site stats
बाह्रखरी :: Baahrakhari
देश
एकैसातामा मौद्रिक नीति र नेप्सेमा नयाँ सीईओ, सेयर लगानीकर्ताले गुमाए ३७ अर्ब

काठमाडौं । चालू आर्थिक वर्षको अन्तिम साता सेयर लगानीकर्ताको कूल सम्पत्तिमा ३७ अर्ब रुपैयाँको गिरावट आएको छ । साताभरमा सेयर बजार परिसूचक ३२.३४ अंकले घट्दा सेयरमा लगानी गर्ने लगानीकर्ता भने मारमा परेका हुन् ।

अघिल्लो साताको अन्तिम १४ खर्ब ४८ अर्ब रुपैयाँ रहेको सेयर लगानीकर्ताको कूल सम्पत्ति बिहीबारको कारोबार बन्द हुँदा १४ अर्ब ११ अर्ब रुपैयाँमा झरेको छ । यसअवधिमा सेयर बजार परिसूचक (नेप्से) १२ सय २४ दशमलव ४१ को बिन्दुबाट ११ सय ९१.९८ अंकमा ओर्लिएको छ ।

यससाता बजारमा नेपाल स्टक एक्स्चेन्जले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाएको थियो भने देशले नयाँ मौद्रिक नीति पाएको थियो । मौद्रिक नीति आएसँगै बजार बढ्ने अपेक्षा गरिए पनि लगानीकर्ताका अधिकांश माग यथावत् नै रहेका कारण बजार बढ्न नसकेको जानकारहरुले बताएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मौद्रिक नीतिले लगानीकर्तालाई ३ भिन्न कोणबाट सम्बोधन गर्ने कोसिस गरेपनि लगानीकर्ता भने हौसिएका देखिएनन् । अनलाइन प्रणाली आउनै लागेका बेलामा राष्ट्र बैंकले मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुलाई पनि ब्रोकर लाइसेन्स दिने व्यवस्था गरेपनि लगानीकर्ता भने उत्साहित देखिएनन् । अनलाइन ट्रेडिङको तयारी पूरा हुन लागेको र ब्रोकरको कारण सेयर कारोबार संकुचित अवस्थामा नरहेको विश्लेषणसहित बैंकलाई ब्रोकरको काम गर्न दिँदैमा बजार मूल्यमा प्रभाव नपर्ने उनीहरुको बुझाइ छ ।

अर्कोतर्फ बैंक तथा वित्तीय संस्थाहरुले पुँजी कोषको २५ प्रतिशतसम्म मात्र सेयर कर्जा लगानी गर्न पाउने व्यवस्था गरेको छ । यसअघि पुँजी कोषको ४० प्रतिशत रकम सेयर कर्जा प्रवाह गर्न सक्ने नीति थियो । लगानीकर्ताले मार्जिन कर्जा बढाउनुपर्ने माग राखेका थिए ।

यसैगरी मौद्रिक नीतिमा सेयर कर्जा प्रवाह गर्दाको मूल्यमा २० प्रतिशत गिरावट आउँदासम्म मार्जिन कल गर्न नपर्ने व्यवस्था भएको छ । नियमत कर्जा प्रवाह गर्दाको भन्दा १० प्रतिशतभन्दा बढी सेयर मूल्य घट्दा मार्जिन कल गर्नुपर्ने व्यवस्थाले हैरान बनेका लगानीकर्ता यो व्यवस्थाबाट खुसी हुने अपेक्षा गरिए पनि यसबाट खासै सकारात्मक प्रभाव नपरेको बताएका छन् । उनीहरुले सेयर ऋण लिनको लागि ८० प्रतिसतसम्म मार्जिन ऋण माग गरिएका थिए ।

यता भारित औसत गणनामा सेयर कर्जाको जोखिमदरका विषयमा मौद्रिक नीति चुप छ । यो दर १५० प्रतिशतबाट १०० प्रतिशतमा झार्नुपर्ने जस्ता मागहरु सम्बोधन नहुँदा लगानीकर्ता खासै उत्साहित नभएको लगानीकर्ता समूह संस्थाहरुको निश्कर्ष छ । यिनै कारण मौद्रिक नीति आएको भोलिपल्टै बिहीबार नेप्से १३ अंकले घट्दा साताको सेयर बजार समग्रमा नकारात्मक दिशातर्फ उन्मुख भएको देखिएको हो ।

यसअघि नेप्सेका नयाँ सीईओ रमेश अर्यालले आफूसँग खासै नयाँ योजना नभएको र पूर्वनिर्धारित कार्यसूचीअनुसार कामकारवाही अगाडि बढाउने बताएका थिए । नेप्सेका पूर्व सीईओ चन्द्रसिंह साउद सरकारले यसअघिका सबै निर्णय उल्ट्याएसँगै पदमुक्त बनेका थिए ।

यसैबीच सेयर बजारमा अघिल्लो साताको तुलनामा ५८.४४ प्रतिशत बढी सेयर कारोबार हुँदा पनि नेप्से परिसूचक भने बढ्न सकेन । चालु आर्थिक वर्षको अन्तिम साता सेयर बजारमा २ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो । साताभरमा भएको २४ हजार ३ सय ७० वटा कारोबारमा दुई अर्ब ११ करोड ८८ लाख आठ हजार रुपैयाँको कारोबार भएको हो । यसक्रममा १९१ कम्पनीका ६१ लाख १२ हजार ३७० कित्ता सेयर खरिद–बिक्री भए ।

गतसाता बजारमा १८४ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २०२८१ कारोबारबाट १ अर्ब ३३ करोड ७३ लाख ३३ हजार रुपैयाँ बराबरका ४२ लाख ५४ हजार पाँच सय ५० कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए ।

नेप्से बढ्दा यससाता “क” वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि पहिलो दिनको तुलनामा ६.६८ अंकले घटेर २५१.०५ अंकमा आइपुगेको छ ।

यससाता कारोबार रकमका आधारमा एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो । साताभरमा कम्पनीका १५ करोड २५ लाख रुपैयाँको कारोबार भएका थिए । कारोबार भएको सेयर संख्याको आधारमा कुमारी बैंकको संस्थापक सेयर अग्रस्थानमा रह्यो । बैंकका तीन लाख ९० हजार कित्ता संस्थापक सेयर किनबेच हुँदा १ हजार ४ सय ४९ वटा कारोबार संख्याको आधारमा रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।

कारोबार रकमका हिसाबले दोस्रो स्थानमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर रहँदा नेपाल दूरसञ्चार कम्पनी तेस्रो, लक्ष्मी बैंक चौथो र छिमेक लघुवित्त वित्तीय संस्था र पाँचौ स्थानमा रहे ।

\\यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०७५  १७:५३
प्रतिक्रिया दिनुहोस्