site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
शनिबारबाट इन्धन बिक्री सहज हुने

काठमाडौं । तीन दिनदेखि पेट्रोल र डिजेल खरिद गर्न पम्पमा लाम लाग्दै आएका उपभोक्तालाई भोलि शनिबारबाट सहज हुने भएको छ । शनिबारबाट तेल आपूर्ति सहज हुने नेपाल आयल निगमले जनाएको छ । शुक्रबार अपराह्न यातायात मजदुर र सरकारबीच भएको सहमतिसँगै पेट्रोलियम पदार्थ ढुवानी सहज हुने भएको हो ।

आयल निगमसँग इन्धन भण्डारण पर्याप्त रहेको र निगमको निरन्तर दबाबपछि ट्यांकर चालक तेल भर्न रक्सौल गइसकेको अवस्थामा यातायात पनि सुचारु हुनुले भोलि शनिबारबाट तेल भर्न लाइन बस्नु नपर्ने निगमको भनाइ छ ।

शुक्रबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको वार्तामा सरकार र नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिबीच ८ बुँदे सहमति भएपछि तेल सहज हुने वातावराण बनेको हो । यसअघि मुलुकी संहिताको बिरोध गर्दै गत मंगलबारबाट यातायात मजदुर आन्दोलनमा थिए जसको प्रभाव पेट्रोलियम ढुवानीमा परेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बुधबार आवश्यकताभन्दा केही कम परिमाण तेल पम्पमा पुगेकाले बिहीबारको आपूर्ति असहज बनेको थियो तर, शुक्रबार उपभोक्ताले आवश्यकताभन्दा बढी माग गर्दा पम्पमा लाइन लागेको थियो । जसका कारण निगमले तेल बाँड्न कोटा प्रणाली लागू गरेको थियो ।
यो पढ्नूहोस्
बाइकलाई ५ लिटर र कारलाई १५ लिटर 

यसैबीच निगमले शुक्रबार २ बजेसम्म ४ लाख ५० हजार लिटर पेट्रोल र ४ लाख ४० हजार लिटर डिजेल डिपोबाट पम्पसम्म पुगेको निगम प्रवक्ता वीरेन्द्र गोइतले बताए । “हामीसँग पर्याप्त स्टक छ, नआत्तिनोस्,” गोइतले बाह्रखरीसँग भने ।

निगमका अनुसार सामान्य अवस्थामा थानकोट डिपोले काठमाडौंको पेट्रोल माग ३ दिन  र डिजेल ६ दिन धान्ने क्षमता राख्छ । यसअघि चालक आन्दोलनका कराण बुधबार डिपोदेखि पम्पसम्मको तेल ढुवानी पनि प्रभावित भएको थियो । त्यस दिन २ लाख ५ हजार लिटर पेट्रोल र १ लाख १९ हजार लिटर डिजेलमात्र पम्प पुगेको थियो । 

काठमाडौंको माग दैनिक ६ लाख लिटर पेट्रोल र ५ लाख लिटर डिजेल हो । यसलाई पूर्ति गर्न निगमले बिहीबार साँझसम्म ५ लाख ९८ हजार लिटर पेट्रोल र ५ लाख लिटर डिजेल पम्पसम्म पुर्याए पनि पम्पमा दिनभरि लामो लाइन थियो ।

मुलुकी संहिताले चालकलाई तोकेको जेल सजायको विरोधमा यातायात ठप्प पारिएको थियो । राजधानीमा कुनै बाधा नभए पनि राजधानी बाहिर भने जनजीवन अस्तव्यस्त थियो । त्यही भएर डिपो आउने क्रममा रहेका करिब १० लाख लिटर पेट्रोलियम पदार्थ बाटैमा रोकिएको थियो ।

तेल ढुवानी भएपछि पम्पले कुनै बदमासी नगरेको तथा आवश्यकताभन्दा बढी माग नगरेको अवस्थामा शनिबारबाट तेल सहज उपलब्ध हुने निगमको दाबी छ । यसअघि सरकारबाट सवारी चालक संघर्ष समितिबाट प्राप्त ज्ञापनपत्रको कार्यान्वयनका लागि गृह, भौतिक पूर्वाधार तथा यातायात र कानुन, न्याय तथा संसदीय मामिलामा पठाइने, ट्राफिक संकेत र सडकको नियमित मर्मत गरी भौतिक अवस्था दुरुस्त राख्ने र राष्ट्रिय राजमार्गमा निश्चित दुरीमा ठूला सवारीका लागि व्यवस्थित पार्किङको व्यवस्था भौतिक पूर्वाधार तथा यातायात मिलाउने, सडक दुर्घटना हुँदा निष्पक्ष छानबिन गरी घटनामा दोषी देखिएका जोसुकैलाई कारबाही गर्ने सुनिश्चित गर्न–गराउन गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले व्यवस्था मिलाउने प्रतिबद्धता प्राप्त भएसँगै आन्दोलनका कार्यक्रम फिर्ता भएका हुन् ।

सहमतिमा ट्राफिक प्रहरीको व्यवहार परिवर्तनका लागि गृहले आवश्यक व्यवस्था मिलाउने, ज्ञापनपत्रको बुँदा ९ मा उल्लेखित विषयमा निष्पक्ष छानबिन गर्ने, यस्तो छानबिनमा चालकको तर्फबाट प्रतिनिधित्व गराउने तथा आन्दोलन क्रममा थुनामा रहेका सबै सवारी चालकलाई शुक्रबारै रिहासमेत गरिने उल्लेख छ ।

सरकार र यातायात व्यवसायीबीच सहमति हुनअघि नै ट्यांकर चाालक रक्सौल डिपोबाट तेल ल्याउन तयार बनेका थिए । निगमको निरन्तर दबाब तथा ट्यांकर नै कब्जामा लिने चेतावनी दिएपछि ढुवानी पुनः सुरु भएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०७५  १८:२६
प्रतिक्रिया दिनुहोस्