site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
१२ महिनामा बाह्रैपटक बढ्यो इन्धनको मूल्य

काठमाडौं । बितेको १२ महिनामा पेट्रोलियम पदार्थको मूल्य १२ पटक नै बढेको छ । गत आर्थिक वर्षको भदौयता कुल १५ पटक मूल्य समायोजन गरिएकोमा ३ पटकमात्र मूल्य घटेको छ ।

२०७२ भदौ ३ गते प्रतिलिटर ९८ रुपैयाँ रहेको पेट्रोलको मूल्य २०७५ भदौ ४ गते आइपुग्दा १ सय ११ रुपैयाँ प्रतिलिटर पुगेको छ । नेपाल आयल निगमले त्यसयता २०७४ कात्तिक १६ गते, २०७४ फागुन २० गते र २०७५ असार ३ गतेमात्र समायोजन गर्ने क्रममा मूल्य घटाएको छ भने अन्य सबै समायोजनमा तेलको मूल्य बढेको छ । 

निगमले भने स्वतः सञ्चालित मूल्य संरचनाअनुरुप पेट्रोलियम पदार्थको मूल्य समायोजन हुने गरेको बताएको छ । निगमले अपनाउने यो प्रणालीअनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा सोहीअनुसार नेपालमा पनि मूल्य कायम हुनेगर्छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (बेन्ट क्रुड आयल)को मूल्य क्रमशः बढेका कारण नेपालमा पनि इन्धनको मूल्य बढेको निगमका निमित्त प्रबन्ध निर्देशक सुशीशल भट्टराईले बताए । यसका साथै अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अवमूल्यन हुँदै जाँदा निगमलाई थप आर्थिक भार परेको उनको दाबी छ । उनले भने, “कच्चा तेलको मूल्य र अमेरिकी डलर महँगो पर्दा हाम्रो डिपो प्राइस बढेर आएको छ । जसका कारण लागत बढेको हो ।”

अघिल्लो वर्ष भदौ ४ गते अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (बेन्ट क्रुड आयल)को मूल्य प्रतिव्यारेल साढे ५१ डलर रहेकोमा अहिले त्यो बढेर करिब ७२ रुपैयाँ पुगेको छ । त्यसैगरी, अघिल्लो वर्षको यही अवधिमा अमेरिकी डलरको विनिमयम दर १ सय ३ रुपैयाँ रहेकोमा अहिले १ सय १२ रुपैयाँको हाराहारीमा छ ।

यसैबीच, आइतबार पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि भएसँगै अहिले सबैको चासोको विषय ‘किन बढ्यो’ मा केन्द्रित रहेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य स्थिर रहँदा नेपालमा भने नेपाल आयल निगमले पछिल्लो पटक हिजो (आइतबार) राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

पछिल्लो समय विनिमयमदर १ रुपैयाँ बढ्दा निगमलाई प्रतिमहिना करिब १५ करोड रुपैयाँ अतिरिक्त लागत पर्ने देखिएको निगमका निमित्त प्रबन्ध निर्देशक भट्टराईले बताए । यस अनुसार गत २ महिनाको अवधिमा अन्तर्राष्ट्रिय बजार मूल्य समान भए पनि निगमलाई महिनामा ६० करोड रुपैयाँ लाग थप भएको उनको दाबी छ ।

निगमले गरेको यो मूल्य समायोजन २ महिनापछि भएको हो । गत असार ३ गते निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएकोमा २ महिनापछि (आइतबार) फेरि समायोजन गरी मूल्य बढाएको हो ।

स्वतः सञ्चालित मूल्य संरचनाअनुरुप निगमले पेट्रोल, डिजेल मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको हो । नयाँ मूल्यसूचीअनुसार अब पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँले बढेर १ सय ११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य २–२ रुपैयाँले बढेर ९५ रुपैयाँ प्रतिलिटर पुगेको छ । 

यस्तै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँ ५० पैसा र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिहजार लिटर ५० डलर बढाएको निगमले जनाएको छ । तेलको मूल्य बढ्दा खाना पकाउने एलपीजी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।

मूल्य बढेपनि निगमलाई मासिक १५ करोड रुपैयाँ घाटा हुनेछ । निगमले अगस्ट १६ मा आईओसीबाट प्राप्त मूल्यसूची अनुसार १५ दिनमा निगमलाई २५ करोड रुपैयाँ घाटा हुने देखिएपछि निगमले मूल्य बढाएको हो ।

मूल्य समायोजन गर्दा निगमलाई पेट्रोलमा प्रतिलिटर ६५ पैसा नाफा, डिजेलमा प्रतिलिटर ७० पैसा घाटा छ भने ग्यासमा प्रतिसिलिन्डर २ सय ८० रुपैयाँ ६४ पैसा घाटा रहेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०७५  १५:५२
प्रतिक्रिया दिनुहोस्