
काठमाडौं । चर्चित दुई ब्याटर बाबर आजम र मोहम्मद रिजवानलाई टिमबाट बाहिर राख्दै पाकिस्तानले एसिया कप खेल्ने टोलीको घोषणा गरेको छ ।
पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी)ले आइतबार सार्वजनिक गरेको १७ सदस्यीय खेलाडीमा आजम र रिजवान अटाउन सकेनन् । पाकिस्तानले कप्तानको जिम्मेवारी सलमान अली आघालाई सुम्पिएको छ । विकेटकिपरमा मोहम्मद ह्यारिस छन् ।
आजम र रिजवान विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीको ट्वान्टी–२० ब्याटिङ वरीयतामा शीर्ष २० भित्र रहेका दुई पाकिस्तानी ब्याटर समेत हुन् । यी दुईबाहेक टी–२० मा अरू पाकिस्तानी ब्याटर शीर्ष २० वरीयतामा छैनन् ।
वरीयतामा आजम १८औँ स्थानमा छन् । रिजवान १९औँ स्थानमा छन् । यी दुवैले यसअघि पाकिस्तानको कप्तानको जिम्मेवारी समेत सम्हालिसकेका छन् । रिजवान सन् २०२०–२१ मा कप्तान थिए । बाबर सन् २०२० देखि ०२३ सम्म यो भूमिकामा थिए ।
एसिया कपको १७औँ संस्करण युनाइटेड अरब इमिरेट्स (यूएई)मा आउँदो सेप्टेम्बर ९ देखि सुरु हुँदै छ । प्रतियोगितामा पाकिस्तान समूह ‘ए’मा छ । यो समूहमा पाकिस्तानसँगै भारत, ओमान र घरेलु टिम यूएई छन् । समूह ‘बी’मा हङकङ, बंगलादेश, अफगानिस्तान र श्रीलंका छन् ।
पाकिस्तानी टिम–
सलमान अली आघा (कप्तान), अर्बार अहमेद, फहिम अर्शफ, फखर जमान, ह्यारिस रौफ, हसन अली, हुसैन तलात, खुशदील साह, मोहम्मद ह्यारिस (विकेटकिपर), मोहम्मद नवाज, मोहम्मद वसिम जुनियर, सहिबजादा फर्हान, सैब अयुब, अल्मान मिर्जा, साहिन साह अफ्रिदी र सुफयान मोकिम ।