
काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० शृंखलामा नेपालले होबर्ट हुरिकेन्ससामु १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । मंगलबार पाल्मस्र्टोन टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८० रन बनायो ।
नेपालका आरिफ शेखले सर्वाधिक ३३ रन बनाए । उनले २६ बलमा तीन चौका प्रहार गरे । ओपनर आसिफ शेख र कुशल भुर्तेलले क्रमशः २९ र २७ रन थपे । यी दुईले पहिलो विकेटका निम्ति ५.३ ओभरमा ४९ रनको साझेदारी गरेका थिए ।
भीम सार्कीले १८ रन जोडे । लोकेश बमले २५ रनको योगदान दिए । उनले ११ बलमा तीन चौका र एक छक्का प्रहार गरे । कप्तान रोहित पौडेलले नौ र कुशल मल्लले ६ रन बनाए ।
होबर्ट हुरिकेन्सका नभभेथान राथाकृष्णन र जेब बेलले दुई/दुई विकेट लिए । मार्कुस बेन, राफ म्याकमिलन र ब्राड्ली होपले समान एक विकेट लिए ।
प्रतियोगितामा आज नेपाल पहिलो जितको खोजीमा छ । नेपाल पहिलो खेलमा नर्दन टेरिटोरीसँग ४२ रनले पराजित भएको थियो । नेपाल दोस्रो खेलमा बंगलादेश ‘ए’सँग ३२ रनले हारेको थियो । नेपाल तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो ।