काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरूले खराब कर्जा घटाउन थालेका छन् । वाणिज्य बैंकहरूले पछिल्लो दुई वर्षमा प्रकाशन गरेको वित्तीय विवरणले खराब कर्जादर घटाएर स्वस्थ बन्ने लयमा लागेको देखिएको छ ।
कुनै पनि बैंकमा कुल कर्जाको ५ प्रतिशतभन्दा बढी खराब कर्जा भएको अवस्थालाई जोखिमयुक्त मानिन्छ । तर, चालु आवको वित्तीय विवरणअनुसार कुनैपनि बैंकको खराब कर्जा ४ प्रतिशतभन्दा माथि नहुनुले उनीहरु स्वस्थ रहेको देखिएको हो ।
के हो खराब कर्जा ?
बैंकले निश्चित समयका लागि भनेर कुनै ऋणीलाई दिइएको कर्जा समयमा नै उठाउन सकेन भने त्यस्तो कर्जालाई एनपीएल (नन पफर्मिङ लोन) अर्थात् खराब÷निष्क्रिय कर्जा भनिन्छ । ऋण चुक्ता गर्नुपर्ने मितिले ९० दिनपछिसम्म पनि बैंकले ऋण उठाउन नसकेमा उक्त ऋणलाई खराब कर्जाअन्तर्गत राखिन्छ । सम्भव भएसम्म यस्तो कर्जा ऋण लिँदा राखिएको धितो लिलाम गरेर उठाइन्छ ।
के भन्छ वित्तीय विवरण ?
चालु आर्थिक वर्षको पहिलो ९ महिनाको वित्तीय विवरणअनुसार ६ बैंकबाहेक अन्यले खराब कर्जा घटाएका छन् । उनीहरुको खराब कर्जा पनि ४ प्रतिशतभन्दा बढी छैन ।
वाणिज्य बैंकहरूले प्रकाशन गरेको चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणमा २२ वटा वाणिज्य बैंकको खराब कर्जा घटेको देखिएको छ । यस अवधिमा ५ वटा बैंकको खराब कर्जादर बढ्दा बाँकी एउटा बैंकको खराब कर्जादर अघिल्लो त्रैमासिक अवधि बराबर छ ।
चालु वर्षको ९ महिना अवधिमा स्ट्यान्डर्ड चार्टर्ड बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, नेपाल बंगलादेश बैंक र मेगा बैंक नेपालको खराब कर्जा बढेको छ । अघिल्लो वर्षको तुलनामा खराब कर्जा यथावत् राख्ने बैंक नेपाल एसबीआई बैंक हो ।
यसअघि अघिल्लो त्रैमासमा पनि बैंकहरूले खराब कर्जा अनुपात घटाएका थिए । सो अवधिमा १४ वटा वाणिज्य बैंकको खराब कर्जा घट्दा, २ वटाले स्थिर राखेका थिए ।
चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरणमा सबैभन्दा कम खराब कर्जा नेपाल एसबीआई बैंकको रहेको छ । अघिल्लो त्रैमासिक अवधिभन्दा खराब कर्जा बढेपनि बैंकको खराब कर्जा वाणिज्य बैंकमध्ये सबैभन्दा कम रहेको हो ।
यद्यपि सानिमा बैंकको खराब कर्जामा उच्च वृद्धि आउँदा नेपाल एसबीआईले उछिनेको हो । सानिमाले अघिल्लो त्रैमासमा ०.०३ प्रतिशत रहेको खराब कर्जादर बढाएर ०.१७ प्रतिशत पुर्याउँदा नेपाल एसबीआई अगाडी रहेको हो । यस अवधिसम्म आइपुग्दा नेपाल एसबीआई बैंकको खराब कर्जादर ०.१३ प्रतिशत छ जुन अघिल्लो त्रैमासिकको तुलनामा यथावत हो ।
वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै खराब कर्जा एनसीसी बैंकको ३.९७ प्रतिशत छ । त्यसैगरी प्रभु बैंकको खराब कर्जा ३.९ प्रतिशत रहँदा सिभिल बैंकको खराब कर्जा ३ दशमलव ७४ प्रतिशत छ ।
सरकारी स्वामित्वका कृषि विकास बैंकको खराब कर्जादर पनि ३ प्रतिशतभन्दा माथि रहेको छ ।