site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
वार्षिक बजेटबराबरको आयात, निर्यात न्यून

काठमाडौं । गत आर्थिक वर्षमा भएको कूल आयात पूरै आवको बजेटबराबर रहेको देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार आव २०७४–७५ मा १२ खर्ब ४३ अर्ब रुपैयाँबराबरको आयात भएको छ, जबकि उक्त आवको कूल बजेट १२ खर्ब ७९ अर्ब रुपैयाँको थियो ।

गत आवमा ११ खर्ब १३ अर्ब रुपैयाँ सरकारी खर्च भएको तथ्यांक छ । गत आवको पहिलो ११ महिनाको तथ्यांकअनुसार ६४ अर्ब रुपैयाँको मात्र आयात भएको छ । आव २०७३–०७४ मा आयात गरिएको वस्तु तथा सेवाको मूल्य अघिल्लो आवको तुलनामा २६ दशमलव ३१ प्रतिशतले बढी हो । विभागको तथ्यांकअनुसार अघिल्लो आवमा ९ खर्ब ८४ अर्ब रुपैयाँको आयात भएको थियो । गत आवको निर्यातको यकिन आँकडा भने आइसकेको छैन । अन्तिम महिनाको तथ्यांक आउन बाँकी छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत आवमा सबैभन्दा बढी आयात पेट्रोलियम पदार्थ भएको छ । पेट्रोलियम पदार्थको आयात २६.३१ प्रतिशतले बढ्दै १ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ । त्यसैगरी फलाम तथा स्टिलको आयातले कूल आयातको दोस्रो ठूलो हिस्सा ओगट्छ । फलाम तथा स्टिलको आयात ३४ प्रतिशतले बढ्दै १ खर्ब २६ रुपैयाँ पुग्दा मेसिनरी औजारको आयात भने १ खर्ब २४ अर्ब रुपैयाँको भएको छ । यो अघिल्लो वर्षको भन्दा ५१ प्रतिशत बढी हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विभागका अनुसार आयातको ठूलो हिस्सा ओगेट्नेमध्ये सबैभन्दा कम वृद्धिदर अटोमोबाइल्सको भएको छ । अघिल्लो आवमा सवारीसाधनको कूल आयात ८ प्रतिशतले बढेर ४४ अर्ब रुपैयाँ पुगेको छ । यसअवधिमा खाद्य पदार्थको आयात पनि ४४ अर्ब रुपैयाँकै आसपासमा भएको छ । 

नेपालबाट चीनतर्फको निर्यातमा भने उल्लेख्य सुधार आएको देखिएको छ । वर्षको पहिलो ११ महिनामा चीनतर्फ हुने निर्यात अघिल्लो वर्षभन्दा दोब्बर हुँदा चीनबाट हुने आयात भने २५ प्रतिशतले बढेको छ । त्यसैगरी भारतबाट हुने आयात र निर्यात क्रमशः २५ र ८ प्रतिशतले बढेको छ ।

व्यापार घाटाले बजेटलाई नै जितेको बेला नेपालमा उपलब्ध वस्तु तथा सेवाको मूल्यवृद्धि भने सामान्य देखिएको छ । गत आवको ११ महिनामा वार्षिक बिन्दुगत आधारमा वस्तु तथा सेवाको मूल्य ४.१ प्रतिशतले बढेको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार मुद्रास्फीतिको यो दर भारतको भन्दा बढी हो । यही समय वार्षिक बिन्दुगत आधारमा भारतको उपभोक्ता मुद्रास्फीति दर ५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको नेपालको सोही अवधिमा नेपालको मुद्रास्फीति दर भारतको भन्दा बढी रहेको थियो । नेपालको मुद्रास्फीति दर २.८ प्रतिशत र भारतको १.५ प्रतिशत रहेको थियो ।

