
काठमाडौं । मदन भण्डारीको हीरकजयन्ती मनाउन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)का पदाधिकारीको नेतृत्वमा समिति गठन गर्न चाहिन् । उनले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा समिति बनाउने प्रस्ताव गरिन् । तर, उनको प्रस्ताव अस्वीकार गर्दै ओलीले भने, ‘‘पदाधिकारीका आफ्नै काम हुन्छ ।’’
त्यसपछि भण्डारीले जनसंगठनबाट संयोजक बनाउने प्रस्ताव गरिन् । ओलीले उक्त प्रस्ताव पनि अस्वीकार गरे ।
अनि, भण्डारीले वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेललाई समितिको संयोजक बनाइन् । गएको असार ३१ गते घोषित समितिको संरक्षक भण्डारी हुन् ।
समितिमा भण्डारी राष्ट्रपति हुँदाका स्वकीय भेषराज अधिकारी सचिव छन् । भण्डारी समितिमार्फत जिल्ला–जिल्लाका कार्यक्रममा जाने योजनामा थिइन् ।
तर, साउन ५ र ६ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकबाट भण्डारीलाई पार्टी राजनीतिमा फर्कन रोक लगाउने निर्णय गरियो । र, समितिको गति सुस्त बन्यो । तथापि, यही समितिको कार्यक्रममार्फत भण्डारी अब जिल्ला–जिल्लामा जानेछिन् ।
संयोजक पौडेलका अनुसार, जिल्ला–जिल्लामा उक्त समितिका शाखा गठन गरिँदै छ । वार्षिक कार्यक्रम बनाउने तयारी छ । जिल्लाका महत्त्वपूर्ण कार्यक्रममा केन्द्रबाट नेताहरू जाने सम्भावना छ ।
“साना कार्यक्रम जिल्लामा हुनेछ । यता केही ठूला कार्यक्रम हुनेछ । जिल्लामा महत्त्वपूर्ण कार्यक्रम हुँदा हामीमध्ये कोही जाने होला,” पौडेलले बाह्रखरीसित भने ।
भण्डारीका स्वकीयसचिव राजकुमार राईले समितिमार्फत जिल्ला–जिल्लामा कार्यक्रम आयोजना गरिने बताए । समितिको सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएपछि बैठक बसेर अरू कार्यक्रमबारे निर्णय गरिने उनले जानकारी दिए ।
भण्डारी सोमबार (भदौ २) विराटनगर जाँदै छिन् । “सोमबार विराटनगर जाँदै हुनुहुन्छ । त्यहाँ उद्घोष दैनिकको कार्यक्रममा जान लाग्नुभएको हो,” उनले भने ।
भण्डारी सोमबार नै काठमाडौं फर्कने कार्यक्रम छ । त्यसपछि उनी यही भदौ १४ गते उद्योग वाणिज्य महासंघको कार्यक्रमका निम्ति वीरगन्ज जाने तय छ ।
आफैँ संरक्षक रहेको फाउन्डेसनप्रति ओली सशंकित
मदन भण्डारी फाउन्डेसनमार्फत समानान्तर गतिविधि थालिएपछि ओली सशंकित बनेका छन् । फाउन्डेसनका संरक्षक ओली नै हुन् । हीरकजयन्ती मनाउन गठित समितिले छुट्टै सम्पर्क कार्यालय सञ्चालनमा ल्याउँदै छ ।
मदन भण्डारीको ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति केही समययता सम्पर्क कार्यालयको खोजीमा थियो । बानेश्वर आसपास कार्यालय राख्ने गरी केही घर खोजिँदै थियो । संयोगवश ०४८ सालमा मदन भण्डारीको चुनावी प्रचारप्रसार कार्यालय राखिएको घर नै भेटिएको समितिका संयोजक पौडेलले बताए ।
