site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पेट्रोलियम ट्यांकरमा ताला, निगम भन्छ– तेल झिक्न नपाएपछि चालकको हड्ताल

काठमाडौं । इन्धन आपूर्ति नियमित भइरहेका बेला सोमबार इन्धन ओसार्ने ट्यांकर चालकको आन्दोलनको विषयले नेपाल आयल निगमभित्र खैलाबैला मच्चायो ।
पोखरा–रक्सौल रुटमा चल्ने ट्यांकरमा ताला लगाउने कार्य थालनी भएको १० दिन नबित्दै उक्त रुटमा चल्ने ट्यांकर तेल लोड गर्न रक्सौल गएनन् । प्रदेश ४ को राजधानी पोखरा भण्डारण स्थलसम्म तेल ल्याउने ट्यांकर तेल नओसार्ने अडानमा पुग्दा निगममा अर्को दिनको आपूर्ति पुर्याउन धौधौ हुने पक्का थियो ।

यस विषयमा निगममा खैलाबैला नै मच्चियो । किनकी पोखरास्थित गगनगौंडा डिपोमा ७ दिनलाई पुग्ने डिजल र २ दिनका लागि पेट्रोल भण्डारण गर्न मिल्छ । उक्त डिपोबाट आपूर्ति हुने स्थानमा प्रतिदिन माग ३ सय किलोलिटर डिजल र १ सय ५० किलोलिटर पेट्रोल छ । भण्डारण भने क्रमशः २२८० किलालिटर र ३५० किलोलिटर छ । निगमका लागि चुनौती थियो, “भण्डारण गरेर राखेको इन्धन सकिएपछि माग कसरी पुर्याउने ?”

यता, रक्सौलबाट इन्धन ओसार्दा बाटोमा तेल अपचलन गर्न पल्केका ट्यांकर चालक ट्यांकरमा “लकिङ प्रणाली” मान्न तयार थिएनन् । ताला नलगाइयोस् भन्दै ठाडो माग राख्नुको साटो तोडमोड गरेर आफू पानी माथिको ओभानो बन्न घुमाउरो पारामा ढुवानीकर्तासामु तलब अपर्याप्त रहेकोले बढाउन माग राखे । दुखेसो पोख्दै उनीहरु आन्दोलनमा नै उत्रिए । 
निगमका लागि यो हड्ताल टाउको दुखाइको विषय बन्यो । बढ्दो मागका बीच आपूर्तिमा सन्तुलन मिलाउन मुस्किल परिरहेको अवस्थामा ट्यांकर चालकको हड्ताल निगम उच्च पदाधिकारीका लागि फलामको चिउरा चपाउनुभन्दा गाह्रो बन्न लाग्यो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कुरो केन्द्रसम्म पुग्यो । निगमका निमित्त प्रमुख सुशील भट्टाराईले यो कुरा थाहा पाउनासाथ ढुवानीकर्तालाई फोन घुमाइहाले । उताबाट पनि उस्तै जवाफ आयो, “ड्राइभरहरु तलब र भत्ता पुगेन भनेर हड्तालमा उत्रिएका छन् ।”

तर भट्टराई यो कुरा मान्न तयार भएनन् । उनका अनुसार ड्राइभरहरुको मासिक तलब २० हजार हाराहारी हुन्छ । यसमा पनि भत्ता जोड्दा ३० हजारको हाराहारी पुग्छ ।
भट्टराईले बाह्रखरीलाई भने, “चालकले किन हड्ताल गरे भनेर ढुवानीकर्तालाई सोद्धा उनीहरुबाट तलब बढाउने माग आएको खबर प्राप्त भयो । तर, हामी यो पत्याउन तयार थिएनौं ।” पछि बुझ्दै जाँदा ट्यांकरमा निगमले लक लगाउँदा ड्राइभरले तेल झिक्न नपाउने भएकाले हड्ताल गरेको बुझियो ।

यसप्रति निगमले कडा कदम चाल्ने दावी गर्दै उनले भने, “चौतर्फी आलोचनाको माझ आन्तरिक सुधारका लागि ट्यांकर लक गर्ने हाम्रो प्रयास हो । यसमा पनि किचलो झिकेर निगमलाई बद्नाम गराउने प्रयास गरिएको छ । यो हामीलाई मान्य छैन ।” निगमको घाटा कम र राम्रो कदम चालिएकोमा यो असहयोग मान्य नहुने उनी बताउँछन् ।
चालकको हड्तालबारे उनले भने, “उनीहरुले भने झैं बढी तलब चाहिएको हैन । उनीहरुको आशय प्रष्ट छ– दुःख दिने ।”

