site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अन्तर्राष्ट्रिय बजारमा घट्दा नेपालमा किन बढ्यो इन्धनको मूल्य?

काठमाडौं । पेट्रोलियम पदार्थमा लगातार मूल्यवृद्धि भएसँगै यसको कारण अहिले सबैको चासोको विषय बनेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटिरहँदा नेपालमा भने पछिल्लो पटक शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाइएको छ । 

नेपाल आयल निगमले गत कात्तिक १६ गते ९८ रुपैयाँ प्रतिलिटर रहेको पेट्रोलको मूल्य त्यसयता ११ पटक समायोजन गरिसकेको छ । यसक्रममा फागुन २० गते १ रुपैयाँले घट्नुबाहेक पेट्रोलको मूल्य निरन्तर बढिरहेको छ । निगमले भने स्वतः सञ्चालित मूल्य संरचनाअनुरुप पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने गरेको बताउँदै आएको छ । यस व्यवस्थाअनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा सोहीअनुसार नेपालमा पनि मूल्य कायम हुनुपर्ने हो ।

तर गत मे २१ मा पछिल्लो वर्षकै उच्च बिन्दुमा पुगेको कच्चा तेलको मूल्य त्यसयता निरन्तर घटिरहेको छ । सो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (ब्रेन्ट क्रुड आयल)को मूल्य प्रतिब्यारेल ८० अमेरिकी डलर रहेको थियो । त्यसयता मूल्य ७६.६५ डलर प्रतिव्यारेल पुगेको छ । कच्चा तेलको मूल्य ८० बाट ७६ पुग्दा नेपालमा भने त्यसको विपरित दुई साताअघि ११० रुपैयाँ प्रतिलिटर रहेको पेट्रोलको मूल्य बढेर ११३ रुपैयाँ पुगेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पेट्रोलसँगै डिजल र मट्टितलेमा पनि निरन्तर मूल्य बढिरहेको छ । जसका कारण सरकारमाथि नागरिकलाई सर्वसुलभ ढंगले सेवा दिनुको साटो थप मूल्यभार पारेको आरोप लागेको छ । नेपालमा अभ्यास गरिएको स्वतः सञ्चालित मूल्य संरचनाअन्तर्गत विदेशमा घट्दा नेपालमा पनि तेलको मूल्य घट्नुपर्ने हो । तर, यहाँ विभिन्न कारण देखाउँदै तेलको मूल्य बढ्दा निगममा आर्थिक अनियमितता, कमिसनको खेल भएको तथा अटेरी भएको आरोप लग्ने गरेको छ । यसका साथै उसको कार्युशलता तथा स्वतः सञ्चालित मूल्य संरचनामाथि पनि प्रश्न उब्जिएको छ ।

स्वचालित मूल्य प्रणालीअनुसार तेलको मूल्य निर्धारण हुने भए पनि अन्तराष्ट्रिय बजारमा हुने परिवर्तनको प्रभाव केही समयपछि मात्र नेपालमा पर्ने निगमका एक अधिकारी बताउँछन् । निगमले सोझै अन्तर्राष्ट्रिय बजारबाट तेल खरिद नगर्ने भएकाले पहिले भारतमा प्रभाव देखिने र त्यसको केही समयपछि मात्र नेपालमा पर्ने उनको दावी छ । बाह्रखरीसँग कुरा गर्दै उनले भने, “अहिले देखिएको मूल्यवृद्धिको कारण अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड आयलको २ साताअघि कायम भएको मूल्य (८० डलर प्रति ब्यारेल) हो ।”

वास्तवमा अन्तर्राष्ट्रिय बजारमा आज मूल्य घट्यो भने भारतमा पनि आजै घट्छ । तर, नेपालले भने १५ दिनको औसतमा मूल्य प्राप्त गर्छ । निगमका निमित्त प्रमुख सुशीलकुमार भट्टराईका अनुसार भारतसहित अन्तर्राष्ट्रिय बजारमा दैनिक मूल्य घटबढ हुने भए पनि नेपालमा १५–१५ दिनको अन्तरमा मूल्य समायोजन हुने गरेको छ । उनले भने, “भारतमा दैनिक मूल्य समायोजन हुने गरेपनि इन्डियन आयल कर्पोरेसन (आईओसी)ले निगमलाई १५–१५ दिनमा मात्र औसत मूल्य पठाउँछ । सो मूल्य प्राप्त भएपछि हामीलाई पर्ने लागतका आधारमा नेपालमा तेलको मूल्य घटबढ गर्दै आएका छौं ।”

यसको अर्थ, १५ दिनको बीचमा कच्चा तेलको मूल्यमा हुने घटबढले नेपाललाई केही फरक पर्दैन । नेपालीमा अभ्यास गरिएको स्वतः सञ्चालित मूल्य संरचनाअनुसार पनि आईओसीले १५ औं दिनमा कायम गर्ने तेलको मूल्यले मात्र नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्यलाई ‘ड्राइभ’ गरेको छ ।