यता, क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा सबैभन्दा बढी उपभोक्ता मुद्रास्फीति हिमाली क्षेत्रमा रहेको छ । यस अवधिमा हिमालको मुद्रास्फीति ६.४ प्रतिशत रहँदा वस्तु तथा सेवाको मूल्य पहाडमा ४.९ प्रतिशत, तराईमा ४.२ प्रतिशत र काठमाडौं उपत्यकामा ३.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर हिमालमा १.८ प्रतिशत, पहाडमा ४.० प्रतिशत, तराईमा ३.१ प्रतिशत र काठमाडौं उपत्यकामा १.४ प्रतिशत रहेको थियो ।

यद्यपि यस्तो मुद्रास्फीति अघिल्लो आव २०७४–७५ को जेठ महिनाको भन्दा बढी हो । सो समय मुद्रास्फीति २.८ प्रतिशत रहेको थियो । खाद्य मुद्रास्फीतिमा आएको वृद्धिका कारण अघिल्लो वर्षको तुलनामा समग्र मुद्रास्फीति बढ्न गएको राष्ट्र बैंकको दावी छ ।

गत वर्षको तुलनामा मूलतः तरकारी, फलफूल, घ्यु तथा तेल, दुग्धजन्य पदार्थ तथा अण्डालगायत वस्तुहरुको मूल्यमा भएको वृद्धिका कारण समग्र खाद्य मुद्रास्फीति बढ्न गएको हो ।

समग्र आर्थिक परिदृष्य
राष्ट्र बैंकले आर्थिक वर्ष २०७५–७६ को कृषि उत्पादन बाँकी अवधिमा हुने मनसुनी वर्षामा निर्भर रहने देखिने जनाएको छ । आव २०७४–०७५ मा पर्यटक आगमनमा वृद्धि हुनुका साथै २०७२ वैशाखको भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माणले गति लिएको छ । यता आर्थिक वर्ष २०७४–७५ को एघार महिनामा शोधनान्तर स्थितिमा केही सुधार आएको छ । शोधनान्तर घाटा एघार महिनामा ४ अर्ब ३४ करोड रुपैयाँमा सीमित रहेको छ ।

यसैगरी २०७५ जेठ मसान्तमा विदेशी विनिमय सञ्चिति १० खर्ब ९४ अर्ब पुगेको छ । यो सञ्चिति ९.६ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त छ । यस अवधिमा कर्जा प्रवाहको वृद्धिदर निक्षेप परिचालन भन्दा उच्च रहे पनि सरकारी खर्चमा भएको वृद्धि तथा विप्रेषण आप्रवाहमा आएको विस्तारले निक्षेप परिचालनमा सकारात्मक प्रभाव परेको छ । फलस्वरुप, बजार ब्याजदरमा स्थिरता आएको छ ।

यी तथ्यांकले नेपालको आर्थिक गतिविधिमा सकारात्मक प्रभाव परेको राष्ट्र बैंकको तर्क छ । जसका कारण मौद्रिक योगांकहरुको वृद्धि अपेक्षित स्तरमा रहेको राष्ट्र बैंकको दावी छ ।

विप्रेषण आप्रवाह 
समीक्षा अवधिमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई रु. ६७९ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले बढेको थियो । खुद ट्रान्सफर आप्रवाह भने ०.१ प्रतिशतले बढी रु. ७७६ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११.६ प्रतिशतले बढेको थियो । 

वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिने नेपालीको संख्या (पुनः श्रम स्वीकृति बाहेक) समीक्षा अवधिमा ८.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३.५ प्रतिशतले घटेको थियो । 

विदेशी विनिमय सञ्चिति 
२०७४ असार मसान्तको रु. १०७९ अर्ब ४३ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति २०७५ जेठ मसान्तमा १.३ प्रतिशतले वृद्धि भई रु. १०९४ अर्ब पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७४ असार मसान्तको रु. ९२७ अर्ब २७ करोडको तुलनामा २०७५ जेठ मसान्तमा ५.५ प्रतिशतले वृद्धि भई रु.९७८ अर्ब १८ करोड पुगेको छ ।

२०७५ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.६ प्रतिशत रहेको छ । 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०७५  १८:०२
प्रतिक्रिया दिनुहोस्