site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
घाममा लाइन नबस्नूस्, तेल प्रशस्त छ : नेपाल आयल निगम 

काठमाडौं । राजधानीको पेट्रोल पम्पमा लागेको लाइन आइतबारदेखि पूर्ण रुपमा हट्ने भएको नेपाल आयल निगमले जनाएको छ । राजधानीको इन्धनको माग पूर्ति गर्न नेपाल आयल निगमले आइतबार करिब २० लाख लिटर पेट्रोलियम पदार्थ पम्पसम्म पुर्याउने भएको हो ।
निगमले आइतबार बिहानसम्म थानकोट डिपो आइपुगेको १२ लाख लिटर डिजेल र ८ लाख लिटर पेट्रोल राजधानीका पेट्रोल पम्प पुर्याउने भएको हो । यससँगै शनिबारदेखि कम भएको लाम आइतबारबाट पूर्णरुपमा हट्ने निगमको आकलन छ ।

यसअघि निगमले गत शुक्रबारदेखि नै मागभन्दा बढी आपूर्ति गरिरहेको छ । आवश्यकताभन्दा जोहो गर्नेगरी उपभोक्ताले इन्धन भर्न थालेपनि पम्पमा लागेको लाम कम गर्न निगमले केही दिन यता अत्यधिक मात्रामा तेल वितरण गरेको भएपनि पम्पमा लागेको लाइन भने कम भएको थियो ।

यसअघि शुक्रबार अपराह्न यातायात मजदुर र सरकारबीच भएको सहमतिसँगै पेट्रोलियम पदार्थ ढुवानी सहज हुन थालेको थियो । हालका लागि निगमसँग इन्धन भण्डारण पर्याप्त रहेको, निगमको निरन्तर दबाब र चालकको आन्दोलन फिर्तापछि ट्यांकर चालक तेल भर्न रक्सौल गइसकेको तथा इन्डियन आयल कर्पोरेसनले आइतबार पनि डिपो खुल्ला राखेको अवस्थामा भारतबाट तेल भर्न तथा आपूर्ति सहज बनाउन समस्या नरहेको निगमको भनाइ छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बुधबार आवश्यकताभन्दा केही कम परिमाण तेल पम्पमा पुगेकाले बिहीबारको आपूर्ति असहज बनेको थियो तर, शुक्रबार उपभोक्ताले आवश्यकताभन्दा बढी तेल माग गर्दा पम्पमा लाइन लागेको थियो । जसका कारण निगमले तेल बाँड्न कोटा प्रणाली लागु गरेको थियो । शनिबार भने बिदाको दिन भएकाले पम्पमा खासै चाप देखिएको थिएन ।

निगमले शनिबार मात्र ८ लाख ५५ हजार लिटर पेट्रोल र ८ लाख ९५ हजार लिटर डिजेल पम्पसम्म पुर्याएको थियो । त्यसदिन डिपोसम्म आएको पेट्रोलको परिमाण ७ लाख २० हजार लिटर र डिजेलको परिमाण ४ लाख लिटर रहेको थियो ।

हाल निगमको थानकोट डिपोमा २५–२६ लाख लिटर पेट्रोल मौज्दात छ भने ४५ लाख लिटर डिजेल मौज्दात छ । यो क्षमताले उपत्यकाकको कम्तिमा ३ दिनको पेट्रोल र ६ दिनको डिजल माग पुर्ति गर्न सहज हुन्छ  । काठमाडौंको माग दैनिक ६ लाख लिटर पेट्रोल र ५ लाख लिटर डिजेल हो ।

यसैबीच निगमका थानकोट डिपो प्रमुख भरत रेग्मी अपुग भए मागअनुसार तेल आपूर्ति गर्न निगमलाई कुनै समस्या नरहेको बताउँछन् । उनले बाह्रखरीलाई भने, “आइतबार पम्पको शतप्रतिशत माग आपूर्ति गर्ने योजना बनाएका छौं ।”
उनले थपे, “रक्सौल र बरौलीमा फुल फेजमा तेल लोड भइसकेको अवस्थामा मौज्दात रित्तिने डर पनि छैन । यो सकारात्मक संकेत हो । ”

प्रमख रेग्मीका अनुसार बरौदीमा करिब १० लाख लिटर पेट्रोल लोड भएको छ भने रक्सौलमा ५ लाख लिटर पेट्रोल लोड भएको छ । आइतबार पनि इन्डियन आयल निगमका सबै डिपो खुल्ला हुनुले सर्वसाधारणले केही आशंका मान्नुनपर्ने उनको दाबी छ । शनिबार साँझ भद्रकाली पेट्रोप पम्पमा डिजेल पठाउँदा पम्पसँग भण्डारण अभावका कारण ट्यांकर फर्काउनुपरेको बताउँदै उनले भने, “तेल पाउने विषयमा सर्वसाधारण ढुक्क भए हुन्छ । तपाईंहरु घाममा लाइन बस्नु भनेको अनावश्यक दुःख पाउनु हो ।”

यो पनि, 
शनिबारबाट इन्धन बिक्री सहज हुने

बाइकलाई ५ लिटर र कारलाई १५ लिटर 
 

प्रकाशित मिति: आइतबार, असोज ७, २०७५  ०९:४८
प्रतिक्रिया दिनुहोस्