site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
दोस्रो विद्यालयस्तरीय राष्ट्रिय नाटक उत्सव सुरु

काठमाडौं । अक्षरा स्कुलले ‘थिएटर इन एजुकेसन कार्यक्रम’अन्तर्गत नाट्य विधा अध्ययन गराउने विद्यालयहरूलाई लक्षित गर्दै सोमबारदेखि विद्यालयस्तरीय नाटक महोत्सव सुरु गरेको छ । 

लालाबालाको सहकार्यमा दोस्रो राष्ट्रिय विद्यालयस्तरीय पाँचदिने नाटक महोत्सव भदौ ६ गतेसम्म काठमाडौंको पिंगलास्थानस्थित ‘स्टुडियो थिएटर’मा भएको हो । 

महोत्सवमा देशभरका गरी १५ वटा विद्यालयका विद्यार्थी सहभागी भएका अक्षरा स्कुलले जनाएको छ ।

पछिल्लो समय निजी विद्यालयले नाट्य विधालाई प्राथमिकता दिँदै आएका छन् । अक्षरा स्कुलले पनि आफ्नो स्थापनाकालदेखि नै नाट्य विधालाई कक्षाकोठामा भित्र्याएर विद्यार्थीलाई अभिनयात्मक प्रस्तुति गराउँदै आएको छ । 

यसअघि अक्षरा स्कुलकै अभि थिएटरमा ‘अन्तर्राष्ट्रिय बालनाटक महोत्सव’ आयोजना गरिएको थियो । जसमा विभिन्न १२ देशका नाटक मञ्चन भएका थिए ।

आयोजक अक्षरा स्कुलकी संस्थापक निर्देशक अन्जु भट्टराईका अनुसार, अक्षरा स्कुलले स्थापना कालदेखि नै सिपमूलक र संस्कारयुक्त शिक्षामा थिएटरलाई समावेश गर्दै आएको छ । अक्षरा स्कुलले नाट्यकला र शिक्षाको संयोजनमार्फत् विद्यार्थीमा आत्मविश्वास, सिर्जनशीलता, संवादकला र समूहमा काम गर्ने क्षमता विकास गर्ने उद्देश्य राख्दै महोत्सव सञ्चालन गरिएको निर्देशक भट्टराईले बताइन् । 

महोत्सवजस्ता साहित्यिक विधाका गतिविधिले विद्यार्थीलाई पुस्तक मात्र होइन, जीवनका वास्तविक परिस्थितिसँग पनि जोड्ने अवसर प्रदान गर्ने उनको भनाइ थियो । उनले नाटकलाई शिक्षाको अविभाज्य अंगका रूपमा विकास गर्न विद्यालयहरूबीच सहकार्य आवश्यक रहेकाले पनि यो महोत्सवको आयोजना गरेको उल्लेख गरिन् ।

महोत्सवका निर्देशक टंक चौलागाईंले पन्ध्र अनुभवी रंगकर्मीका नाटक एउटै मञ्चमा हेर्न पाउनु उत्साहजनक रहेको बताए । सहभागी विद्यालय र विद्यार्थीहरूलाई यस्तो अवसरले उनीहरूको कलात्मक क्षमतामा अझ निखार ल्याउने उनले विश्वास व्यक्त गरे । 

कार्यक्रममा सहभागी विद्यालयहरूले सामाजिक मुद्दा, वातावरण संरक्षण, समानता, बालअधिकार, धर्मसंस्कृति संरक्षणलगायत विषयमा आधारित मौलिक तथा रूपान्तरित नाटक मञ्चन गर्नेछन् ।

यसअघि भएको नाटक महोत्सवको पहिलो संस्करण लालाबालाले आयोजना गरेको थियो । 

 

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  २३:००
प्रतिक्रिया दिनुहोस्