site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय

काठमाडौं । बहुप्रतिक्षित अनलाइन सेयर कारोबार असार अन्तिम सातादेखि कार्यान्वयनमा आउने भएको छ । अहिले जारी परिक्षण प्रणाली मुल्यांकनसँगै अनलाईन प्रणाली समानान्तर रुपमा कार्यान्वयनमा ल्याउन लागिएको हो ।

जेठमै ल्याउने भने पनि ढिला भएपछि विरोध भइरहेको अवस्थामा नेप्सेले साउन एक गतेदेखि समानान्तर रुपमा दुई प्रणाली लागु गर्ने भएको हो । तर, केही ब्रोकरबाट अनलाइन कारोबार गर्न मिले पनि सबैमा लागु हुन भने अझै केही समय कुनुपर्ने निश्चित छ ।
अहिले ४ वटा ब्रोकर कम्पनीमा अनलाइन प्रणाली ‘टेस्टिङ’ भइरहेको छ । अझै १–२ हप्ता चल्ने टेस्ट प्रक्रियाको मूल्यांकनपछि क्रमशः रुपमा अन्य ब्रोकर कम्पनीमा जडान हुनेछ ।

यसअघि प्रणाली हस्तान्तरण गरेसँगै असारको पहिलो सातादेखि नै परीक्षण अनलाइन प्रणाली कार्यान्वयन थाल्ने नेप्सेको योजना थियो । नयाँ आर्थिक वर्ष सुरु हुन ३ साताभन्दा कम समय रहेको अवस्थामा नयाँ प्रणाली पूर्णरुपमा कार्यान्वयनका लागि पूर्ण परीक्षण सकिनुभन्दा अघि नै आंशिक रुपमा अनलाइन कारोबार सुरु गरिने भएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अनलाईन कारोबार पूर्ण कार्यान्वयनमा आउनेक्रममा केही समय नयाँ र पुरानो प्रणाली समानानतर रुपमा सञ्चालित हुन्छन् ।  नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार परीक्षण सकिएपछि पनि पुरानो र अनलाइन प्रणालीको नयाँ समानान्तर रुपमा प्रयोगमा आउँछन् ।
बाह्रखरीसँग उनले भने, “यो महिनाको अन्तिमबाट अनलाईन प्रणाली विस्तारै कार्यान्वयनमा आउँछ । मूल्यांकनबाट नयाँ प्रणाली पूर्णरुपमा तयार र कुशल रहेको पक्का गरेपछि क्रमशः रुपमा ब्रोकर कार्यालयहरुमा जोड्ने कामको थालनी हुन्छ ।” 
सबै ब्रोकर कम्पनीमा एकैचोटी सबै ब्रोकर कार्यालयमा प्रणाली जडान गर्न समान्य लाग्ने भएकाले समानान्तर रुपमा कार्यान्वयन गरिने भएको हो ।

उनले भने, “परिक्षण सकिएपछि अहिलेको प्रणाली छोडेर नयाँ सिस्टममा जान सकिन्छ ।” एक दुई दिनमै विकासकर्ता वाईको कम्पनीले के गर्ने भन्ने जानकारी दिने उनले बताए । “उक्त कम्पनीले नै कुन दिन के गर्ने भन्ने टाइमलाइन र कार्यसूची दिने भएकाले यही दिन रिबन काटिन्छ भन्ने अझै एकिन भन्न मिल्दैन”, उनले भने ।

उनले थपे, “रिबन काट्ने दिन निक्र्योल गर्न बाँकी छ । तर, कारोबार छिट्टै सुरु हुन्छ ।” यसैबीचमा पूर्णरुपमा कार्यान्वयनमा आउन केही महिना लाग्ने समाचार बाहिरिएपछि लगानीकर्ताले यसको विरोध गरेका थिए । यसअघि नेप्सेले ढिलामा जेठदेखि अनलाइन प्रणाली सुरु हुने आश्वासन दिएको थियो ।

अनलाइन प्रणाली आउन ढिला हुने समाचार बाहिर आउँदा लगानीकर्ताले विरोधस्वरुप दबाब दिने बताए । यति भएपछि बुधबार नेप्सेका पदाधिकारीसँग लगानीकर्ताले भेट गरेका थिए ।

