site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
८ अंकले बढ्यो नेप्से, जानकार भन्छन् – बजार लयमा फर्कियो

काठमाडौं । सबैको चासोको विषय बनेको सेयर बजार २ सय अंकले घटेयता यथावत अवस्थामा क्रमशः आइपुग्ने क्रम जारी छ । नवनियुक्त अर्थमन्त्रीको सार्वजनिक मन्तव्यका आधारमा घटेको सेयर बजार पुनः १४ सय अंकको हाराहारीमा घुमिरहेको हो ।

अस्वभाविक रुपमा घटेको बजारले यससाता भने सकारात्मक रहँदै लगानीकर्तामा आश जगाएको हो ।  यसअघि अर्थमन्त्रीले आफू बजारप्रति नकारात्मक नरहेको प्रस्ट्याउँदै बजारको संरचनात्मक र नीतिगत सुधारका लागि आफूले कोशिश गरिरहेको आश्वाशन दिएका थिए । त्यससँगै सुधारिन थालेको बजार केही बिचलित भएपनि यससाता सकारात्मक दिशामा हिड्ने लय देखाएको हो ।

लगानीकर्ताले ठूलो अंकले बजार बढ्ने अपेक्षा गरिरहँदा बजार सुस्त गतिमा अगाडी बढेको देखिन्छ । अघिल्लो साता ३० अंकले ओरालो लागेको पनि सेयर बजार यससाता ८.२३ अंकले बढेको छ । त्यसक्रममा कारोबार रकम पनि दैनिक औसत आधा अर्बको हाराहारीमा छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यससाता १३ सय ५७ दशमलव ९२ अंकबाट सुरु भएको सेयर बजार कारोबार पहिलो दिन आएको गिरावटका बाबजुद सम्हालियो । सोमबार र मंगलबार कारोबार नभए पनि त्यसपछि लगानीकर्ता फरक माइन्डसेटका साथ कारोबारमा आए । त्यसयता बजार परिसूचक र कारोबार दुवैमा सुधार आए ।

यद्यपि बजारले लगानीकर्ताको अपेक्षा पूरा गने सकेको छैन । केही सातायताको नेपालको सेयर बजार १४ सय अंकमा “लिंगर” हुनुपर्ने अवस्था नरहेको जानकारहरू दावी गर्छन् । कुनै समय करिब १९ सय अंकमा पुगेको यही सेयर बजारको अवस्था पहिलेभन्दा निकै सुदृढ भइसकेको छ । तर, अपेक्षा गरेभन्दा कम बिन्दुमा रहनु पछाडिको कारण भने अझै पहिचान गर्न नसकिएको उनीहरु बताउँछन् ।

उनीहरुका अनुसार सेयर बजारमा वैदेशिक लगानी भित्रिएको छ, नीतिगत रुपमा धेरै सुधार आइसकेको छ । तैपनि लगानीकर्तामा दीगो आत्मविश्वाश विकास हुन नसकेको उनीहरुको बुझाई छ ।

अन्य अवस्था जेजस्तो भएपनि बजार क्रमिक सुधारकै क्रमा रहेको नेपाल इन्भेस्टर्स फोरमका सदस्य तुल्सीराम ढकाल बताउँछन् । बजारले घटबढको ट्रेन्ड देखाउँदा सेयर किन्न चाहने “पर्ख र हेर”को अवस्थामा छन् भने किन्न चाहने घटेको मूल्यमा सेयर बेच्न चाहिरहेका छैनन् । बाह्रखरीसँग ढकालले भने, “राजनीतिक घटनाक्रमसँगै बजारमा उतारचढाव देखियो । अहिले पुनः सुधारको क्रममा छ । यसैकारण कन्फिडेन्स नभएका सेयरधनीमा “मूल्य घट्दा किन बेच्ने ? भन्ने मानसिकता विकास भएको देखिन्छ ।” 

सेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाद फुल्लेल पनि दैनिक आधा अर्बको कारोबार हुने र परिसूचक बढ्नाले बजार सकारात्मक दिशामा बढ्दै गरेको बुभिने बताउँछन् । तसर्थ, सेयर बजार प्रवेश गर्न चाहनेका लागि अहिलेको समय उपर्युक्त रहेको उनको बुझाइ छ । उनले भने, “राम्रो रिटर्न दिने कम्पनीको सेयर सस्तोमा पाइरहेको छ । यस्तो अवस्थामा किन नकिन्ने ?”

