काठमाडौं । आन्तरिक राजस्व विभागले परिपत्र गरेको पुँजीगत लाभकर गणनाको विधि तत्काल स्थगत गराउन अर्थ मन्त्रालयले परिपत्र गरिसकेको छ । तर, मन्त्रालयले नयाँ विधि तत्काल स्थगनका गर्न निर्देशन दिएपनि फिर्ता नै हुने विस्वास भने लगानीकर्ताले गर्न पाएका छैनन् ।
नयाँ विधि फिर्ता हुनुको साटो तत्कालका लागि स्थगन मात्र गरिनुले उनीहरुमा शंका उब्जिएको हो । अर्थ मन्त्रालयका सहसचिव उत्तमकुमार खत्रीको संयोजकत्वमा एक अध्ययन समिति गठन गर्ने र उक्त समितिले लाभरको विषयमा दिएको सुझावका आधारमा अघि बढ्ने भएपछि उनीहरु त्रसित बनेको जानकारहरु बताउँछन् ।
उनीहरु सुझाव आउन लाग्ने समय (कम्तीमा १५ दिन)का लागिमात्र समस्या टरेको बताउँछन् । किनकी उक्त कार्यदलको प्रतिवेदन नआउन्जेसम्मका लागि विधि कार्यान्वयन स्थगन भएको हो ।
यद्यपि लगानीकर्ताहरुको नेतृत्वदायी भूमिका खेल्ने संगठनहरु भने अध्ययन समिति गठन भएकाले केही विकल्प निस्कने बताउँछ । आन्तरिक राजस्व विभागको परिपत्रको विरोधमा आन्दोलनमा उत्रिएका उनीहरु साबिकको व्यवस्था अनुसार लाभकर गणना हुने भएपछि समस्या समाधान भएको दाबी गर्छन् ।
लगानीकर्ताको आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्ने सेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाद फुल्लेलको पनि बुझाई पनि यस्तै छ । बाह्रखरीसँग कुरा गर्दै उनले भने, “१५ लाख लगानीकर्ताको उपस्थित रहेको सेयर बजारको सुधारका लागि सरकारले केही योजना बनाएको होला । अहिले समति पनि बनिसकेको छ । केही न केही समाधान अवस्य निस्कन्छ ।” सरकारले पुँजीबजार विकासका लागि आवश्यक कदम चालिने प्रतिवद्धता गरिकेकोले राज्यको यो प्रतिवद्धता्मा कुनै शंका गर्न आवश्यक नरहेको उनी दावी गर्छन् ।
फुल्लेलले भने, “सरकारसँग लिखि सम्झौता तथा हस्ताक्षर नभएपनि तत्काल स्थगन गर्नु भन्ने पत्रले हामीमा स्थ्गन नै भएको प्रत्याभुति मिलेको हो ।” आनतरिक राजस्व विभागले परिपत्र गरेअनुसारको विधि कहिल्यै नअपनाइएकाले यो स्थगन फिर्ता सरह नै भएको उनी दावी गर्छन् । उनले भने, “जुन प्रणाली कहिल्यै कार्यान्वयनमा आएको थिएन त्यो स्थगन गर्नु भनेको फिर्ता नै लिनु हो । यसो त मन्त्रालयका उच्च अधिकारीले पनि “पछि हेरौंला” भनेका हैनन् ।” यो ठाडो रुपमा कार्यान्वयन नगराउनु भन्ने आदेश रहेको बुझाइ लगानीकर्ताको रहेको उनी दावी गर्छन् । तर, लगानीकर्ता मर्म बुझ्ने विषयमा राज्यबाट धोका भए फेरी आन्दोनल उत्रिने उनले बताए ।
केही लगानीकर्ता भने यो स्थगनलाई फिर्ता हो भन्ने स्वीकार गर्न तयार छैनन् । केही न केही बखेडा झिकेर सरकारले सेयर बजारमा नयाँ प्रोभिजन ल्याउन खोजेको स्पष्ट देखिएको उनीहरु दावी गर्छन् । सेयर बजारबाट सरकारले अबौं रुपैयाँ राजस्व उठाउने सम्भावना देखिएकाले लगानीकर्तालाई मारमा पार्ने प्रणाली लागु गरेरै छाड्ने उनीहहरुको डर छ ।
उनीहरु सरकारसँग विश्वस्त हुन नसकेको बिहीबारको बजारले नै देखाउँछ । बुधबार दुई घण्टामै दोहोरो अंकले बजार बढेपनि साताको अन्तिम दिन भने २५ अंकले बजार ओरालो लागेको थियो ।