उनले थपे, “यदि कोही ट्यांकरले दुःख दिन खोजे कारबाहीको प्रक्रिया चाल्ने हामीले निर्देशन दिएका थियौं ।” राज्यबाट पूर्ण सहयोग हुने भनेपछि ती ट्यांकर अहिले लोड गर्न रक्सौलतर्फ लागेको उनले जानकारी दिए ।

ट्यांकर चालकहरुले सानो–सानो विषयमा किचलो झिकेको घटना निगमका लागि नौलो कुरा होइन । यसअघि झापाको चारआलीमा ताला लगाउने विषयमा पनि यस्तो झन्झट भोग्नुपरेको थियो । पहिलोपटक सिलिगुडीबाट आउने ट्यांकरमा ताला लगाउने कार्यक्रमको दिन त्यहाँका ११७ चालकले ढुवानी ठप्प पारेका थिए । पछि, निगमको प्रयासले हड्ताल तोडिएको थियो ।

त्यसैगरी अन्य स–साना विषयमा पनि ट्यांकर आन्दोलित बन्दा त्यसको असर पर्ने निगमका निमित्त प्रमुख भट्टराई बताउँछन् । उनले भने, “केही दिनअघि भारतमा नेपाली ट्यांकर चालक पिटिँदा पनि नेपाली चालकले बखेडा झिकेका थिए । तर, हामीले राष्ट्रिय स्तरबाट समस्या समाधानको पहल गरिने सान्त्वना दिएका थियौं ।” त्यो बेला पनि तालाको कुरा सतहमै आइसकेको उनी बताउँछन् ।

अहिले निगमका ८० प्रतिशतभन्दा ट्यांकरमा ताला लगाइएका छन् ।

निगमले ट्यांकरबाट इन्धन अपचलन हुने घटना बढेपछि ट्यांकरमा ताला लगाउन थालेको थियो । निगमले गत चैतमा भारतको सिलिगुढी डिपोबाट निगमको चारआली डिपोमा तेल ल्याउने ट्यांकरमा पहिलोपटक आधुनिक ताला लगाउने कार्य सुरु गरेको थियो । भारतबाट तेल ढुवानी गर्ने ट्यांकरमा आधुनिक ताला जडान गर्ने कार्यलाई तीब्रता दिएको थियो ।

बीच बाटोबाट नै तेल चोरी हुन थालेपछि निगमले ट्यांकरमा आफ्नै ताला लगाउने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । निगमका अनुसार पहिलो चरणमा विराटनगर–जनकपुर बाहेक सबै रुटका ट्यांकरमा लकिङ सिस्टम जडान गरिसकिएको छ । पहिलो चरणमा भारतीय डिपोदेखि निगमको डिपोसम्म लक लगाउने कार्य सकाउन लागेको निगमले यसपछि डिपोदेखि पम्पसम्म पुर्याउने ट्यांकरमा पनि ताला लगाउने योजना बनाएको छ ।

यस्तो छ लकिङ सिस्टम
भारतीय फेब्रिकेटरको सहायताले ट्यांकरमा आधुनिक लक लगाउन थालिएको हो । भारतमा तेल ओसार्ने ट्यांकरमा फेब्रिकेट गर्ने प्राविधिकबाटै नेपाली ट्यांकरमा पनि ताला जोड्न मिल्ने पूर्वाधार बनाइएको छ । निगमका अनुसार ट्यांकरभित्रका प्रत्येक च्याम्बरमा तेल हाल्ने अलग–अलग मुख छन् । ती मुखमा बिर्को लागेपछि लामो फलामे रडले ढाकिन्छ । त्यो रडलाई खोल्नका लागि ट्यांकरको पछाडिको तल्लो भागमा साँचो जडान गर्न मिल्ने ठाउँ बनाइएको छ । त्यहाँ साँचो लगाएपछि कुनै पनि च्याम्बर खोल्न मिल्दैन ।

यसका फिटिङ गर्न मात्र ट्यांकरवालाले १ लाख रुपैयाँ खर्चनु पर्ने हुन्छ । निगमका अनुसार एउटा साँचोले हजारवटा ताल्चासम्म खोल्न मिल्छ । ट्यांकरमा तेल भरेपछि आइओसीको डिपोमा रहेका कर्मचारीले ताल्चा लगाइदिन्छन् । त्यो ताल्चा खोल्ने चाबी निगमको डिपोमा मात्रै हुन्छ । त्यसैले तेल बोकेका ट्यांकर निगमको डिपोमा आएपछि मात्र ताल्चा खुल्छ । बीच बाटोमा ताल्चा खोल्न सक्ने कुनै आधार छैन ।

प्रकाशित मिति: मंगलबार, असार ५, २०७५  १८:१६
प्रतिक्रिया दिनुहोस्