
काठमाडौं । वात्सल्य एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभीएल)को फ्रेन्चाइज टोली काठमाडौं स्पाइकर्सले अदिती बुढाथोकीलाई गुडविल एम्बासडर नियुक्त गरेको छ । काठमाडौं स्पाइकर्सले बिहीबार अदितीलाई गुडबिल एम्बासडर नियुक्त गरेको घोषणा गरेको हो ।
अदितीले महिला लिगको फ्रेन्चाइज टिममा गुडविल एम्बासडरको रूपमा जोडिन पाउँदा खुसी लागेको अदितीले बताइन् ।
“एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभीएल) नेपाली महिला भलिबलका लागि ऐतिहासिक प्रतियोगिता हो । यसमा पनि राजधानीको प्रतिनिधित्व गर्ने टिम काठमाडौं स्पाइकर्समा जोडिन पाउँदा म एकदमै खुसी छु,” अदितीले भनिन् ।
नेपाली राष्ट्रिय महिला भलिबल टिमकी मुख्य स्पाइकर उषा भण्डारी मार्की प्लेअर रहेको काठमाडौं स्पाइकर्समा मनिषा चौधरी, यमुना रसाइँली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्द छन् ।
काठमाडौंले दुई विदेशी खेलाडी बुल्गेरियन सेटर कोभा निकोलाएभा र काजकिस्तानकी अपोजिट हिटर अलेना कोलोतीजिनालाई अनुबन्ध गरिसकेको छ । दोस्रो संस्करणका लागि काठमाडौंले लोकबहादुर बुढालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
इन्फिनिटी ड्रिम्सको आयोजनामा ईडब्लूभीएलको दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म (सेप्टेम्बर ५–१३) हुनेछ ।