भट्टराई थप्छन्, “भारतमा पेट्रोलियम पदार्थको मूल्य ४० पैसा प्रतिदिन बढेको पनि रेकर्ड छ । तर, आईओसीले पेट्रोल र डिजेलमा १५ दिनको औसत मूल्य पठाउँछ । मट्टितेल र हवाइ इन्धनको मूल्य त अझै १ महिनाको अन्तरालमा प्राप्त हुन्छ ।” नेपालमा त्यहीअनुसार मूल्य समायोजन गरिन्छ ।” आईओसीले पठाएको मूल्यसूचीमा भाउ घटबढ हुँदा त्यही आधारमा मूल्य परिवर्तन हुने उनको दावी छ ।

अन्तर्राष्ट्रिय बजारबाट सिधै तेल खरिद नगर्ने भएकाले नेपालमा सोही अनुसार मूल्यमा फरक पर्दैन । निमित्त प्रमुख भट्टराईका अनुसार हामीले आयात गर्ने तेल प्रशोधित तेल भएकाले अन्तराष्ट्रिय बजार र नेपालको मूल्यमा फरक देखिन्छ । उनले थपे, “हामीसँग प्रशोधन गर्ने क्षमता छैन । भारतमा प्रशोधन भएपछि नेपाल आयात गर्नुपर्ने अवस्थाले अन्तर्राष्ट्रिय बजारमा ८० डलर प्रतिव्यारेल कच्चा तेल पाउँदा पनि हामीले तिर्नुपर्ने मूल्य ९० डलरको हाराहारीमा पर्न जान्छ । यद्यपि अन्तर्राष्ट्रिय बजारमा आउने ब्रेन्ट क्रुड आयलको प्राइस ट्रेन्डअनुसार प्रशोधित तेलको पनि मूल्य निर्धारण हुन्छ । यसमा हामी पूर्ण रुपमा पारदर्शी छौं । सबैले बुझुन् भनेर हामीले सबै तथ्यांक वेबसाइटमा पनि राखेका छौं ।”

सबैभन्दा उच्च २०७० चैतमा
२०७० चैत (२०१४ मार्च) पहिलो साता नेपालमा पेट्रोलको मूल्यले इतिहासकै सबैभन्दा उच्च बिन्दु छोएको थियो । फागुन ३० गते बिहान १० बजेदेखि लागू हुनेगरी कायम गरिएको सो मूल्यसूचीअनुसार पेट्रोलको बजार मूल्य प्रतिलिटर १ सय ४० रुपैयाँ कायम भएको थियो । सो साता डिजेल र मट्टितेलमा नेपालीले प्रतिलिटर १ सय ९ रुपैयाँ तिरेका थिए ।
नेपाल आयल निगमका अनुसार निगमले निर्धारण गरेको पहिलो मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य सबैभन्दा कम थियो । २०५४ साल जेठमा पेट्रोलको मूल्य ३९ रुपैयाँ प्रतिलिटर कायम रहँदा डिजेल १७.५ रुपैयाँ र मट्टितेल ११ रुपैयाँ प्रतिलिटरमा उपलब्ध थियो ।

२०७१ कात्तिकमा कच्चा पदार्थको मूल्य १ सय ७ प्रतिव्यारेल पुग्दा नेपालमा पेट्रोल प्रतिलिटर १ सय ३० र डिजेल १ सय ३ रुपैयाँ पुगेको थियो । पछि मूल्य घटेर २०७३ मा पेट्रोल प्रतिलिटरमा ९७ रुपैयाँ र डिजेल ७३ रुपैयाँसम्म झरेको थियो । त्यसपछि इन्धनको मूल्य क्रमशः बढ्दै गएको छ ।

हालको अवस्था 
इन्डियन आयल कर्पोरेसन (आइओसी)ले जुन १ मा पठाएको नयाँ मूल्यअनुसार निगमले शनिबार रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा ३ रुपैयाँले बढाएको थियो । नयाँ मूल्यअनुसार काठमाडौंमा अब पेट्रोल लिटरको १ सय १३ रुपैयाँ र डिजल तथा मट्टीतेलको खुद्रा मूल्य ९५ रुपैयाँ पुगेको छ ।

लगातार इन्धनको मूल्य बढेर आएकाले निगम अहिले अर्धमासिक रुपमा १८ करोड ७२ लाख रुपैयाँ घाटाको अवस्थामा छ । निगमले इन्धनको मूल्य बढाएपनि सीमा नाकाको तुलनामा नेपालमा डिजेल र पेट्रोलको मूल्य अझ सस्तो रहेको छ ।

पेट्रोलियम पदार्थको सहज अपूर्तिका लागी सरकारले २०७१ असोजमा “स्वतः सञ्चालित मूल्य प्रणाली” लागू गरेको हो । अन्तर्राष्ट्रिय बजार मूल्य घटबढ हुँदा नेपालमा पनि हुनेगरी स्वचालित मूल्य प्रणाली कायम गरिएको हो ।

मूल्यवृद्धि बाध्यता– मन्त्री यादव
यसैबीच, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पेट्रोलियम पदार्थको मूल्य वृद्धि सरकारको रहर नभई बाध्यता भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर उनले इन्डियन आयल कर्पारेशन र नेपाल आयल निगमबीच भएको सम्झौताअनुसार मूल्य वृद्धि भएको बताए । 

सन् २०१७ मार्च १८ मा अन्तर्राष्ट्रिय क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएमा सोअनुसार मूल्य समायोजन गरिने दुई देशबीचको सो सहमतिमा उल्लेख छ । 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०७५  १६:५१
प्रतिक्रिया दिनुहोस्