site stats
बाह्रखरी :: Baahrakhari
देश
रवि लामिछानेले भने– मंगल ग्रह लगे पनि डराउँदिनँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ललितपुरस्थित नक्खु कारागारमा स्थानान्तरण गरिएको छ । रुपन्देही जिल्ला कारागारबाट उनलाई नक्खुमा स्थानान्तरण गरिएको हो ।

शनिबार (साउन ३१) अपराह्न उनलाई हवाईमार्ग हुँदै काठमाडौं ल्याइयो । त्रिभुवन विमानस्थलबाट उनलाई गाडीमा राखेर नक्खु लगियो ।

भैरहवाबाट लामिछाने सवार विमान उड्नुअघि रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले र प्रवक्ता मनिष झाले उनीसित छोटो कुराकानी गरेका थिए । विमानस्थलको प्रतीक्षालयमा उभिएर दुई मिनेट भेटेको झाले उल्लेख गरेका छन् ।

प्रवक्ता झाका अनुसार, त्यसक्रममा लामिछानेलाई उनले सोधेका थिए, “कति दिन भैरहवा बस्नुभयो ?’
लामिछानेले भने, “१२६ दिन ।”

छोटो समयमा भएको वार्तालाप भन्दै झाले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी गराएका हुन् ।

झाले सोधे, “काठमाडौं जानुहुँदै छ, के सोच्दै हुनुहुन्छ ?”
लामिछानेले भने, “पूरै नेपाल मेरो घर हो । सबै नेपाली आफन्त हुन्, सबैसँग माया छ, सद्भाव छ । सबैको हामीप्रतिको विश्वासमा आभार छ ।”

उनका अनुसार, लामिछानेले आफूलाई जता स्थानान्तरण गरे पनि केही फरक नपर्ने बताएका थिए । “राजनीतिक प्रतिशोधले यिनीहरूले मंगल ग्रह लगे पनि डराउँदिनँ, यो त मेरो देश हो, मेरो भूमि हो । जसरी सक्छन्, जता सक्छन् लग्न देऊ । केही फरक पर्दैन,” लामिछानेको भनाइ उद्धृत गर्दै झाले लेखेका छन् ।

लामिछानेले अगाडि भनेका थिए, “म बसेको कारागारको कोठाको भित्तामा मैले लेखेर आएको छु– अब कृष्ण जन्मिने छैन । जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ ।”

लामिछानेसितको भेटबारे झाले फेसबुकमा लेखेको स्टाटस पढ्नोस्–

कृष्ण जन्माष्टमी र Buddha Air-U4 860
आज कृष्ण जन्माष्टमीको दिन, राष्ट्रिय स्वतन्त्र पार्टी, लुम्बिनी प्रदेशको प्रशिक्षणको लागि बिहान सबेरै भैरहवा पुगे र जानकारी पाए कि पार्टी सभापति ज्यू लाई काठमाडौँ उपत्यका स्थित नख्खु कारागार स्थानान्तर गरिँदै छ। प्रशिक्षणमा मेरो जिम्मेवारीको सत्र सकाए। 
हतारिएर, अनिश्चितताको सास फेर्दै 
प्रहरी प्रशासनलाई आग्रह गरे, एक छिन भेट्न पाइन्छ कि भनेर भैरहवा कारागारमै पुगेँ। साथमा पार्टी उपसभापति डाक्टर स्वर्णिम वाग्ले पनि हुनुहुन्थ्यो। कारागार प्रशासकले आज भेट्न मिल्दैन भनेर फर्काइदियो।
विमानस्थलमा एक छिन भेट्न दिन विमानस्थलस्थित प्रहरी प्रशासनलाई अनुरोध गर्न पुग्यौ। निक्कै अनुरोध गरे पश्चात् म र पार्टी उपसभापति डा स्वर्णिम वाग्ले लाई विमानस्थल प्रतीक्षालयमा उभिएरै दुई मिनेट भेट्न दिनु भयो। 
सेतो सर्ट र खरानी रङको पाइन्टमा उज्यालो अनुहार धपक्क बलेको हाम्रो रवि दाइ, कारागार स्थानान्तरणे उनमा कुनै त्रास थपेको छैन, कुनै डर छैन, केही भय छैन। 
मैले सोधे, 
कति दिन भैरहवा बस्नु भयो? वहाँले भन्नु भयो १२६ दिन। 
काठमाडौँ जानु हुदैछ, के सोच्दै हुनुहुन्छ?
वहाँले भन्नुभयो, 
"पुरै नेपाल मेरो घर हो। सबै नेपाली आफन्त हुन, सबै सँगै माया छ, सद्भाव छ, सबैको हामीप्रतिको विश्वासमा आभार छ।"
"भैरहवाको हावापानी, यहाँको आमा बुवा, दाजुभाइ दिदी बहिनी सबै प्रति कृतज्ञ छु। मलाई सुरक्षा दिनुहुने सुरक्षाकर्मी साथीहरू मलाई १२६ दिनसम्म जे जस्तो हुन्छ खाना अन्नको व्यवस्थापन गरिदिने कारागार प्रशासन लगायत सबैप्रति आभारी छु।"
"राजनीतिक प्रतिशोधले यिनीहरूले मंगलग्रह लगे पनि डराउँदिन, यो त मेरो देश हो, मेरो भूमि हो। जसरी सक्छन् जता सक्छन् लग्न देऊ। केही फरक पर्दैन।"
"म बसेको कारागारको कोठाको भित्तामा मैले लेखेर आएको छु। अब यहाँ कृष्णहरू जन्मिने छैन। तर जन्मेकाहरूले नै कृष्ण झैँ बन्नुपर्नेछ।"
"४६३ दिन पहिले एक जनाले प्रमाण छ भनेर भने। मैले प्रमाण मागे उसले बल देखायो। मैले न्याय मागे उसको संयन्त्रले प्रतिशोध साध्यो।"
"तर पनि म भयभीत छैन। किनकि म जनताको अदालतमा विश्वास गरेर परिवर्तनको लागि सबै त्यागेरै हिँडेको मान्छे।"
सुरक्षाकर्मीले हामीलाई छुट्टिन अनुरोध गर्‍यो। "अब काठमाडौँमा भेटौला है" भनेर भैरहवाबाट काठमाडौँको लागि उडेको U4 860 बुद्ध एयरलाई टाढैबाट "राम्ररी पुग्नु है" भनेर छुट्टियौँ।

प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२  १८:१६
प्रतिक्रिया दिनुहोस्