site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सत्ताधारीको हस्ताक्षर अभियानप्रति माओवादी केन्द्रले जनायो आपत्ति
अग्नि सापकोटा । फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बिनानिष्कर्ष सकिएको छ । पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले गृहकार्य नपुगेकाले मंगलबार (भदौ ३)को बैठक सुरु हुनेबित्तिकै टुंग्याइएको जानकारी दिए ।

उनले बाह्रखरीसित भने, “पार्टीभित्रको कार्यविभाजन, प्रदेश इन्चार्जसँगको छलफल अझै बाँकी रहेकाले आजको बैठक त्यत्तिकै सकियो ।”

सत्ताधारी दलले उपसभामुख इन्दिरा रानामाथि महाभियोग लगाउने तयारीस्वरूप हस्ताक्षर संकलन अभियान थालेको भन्दै माओवादी केन्द्रले आपत्ति जनाएको छ ।

प्रवक्ता सापकोटाले भने, “यसअघि पनि महाभियोग लगाउने तयारी गरेका थिए, अहिले हस्ताक्षर संकलन अभियान नै चलाएछन् । सत्तारूढ दलसँग हामी छलफल गरेर के गर्न खोजेको जानकारी लिन्छौँ र निष्कर्षमा पुग्छौँ ।”

सत्तासाझेदार दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले उपसभामुख रानालाई हटाउने प्रयास गरेसँगै राजनीति क्षेत्र तरंगित बनेको छ ।

समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको कार्यविभाजन, यही भदौ १५ गतेदेखि सुरु गर्न लागिएको मध्यपहाडी लोकमार्ग अभियानलगायत विषयमा छलफल गर्न माओवादी पदाधिकारी बैठक बोलाइएको थियो ।

अब बैठक बुधबार (भदौ ४) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने उनले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  १३:०५
प्रतिक्रिया दिनुहोस्