बुधबारै अर्थ मन्त्रालयले पनि लगानीकर्ताको मर्म बुझ्दै घाटामा पनि लाभकर तिर्नुनपर्ने विषयमा सहमति जनायो । त्यसैगरी बजेटसम्बन्धि लगानीकर्ताको माग सम्बोधन गर्दै राजस्व सचिव शिशिर कुमार ढुंगानाले दोस्रो बजारमा सेयर कारोबार गर्दा भएको लाभमा व्यक्तिले ७.५ प्रतिशत पुँजीगत लाभकर तिरेपछि अन्य कुनै पनि प्रकारको कर तिर्नु नपर्ने बताए । उनका अनुसार कर नीतिले सबैलाई प्यान नम्बर लिन र सबै प्रकारको आम्दानी विवरण बुझाउन प्रेरित गरेको छ तर अनिवार्य गरिएको छैन ।
यता केही समयअघि देखि नै ल्याउन लागिएको लाभकर गणनाको नयाँ विधि भर्खरै ल्याइएको आनतरिक राजस्व विभागका एक उच्च अधिकारीले बताए । उनले भने, “बजारलाई प्रभावित पार्नसक्ने देखिएकाले हामीले परिपत्र गरेका थिएनौं । ढिला भइसकेको र सेयर बजारको संरचनागत सुधारको बाटोमा लाग्नुपर्ने भएकाले यस्तो परिपत्र गरेका हौं ।”
अहिले अर्थमन्त्री स्वयम् पनि अहिले पुँजीबजारको संरचना सुधारमा जोड दिन थालेका छन् । तसर्थ, लगानीकर्तालाई बजार सुधारिने आस पनि छ । अर्थमन्त्रीले भनेका छन्, “सेयर द्वितीय बजार एकजनाले चलाएको देखिएको छ । त्यो अन्त्य हुन्छ । म मार्केट विरोधि हैन ।”
यसअघिको घटनाक्रम
यसअघि आन्तरिक राजस्व विभागले परिपत्रको विरोध गर्दै निर्णय फिर्ता गर्न माग राखी सेयर बजारका लगानीकर्ता आन्दोलनमा उत्रिएका थिए । लगानीकर्तालाई नोक्सानीमा कर भुक्तानी गर्न निर्देश गर्नु करको सर्वमान्य सिद्धान्तविपरीत रहेको भन्दै निर्णय तत्काल फिर्ता लिन माग गरिएको थियो । पुँजी बजारलाई प्रविधि, पूर्वाधार तथा ऐन नियममैत्री बनाउनुपर्नेमा एएकतर्फी रूपमा लगानीकर्तालाई तर्साउने काम गरेको भन्दै लगानीकर्ताको खरिद मूल्यमा हकप्रद र बोनस सेयरको मूल्यलाई जोडी औसत मूल्य कायम गरी सो रकममा ७.५ प्रतिशत अन्तिम कर निर्धाण गर्नुपर्ने समेत लगानीकर्ताको माग रहेको थियो ।
तर, अर्थमन्त्रालयले नयाँ विधि तत्काल स्थगन गर्न सम्वन्धित निकायलाई पत्राचार गरेपनि आन्दोन फिर्ता लिइएको थियो । सहमती लगत्तै बुधबारै दिउसो १ः०९ देखि सेयर कारोबार खुलेको थियो ।
पत्रमा असार मसान्तसम्म पुरानै विधिबाट लाभकर गणना गर्ने र तत्पश्चात अध्ययन समितिको सुझाव बमोजिम अघि बढ्ने उल्लेख छ । मन्त्रालयका सह सचिव उत्तम कुमार खत्रीको संयोजकत्वमा गठित समितिमा सेयर विज्ञ, धितोपत्र बोर्ड, नेप्से, सीडीएससीका अधिकारीलगायत छन् । यसमा केही लगानीकर्तालाई पनि सोमल गरिने मन्त्रालयले जनाएको छ ।
एकसाता पहिले आन्तरिक राजस्व विभागले धितोपत्र बोर्ड, नेप्से, सीडीएसलगायत निकायको नाममा सर्कुलर जारी गर्दै आइतबार देखि लाभकर गणनाको नयाँ विधि पालना गर्न निर्देशन दिएको थियो ।
गत एक साताको सेयर बजार
आइतबारको ३४ अंकले घटेको नेप्से परिसूचक सोमबार नेप्से ५ अंकले घट्दा मंगलबार कारोबार भएन । बुधबार ढिलो गरी सुरु भएको कारोबार १३ अंकले बढ्दा बिहबिार २५ अंकको गिरावट आएको थियो ।
गतसाता नेपाल स्टक एक्सचेन्जमा १७९ कम्पनीहरुको कारोबार भए । जस अनुसार २०६६२ कारोबारबाट एक अर्ब ६८ करोड ४५ लाख छ हजार रुपैयाँ बराबरका ४० लाख २६ हजार आठ सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम अघिल्लोसाताको भन्दा १९.३० प्रतिशत कम हो । अघिल्लो साता १८३ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २३५४८ कारोबारबाट दुई अर्ब आठ करोड ७३ लाख ५१ हजार रुपैयाँ बराबरका ४७ लाख ४४ हजार आठ सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
यसअवधिमा बजारको कुल पुँजीकरण घटेर १४ खर्ब ८३ अर्ब ३३ करोडमा झेरेको छ ।