“बानेश्वर आसपास भाडाको घर खोजिरहेका थियौँ । दुई/तीनवटा हेरिसकेका पनि थियौँ । संयोग कस्तो भयो भने मदन भण्डारी र विद्या भण्डारीको चुनावी प्रचारका लागि भाडामा लिइएको घर भेटियो,” उनले भने ।
०४८ सालको आमचुनाव प्रचारका निम्ति मदनले कार्यालय राखेका थिए । ०५० साल जेठ ३ गते उनको निधन भयो ।
मदनको निधनपछि रिक्त काठमाडौं–१ मा ०५० मा उपनिर्वाचन हुँदा विद्या भण्डारीले पनि त्यही घरमा कार्यालय राखेर चुनाव प्रचार गरेकी थिइन् ।
हालसालै खाली भएको घर भेटिएकाले सम्पर्क कार्यालयका निम्ति भाडामा लिइएको पौडेलले बताए । “त्यही घर चाहिन्छ भनेर खोजेको होइन । हालै मान्छेले छोडेको रहेछ । हामीले खाली गराएर लिएका होइनौँ,” उनले भने ।
घरधनी एमालेकै नेता विदुर मैनाली हुन् । सम्पर्क कार्यालय यही भदौ ५ गते उद्घाटन गर्ने तयारी रहेको पौडेलले जानकारी दिए ।
सम्पर्क कार्यालयमा भण्डारीका निम्ति छुट्टै कार्यकक्षको व्यवस्था गरिनेछ । “समितिको सम्पर्क कार्यालय हो । उहाँको छुट्टै कार्यकक्ष हुन्छ । बेलाबेलामा आउनुहुन्छ,” पौडेलले भने ।
कार्यालय खोली भण्डारी अघि बढ्न खोजेपछि ओली असन्तुष्ट देखिएका छन् । भण्डारीको ‘च्याप्टर क्लोज’ गरिए पनि विधान महाधिवेशनबारे सुझाव लिन तल्ला कमिटीमा भइरहेका भेलामा उनको सदस्यताबारे प्रश्न उठाइँदै छ ।
साउन २६ गते मदन–आश्रित स्मृति प्रतिष्ठानको कार्यक्रममा ओलीले मदन भण्डारी फाउन्डेसनप्रति असन्तुष्टि पोखेका थिए । उनले फाउन्डेसन पार्टीले नबनाएको बताए ।
“मदन भण्डारी फाउन्डेसन पार्टीले बनाएको होइन । त्यो आफैँ बनाएको हो अर्को ढंगले, जति बेला मदन–आश्रित दिवस मनाउन नपाइने स्थिति बन्यो,” उनले भनेका थिए “त्यति बेला श्रद्धाञ्जलीसभा मनाउन नपाइने स्थिति बन्यो । जन्मदिन मनाउन नपाइने स्थिति बन्यो । पर्सि जन्मदिन छ भने आज विभिन्न विकृतिपूर्ण लेख नेतृत्वबाट लेखिने र प्रकाशित भए ।”
त्यसपछि संस्था बनाउनुपर्यो भनेर आन्दोलनप्रति निष्ठावान् मदन स्मृति प्रतिष्ठान गठन गरिएको उनले सुनाए । “मदन भण्डारीका विचारसँग असहमत रहेर पाखण्डी व्यवहार देखाउनेहरूको समूहमा नगएको मात्रै हो । त्यो पार्टीको पक्षमा, आन्दोलनको पक्षमा,” ओलीले भने ।
अब भने मदन भण्डारी फाउन्डेसन कसरी जान्छ भन्ने हेर्नुपर्ने उनले बताएका थिए । “अब त्यसको आगामी दिनमा के हुन्छ हेर्नुपर्ने अवस्था बनेको छ । आगामी दिनमा कसरी जान्छ भन्ने कुरा हेर्नुपर्ने अवस्थाचाहिँ बनेको छ । त्यसका पदाधिकारीका अभिव्यक्ति आदि कुरा । चक्रपथ भन्ने अनलाइनको प्रस्तुतिलगायत हेर्दा कसरी जाने हो त्यो अन्योल छ,” ओलीले भने ।
फाउन्डेसनलाई मागी खाने भाँडो बनाउन नहुने उनले बताएका थिए ।