
काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० शृंखलामा नेपालले लगातार दोस्रो जित निकालेको छ । बुधबार पाल्मेर्स्टोनमा सम्पन्न आफ्नो पाँचौँ खेलमा सोमपाल कामी चम्किएपछि नेपालले मेलबर्न रेनेगार्ड्सविरुद्ध ३३ रनको जित निकालेको हो ।
मेलबर्नका अर्जुन नायरले २६ रन बनाए र जाई लेसिमरले १८, ह्यारी डिक्सोनले १६, ओलिभर पेकले १४ रन थपे ।
रेनेगार्ड्सलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामीले पाँच विकेट लिए । चार ओभर बलिङ गरेका सोमपालले १७ रनमात्र खर्चिए । कुशल भुर्तेलले दुई विकेट लिए । साहब आलम र रूपेश सिंहको नाममा समान एक–एक विकेट रह्यो ।
त्यसअघि, टस जितेर ब्याटिङमा आएको नेपालले निर्धातिर २० ओभरमा नौ विकेट गुमाएर १३९ रनको योगफल खडा गरेको थियो ।
नेपालका कुशल मल्लले सर्वाधिक २९ रन बनाए । उनले २२ बलमा एक चौका र एक छक्का प्रहार गरे । कप्तान दीपेन्द्रसिंह ऐरीले २७, लोकेश बमले २४, भीम सार्कीले १७ र रुपेश सिंहले अविजित १६ रन जोडे । आसिफ सेखले १२ रन थपे ।
रेनेगार्ड्सका फर्गुस ओ‘निल, क्यालम स्टोव, लाच्लन बाग्स र माइकल आर्चरले समान दुई–दुई विकेट लिए ।
नेपालले यसअघिका चारमध्ये तीन खेलमा हार र एक खेलमा जित निकालेको थियो । नेपाल पहिलो खेलमा नर्दन टेरिटोरीसँग ४२ रनले पराजित भएको थियो । नेपाल दोस्रो खेलमा बंगलादेश ‘ए’सँग ३२ रनले हारेको थियो । नेपाल तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो । चौथो खेलमा भने नेपालले होबर्ट हुरिकेन्सविरुद्ध ६६ रनको जित निकालेको थियो ।
नेपालले अब अगस्ट २२ मा पाकिस्तान साहिन्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
तस्बिरहरू : क्यान