उनले थपे, “सेयर बजारबाट रिटर्न पाउन सेयर होल्ड गर्न पनि सिक्नुपर्छ ।” अनलाइन प्रणाली कार्यान्वयनमा आउने लागेको परिवेशमा उनले भने, “बजारमा पहुँच बढेसँगै लगानीकर्ताको संख्या पनि बढ्छ, फलस्वरुप सेयरको माग पनि बढ्छ ।” डिमान्ड बढ्दा प्राइस पनि बढ्ने अर्थशास्त्रको सिद्धान्त अनुसार परिसूचक उचालिने सम्भावना रहेको उनी बताउँछन् ।

फोरमका सदस्य ढकाल पनि फ्लक्चुएसन्का बाबजुद बजार संरचनात्मक रुपमा सुधारिँदै क्रममा रहेको दावी गर्छन् । त्यसैले राम्रो प्रतिफल दिने कम्पनी छानेर लगानी गरिहाल्न उनको सुझाव छ । उनले भने, “अहिले बजारको ट्रेन्ड सकारात्मक छ । अहिले सस्तोमा पाइएको सेयर केही समय पछि यही मूल्यमा नपाइने पक्का छ ।”
यससाता सेयर बजारमा १७६ कम्पनीका ३२ लाख ४४ हजार कित्ता सेयर १ अर्ब ५६ करोड रुपैयाँमा किनबेच भए । यससाता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

नेप्से बढ्दा यससाता लगानीकर्ताको सम्पत्ति साढे १० अर्ब रुपैयाँले बढेको छ । गत साता १५ खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँ रहेको सेयर बजारको कूल पुँजीकरण यस साताको अन्तिम दिनसम्म आइपुग्दा १६ खर्ब ३ अर्ब १० करोड रुपैयाँ पुगेको हो ।
नेप्से परिसूचक बढ्दा यस साता ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि पहिलो दिनको तुलनामा १ दशमलव २३ अङ्कले बढेर २ सय ८८ दशमलव २९ अङ्कमा आइपुगेको छ ।

साताभरको नेप्से परिसूचक ट्रेन्डः

\"\"
यससाता नेप्सेमा कारोबारमा आएका समूहतर्फ उत्पादनमूलक र ट्रेडिङबाहेक सबै समूहमा सुधार आए । उत्पादनमूलक पहिलो दिनको तुलनामा ९.५१ अंकले घट्दा ट्रेडिङ समूह भने यथावत् रह्यो । 

बढ्नेमा बीमा समूह पहिलो दिनको तूलनामा सर्वाधिक १८२.६३ अंकले उकालो लाग्यो । त्यसैगरी लघुवित्त र जलविद्युत् समूहमा क्रमशः ६२.९१ अंक र १४.७८ अंकको सुधार आउँदा बाँकी समूहमा पनि सामान्य सुधार देखिए ।

यससाता सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा नेपाल बैंक अग्रस्थानमा रह्यो । बैंकको ८ करोड ५९ लाख रुपैयाँको कारोबार हुँदा राष्ट्रिय बीमा कम्पनीका संस्थापक सेयर ६ करोड ४ लाख रुपैयाँको कारोबारसहित दोस्रो स्थानमा रह्यो ।

यस साता काराबार भएको सेयर संख्याको आधारमा पनि नेपाल बैंक शीर्षस्थानमा रह्यो । बैंकका २ लाख ४२ हजार कित्ता सेयर किनबेच भएका थिए । कारोबार संख्याका आधारमा स्विेदेशी लघुवित्त वित्तीय संस्या १६ सय ६० वटा कारोबारसहित शीर्षस्थानमा रह्यो ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०७५  १७:०२
प्रतिक्रिया दिनुहोस्