site stats
बाह्रखरी :: Baahrakhari
देश
उद्धारमा संलग्न व्यक्तिबाटै चोरी !
प्रतीकात्मक तस्बिर ।

झापा । झापाको शिवसताक्षी नगरपालिका–८, झिलझिले बजारमा स्कुटर दुर्घटनामा परेर घाइते भएका व्यक्तिको सुन चोरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

गएको साउन २९ गते कमल गाउँपालिका–६ का ३० वर्षीय मनोज लिम्बू दोमुखाबाट घर फर्कने क्रममा झिलझिले बजारमा स्कुटर अनियन्त्रित भई दुर्घटनामा परेका थिए । स्थानीयवासीले उनलाई एम्बुलेन्समा राखेर अस्पताल पठाउने क्रममा घाँटीमा लगाएको ५६ ग्राम २५ मिलिग्राम तौलको सुनको सिक्री हराएको जनाउँदै साउन ३१ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा निवेदन परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

अनुसन्धानका क्रममा उक्त सिक्री घाइतेको उद्धारमा संलग्न शिवसताक्षी–८ का २८ वर्षीय सुरज हलुवाई र २६ वर्षीय गोबिन हाङ लिम्बूले चोरी गरेको खुलेको उनले बताए । साउन ३२ गते साँझ गणेश चोकबाट उनीहरूलाई नियन्त्रणमा लिँदा ३९ ग्राम २२ मिलिग्राम तौलको सिक्रीको टुक्रा र ३० हजार रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत चोरी कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  १०:५५
प्रतिक्रिया दिनुहोस्