
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ३० गते (आज)देखि सर्वसाधारणमा प्राथमिक सेयर निष्कासन (आईपीओ) गरेको छ ।
कम्पनीले एक करोड ९५ लाख १९ हजार ५०० रुपैयाँ बराबरको अंकित मूल्य १०० रुपैयाँका एक लाख ९५ हजार १९५ कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
कम्पनीको आईपीओ निष्कासन अवधि छिटोमा भदौ ३ गतेसम्मका लागि तोकिएको छ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा ढिलोमा भदौ १३ गतेसम्म निष्कासन अवधि लम्बिनेछ ।
तर, पछिल्लो समय लगानीकर्ताको आकर्षण आईपीओमा उच्च देखिएको छ । पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएकाले कम्पनीको आईपीओ छिटो अवधि भदौ ३ गतेसम्म मात्र निष्कासनमा रहने निश्चित छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम पाँच हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासत तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । बिक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन पेस गर्न सक्नेछन् ।