउन उहाँको आफ्नै मानकले पनि सकेन । मानव तस्कारीको कुरा मात्र होइन, न्यायालयमा उहाँको हस्तक्षेपबारे पनि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीज्यूको स्पष्ट अभिव्यक्ति सार्वजनिक भइसकेको नै छ ।

गत सोमबार रुपन्देही जिल्ला अदालतमा रवि लामिछानेज्यूको निवेदनमाथि पेसी चढेको दिन गृहमन्त्रीज्यूकै कार्यकक्षमा उजुरी तयार पारिएको र त्यसको प्रतिलिपि उहाँकै सचिवालयबाट सबैतिर पठाइएका सूचना र समाचारहरू छरपष्ट बाहिरिएका छन् । अनि, उजुरीको कपी उहाँकै सचिवालयबाट जुन दिन पेस चढेको छ, उही दिन न्याय परिषद्‌मा यसरी योजनाबद्ध उजुरी परेपछि स्वतन्त्र न्याय कसरी सम्भव हुन्छ सभामुख महोदय ? कानुन जान्ने व्यक्तिले यसरी कदम चाल्दा समाजमा के सन्देश जान्छ ? 

केही सांसदहरूले त कानुनमन्त्री र प्रधानमन्त्रीले पनि न्यायाधीशलाई फोन गरेको आरोप लगाउनुभएकै हो । यसबारे म सदनको र सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।

हिजो संसद्को रोस्ट्रममा उभिएर व्यक्तिगत तहमा उत्रिएर प्रधानमन्त्रीले कुण्ठाको पोको खोलेर जानुभयो । संसद् र प्रधानमन्त्री पदको गरिमाको समेत मानमर्दन भएको त्यस्तो अभिव्यक्तिको म जवाफ दिन चाहदिनँ, किनकि ३८ लाखभन्दा बढी नागरिकले हस्ताक्षरमार्फत आफ्नो प्रतिक्रिया दिइसकेका छन् ।

प्रधानमन्त्रीज्यू देशमा सुशासन छ भन्नुहुन्छ, तर मन्त्रीहरू निरन्तर भ्रष्टाचार र काण्डमा मुछिएका छन् । पुराना काण्डहरू छिनोफानो नहुँदै नयाँनयाँ – लिचीबारीकाण्ड, विधेयक छेडखानी, फर्जी कार्यक्रममा विदेश भ्रमणकाण्डहरू एकपछि अर्को सार्वजनिक भइरहेकै छन् ।

तसर्थ, सुशासनको भाषण दिनुअगाडि आफ्ना मन्त्रीहरूको काम, आचरण र सम्पत्ति जाँच गर्नु, मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्नुस् र देशमा सुशासनको यथार्थमा के अवस्था छ बुझ्नुस् भन्न चाहन्छु ।

हामी सत्य र न्यायका लागि लडिरहेका छौँ । रवि लामिछानेमाथि भइरहेको अन्याय र ज्यादतीको प्रतिवाद गरिरहेका छौँ । उहाँको स्वास्थ्य र सुरक्षाप्रति हामी गम्भीर छौँ । यो केवल रविको मुद्दा होइन, यो लोकतन्त्रको न्याय प्रक्रियाप्रतिको विश्वासको मुद्दा हो ।

सरकारले जनभावनाको सम्मान गरोस्, जनता नै जनार्दन हुन भन्ने कुराको हेक्का राखोस् । हाम्रो आन्दोलन अनवरत जारी छ ।

धन्यवाद ।

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  १३:५६
प्रतिक्रिया दिनुहोस्