
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आफैंले दुई वर्षभित्रैै धरहरा निर्माण सम्पन्न गर्ने भएको छ । धरहरा निर्माणका लागि आगामी १५ दिनमै टेन्डर आह्वान गर्ने तथा असार मसान्तभित्रै शिलन्यास गरिसक्ने प्राधिकरणको योजना छ ।
प्राधिरकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुषालका अनुसार पाँच वर्षका लागि स्थापना भएको प्रधिकरणको कार्यकालमै धरहरा निर्माण गरिसक्ने योजना रहेको छ । त्यसैगरी स्थापनाको २८ महिना बितिसक्दा आधा काम सकिएको उनले दाबी गरे । बाँकी काम पनि तोकिएको समयसीमा भित्रै गरिसक्ने प्राधिकरणको योजना रहेको उनले सुनाए ।
मंगलबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका सचिव अर्जुन कुमार कार्कीले प्राधिकरण आफैले नै धरहरा बनाउने निर्णय गरेको जानकारी दिए ।
१५ दिनमै सार्वजनिक खरिदको सूचना निस्कने बताउँदै उनले भने, “म अहिलेलाई यत्ति भन्छु कि असारसम्म धरहरा निर्माणको जिम्मा दिई शिलान्यास हुन्छ ।” अन्य सम्पदा निर्माणको जिम्मा भने महानगरलाई दिइएको उनले बताए ।
सोही कार्यक्रममा प्राधिकरणका सीईओ भुसालले ५ वर्षभित्रै प्राधिकरणका सम्पूर्ण काम सम्पन्न गर्ने दाबी गरे । उनले भने, “२०७६ साल असार मसान्तभित्र निजी आवास पुनर्निर्माणको काम जसरी पनि सक्नेछौं । हालसम्म ७ लाख निजी आवास निर्माण सम्झौता भएकोमा साढे ५ लाख घर निर्माण सम्पन्न भइसकेको वा हुने क्रममा छ । तसर्थ तोकिएको समयमा आवासको काम कुनै हालतमा सम्पन्न हुन्छ ।”
विद्यायलय र स्वास्थ्य चौकी निर्माणको काम पनि तीब्र गतिमा अघि बढेको उनको दाबी छ ।
उनले प्राधिकरणको लक्ष्यअनुसार प्रगति भइरहेको दाबी पनि गरे । उनले भने, “निर्माण सुरु गर्न मात्र कठीन भएको हो । घरको जग बनेपछि तल्ला थप्न भने कुने कठीनाइ हुँदैन ।”
उनले भने, “विगतमा जे समस्या भयो, त्यो बिर्सनु जरुरी छ । अब, प्रधानमन्त्रीले भने झैं नेपाल सँधै भुकम्प पुनर्निर्माण कार्यमा अल्झिन हुँदैन, सामाजिक आर्थिक रुपान्तरणको काम अगाडि बढाउनुपर्छ । त्यसको लागि समयमै पुनर्निर्माणको काम सक्न जरुरी छ ।”
स्थानीय तह गठन भएपछि पुनर्निर्माणको कार्य गर्न सजिलो भएको बताउँदै प्रमुख कार्यकारी अधिकृत भुसालले स्थानीय गाउँपालिका प्रतिनिधिहरु खास गरेर गाउँपालिका महासंघसँग अन्तरक्रिया गरेर काम अगाडि बढाइएको जानकारी दिए ।
भूकम्पपछिको आँकलन प्रतिवेदनअनुसार भूकम्पबाट ४ लाख ९८ हजार ८५२ निजी घर र २ हजार ६५६ सरकारी भवन पूर्ण रुपमा क्षति भएका थिए । प्रधिकरणका अनुसार भूकम्प र परकम्पबाट क्षतिग्रस्त ७ लाख ६७ हजार ७०५ निजी घर लाभग्राहीको सेवा सूचीमा रहेको र त्यसमध्ये हालसम्म १ लाख १९ हजार ६७८ घर निर्माण सम्पन्न भइसकेको छ । प्राधिकरण प्रवक्ता यमलाल भुषालका अनुसार पुनर्निर्माणका क्रममा हालसम्म ३ लाख २२ हजार २०१ लाभग्राहीले दोस्रो किस्ता लिइसकेको र १ लाख २३ हजार ५३७ लाभग्राही तेस्रो किस्ताको रकम लिने प्रक्रियामा रहेका छन् । त्यसैगरी ८६ हजार ३३८ लाभग्राहीले तेस्रो किस्ता पाइसकेका छन् ।
प्राधिकरणका अनुसार भूकम्पपछिको पुननिर्माणका लागि कूल रकम ७ खर्ब ६ अर्ब आवश्यक पर्ने भनिए पनि हालसम्म करिब १ खर्ब २० अर्ब रुपैयाँ खर्च भएको छ । यसैगरी प्राधिकरणमा झण्डै २ लाख ५० हजार लाभग्राहीले गुनासो गरेका छन् । त्यसमध्ये अधिकांश गुनासा आफू घरमा नभएकाले लाभग्राहीको सूचीमा छुटेको र अंशबण्डा नगरी अलग्गै बसेकाले आफूहरुलाई उक्त सूचीमा समावेश गराई पाउँ भन्ने रहेको प्राधिकरणको दावी छ ।
यसअघि २०७२ असार १० मा भएको दाता सम्मेलनका क्रममा दातृ निकायबाट ४ खर्ब १० अर्ब रुपैयाँ उपलब्ध गराइने प्रारम्भिक प्रतिवद्धता जनाइएको थियो । यो प्रतिबद्धतामध्ये करिब ३ खर्ब ४३ अर्ब २१ करोड ९२ लाख रुपैयाँ दातृ निकायले भूकम्पप्रभावितका क्षेत्रका लागि रकम परिचालन गरेका थिए । यसमध्ये २ खर्ब ६२ अर्ब रुपैयाँ मात्र प्राधिकरणलाई प्राप्त भएको थियो ।