site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बिम्स्टेक सम्मेलनलाई बुलेट प्रुफ गाडी भाडामा लिन २ करोड खर्च !

काठमाडौं । सरकारले बिम्स्टेक सम्मेलनमा भीभीआईपीको सवारीका लागि भाडामा लिइएको बुलेट प्रुफ गाडीका लागि मात्रै २ करोड रुपैयाँ खर्च गरेको छ । काठमाडौंमा सम्पन्न बिम्स्टेक शिखर सम्मेलनका लागि अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई थप २ करोड रुपैयाँ रकमान्तर गरेको हो ।

मन्त्रालयले भैपरी आउने साधारण प्रशासन बजेट शिर्षकअन्तर्गत बिम्स्टेक चौथो शिखर सम्मेलनमा सहभागी हुने राष्ट्र प्रमुख–सरकार प्रमुख तथा भीभीआईपीको लागि आवश्यक पर्ने बुलेट प्रुफ गाडी भाडामा लिने समेत गरी उपयुक्त सवारी साधनका लागि २ करोड रुपैयाँ रकमान्तर निकाशा गरेको अर्थ मन्त्रालयका प्रवक्त चन्द्रकला पौडेलले बताइन् ।

\"\"

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बाह्रखरीसँग कुरा गर्दै उनले भनिन्, “बिम्स्टेकको खर्च भनेर अर्थ मन्त्रालयले २ करोड रुपैयाँ थप गरेको हो । उक्त रकम बुलेट प्रुफ भाडामा लिन रकमान्तर गरेको मन्त्रालयको वेबसाइटमा पनि उल्लेख छ ।”  बुलेट प्रुफ गाडी सबै भारतबाट ल्याइएका थिए । 

त्योभन्दा बाहेक सबै खर्च सम्बन्धित निकायका लागि विनियोजित रकमबाट खर्च गर्न निर्देशन दिइएको उनले बताइन् । यसअघि बिम्स्टेकको आर्थिक समितिले सम्मेलनको खर्च ‘तत् तत् विभागमा विनियोजित भएको रकमबाट खर्च गर्न’ निर्देशन दिएको थियो ।

यद्यपि, सम्मेलनमा कति खर्च भयो भन्ने यकिन विवरण भने प्राप्त भइसकेको छैन ।

यता, परराष्ट्र मन्त्रालयले भने सम्मेलन तयारीका परराष्ट्र मात्र एक्लो निकाय नभएको जनाएको छ । मन्त्रालय प्रवक्ता भरत राज पौडेलका अनुसार बिम्स्टेक तयारीमा फरक फरक समिति तथा निकाय संलग्न रहेकाले ती निकायबाट खर्च गरिएकाले तत्काल कुल खर्चबारे केही बताउन सकिने अवस्था छैन ।

उनले भने, “अहिले खर्च कति खर्च भयो भन्ने जानकारी गराउन सकिन्न । यसका धेरै निकाय संलग्न रहेका कारण विस्तृत विवरण परराष्ट्रसम्म पनि नआउन सक्छ ।”

बिम्स्टेक सम्मेलनमा तयारीमा परराष्ट्रसँगै, अर्थ, गुह, रक्षा, भौतिक पूर्वाधार र यातायात, सुरक्षा निकाय पनि संलग्न रहेका थिए ।
 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०७५  १९:११
प्रतिक्रिया दिनुहोस्