
काठमाडौं । स्टुडेन्ट्स फुटबल क्लब वुमेन्स टिमले एन्फा महिला लिग छनोटमा सिन्धुपाल्चोक एफसी वुमेन्स टिमविरुद्ध ३–१ को सहज जित निकालेको छ । आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा स्टुडेन्ट्सलाई जित दिलाउन टोलीका सविना तामाङले ‘ह्याट्रिक’ प्रहार गरिन् ।
सिन्धुपाल्चोककी अनु भुसालले गोल गरे पनि टोलीको हार टर्न सकेनन् । खेलको पहिलो हाफको इन्जुरी समयमा सविनाले स्टुडेन्ट्सलाई अग्रता दिलाइन् । खेलको ६६औँ मिनेटमा अनुको गोलमा सिन्धुपाल्चोकले खेलमा बराबरी गर्यो ।
७४औँ र ८८औँ मिनेटमा सविनाले गोल गरेपछि स्टुडेन्ट्सले ३–१ को जित पक्का गर्यो । यो जितसँगै स्टुडेन्ट्सले लिगमा पहिलो तीन अंक बनाएको छ । उसले अब दोस्रो खेल छहारी फुटबल क्लबसँग खेल्नेछ । खेल मंगलबार (भदौ ३ गते) दिउँसो १ बजे हुने तालिका छ ।
पराजित सिन्धुपाल्चोकले भने दोस्रो खेल राप्ती एफसीसँग खेल्नेछ । खेल बुधबार (भदौ ४ गते) दिउँसो १ बजे हुने तालिका छ । छनोटमा १४ टिमको सहभागिता रहेको छ । दुई समूहमा विभाजित यी टिममध्ये पाँच टिमले आगामी राष्ट्रिय महिला लिग छनोटमा स्थान बनाउने छन् ।