छलफलमा नेप्सेले साउन १ गतेदेखि समानान्तर रुपमा दुवै प्रणाली अगाडी बढाउने बताएको छ । सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालका अनुसार नेप्सेका पदाधिकारले अनलाइन प्रणाली लागु गर्न आफूहरु प्रतिवद्ध हरेको बताएका थिए ।
बाह्रखरीलाई उनले भने, “यस विषयमा हामीले ब्रोकर कम्पनीसँग पनि छलफल गर्यौं ।” 
उनका अनुसार यसअघि विकासकर्ता कम्पनीले जेठ १८ गते नेप्सेलाई अनलाइन प्रणाली हस्तान्तरण गर्ने भनिएको थियो । त्यसयता परीक्षण कार्य समानान्तर प्रणालीको कार्यप्रगति तथा नयाँ र पुरानो सिस्टमबीच तुलना गर्नुपर्ने भएकाले अझै ढिलो हुने देखिन्छ ।

नेप्सेको योजना
 

आगामी आर्थिक वर्षदेखि पूर्ण अनलाइन ट्रेडिङ प्रणाली लागु गर्ने तयारीमा रहेको नेप्सेले लगानीकर्तालाई घरमै बसेर इन्टरनेटको माध्यमबाट कम्प्युटर, ल्यापटप र मोबाइलबाट सेयर खरिद तथा बिक्रीको अर्डर सक्ने व्यवस्था मिलाउन लागेको हो । यसले पुँजी बजारलाई थप चलायमान र सरल बनाउने अपेक्षा गरिएको छ ।

यसरी हुन्छ कारोबार 

सेयर बजारमा अनलाईन प्रणालीमार्फत किनबेच गर्न चाहने लगानीकर्ताले सबैभन्दा पहिले सेयर दलालको कार्यालयमा आफ्नो नाम दर्ता गराउनुपर्ने हुन्छ । कारोबार गर्ने व्यक्ति र ब्रोकर कम्पनीबीच एउटा सम्झौता त्यहिबेला गरिन्छ ।

दुईपक्षबीचको सम्झौतामा सेवाग्राहीको डिम्याट खाता, बैंक खाता, कारोबार रकम अधिकार, पेश्कि आदि विषयमा भएको सम्झौता अनुसार ब्रोकरले कारोबार गर्दछ । अहिले पनि यही हिसाबले करोबार हुने गरेको छ । ब्रोकरले लगानीकर्तालाई उसको बैंक खातामा रहेको रकम र मार्जिन कर्जालगायतका कुराहरुको आधारमा कारोबार सीमा तोकी सम्बन्धित लगानीकर्तालाई कारोबारको अधिकार दिन्छ । 

अहिले कारोबार गर्न चाहनेले लेखेर अर्डर दिनुपर्छ भने अनलाइन प्रणालीमा मोबाइल वा कम्प्युटरबाटै अर्डर दिन सकिन्छ ।  ब्रोकर कार्यालयमा उपलब्ध फारम भरेर किन्ने वा बेच्ने लिखित अर्डर दिने र आदेश संकलन गरेर ब्रोरले सिस्टममा इन्ट्रि गर्ने प्रणाली भने अन्त्य हुनेछ ।
यसर्थमा, सेवाग्राहीले दिएको अर्डर सिधै सिस्टममा पुग्छ । यद्यपि, ब्रोकरले भने कारोबार मोनिटर गरिरहेको हुन्छ । अनलाइन प्रणाली भएपनि सेवाग्राहीले ब्रोकर बिनै कारोबार गर्न अवसर भने पाउनेछैनन् । नयाँ प्रणालीमा पनि अहिले झैं फरक फरक ब्रोकरको कार्यालयमा खाता खोली चाहे अनुसारको कारोबार गर्न सकिनेछ । अलग ब्रोकरबाछ कारोबार गर्दा अलग एकाउन्टमा लगइन भने गर्नु पर्नेछ ।

तर, सर्वसाधारणमा अनलाइन प्रणाली आउनेवित्तिकै ब्रोकरको सेवा लिनुपर्दैन भन्ने बुझाई गलत रहेको बताइएको छ । ब्रोकरको काम भनेको निगरानी गर्ने सम्झौता अनुसार मात्र सेयर बजारमा कारोबार गर्न पाइन्छ । अनलाइन प्रविधिले सहजता प्रदान गर्ने भए पनि परिसूचक भने बढाउनेछैन ।

प्रकाशित मिति: बिहीबार, असार ७, २०७५  ०९:५९
प्रतिक्रिया दिनुहोस्