site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
दसैंको मुखमा सधैं ‘चिनी राजनीति’ ! जनताको ढाड सेकिँदै

काठमाडौं । “मैले जानकारी पाएसम्म चिनी आयातमा बन्देज लगाउने प्रकरणमा ठूलो रकमको खेल भएको छ,” संसदको सार्वजनिक लेखा समितिको सोमबार बसेको बैठकमा बोल्दै सांसद लेखराज भट्टले आफ्ना धारणा यसरी राखे ।
सो रकम अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय हुँदै सरकार प्रमुखसम्म पुगेको आफ्नो जानकारीमा आएको उनले दाबी गरे ।

चिनी उत्पादक र आयातकर्तासँग मिलेर उपभोक्ताको ढाड सेक्न सरकार आफैं अग्रसर बनेको उनको आरोप थियो । चिनी आयातमा परिमाणात्मक बन्देज लगाउँदा सस्तोमा चिनी आयात गरेर भण्डारण गरिराखेका व्यापारीले सरकारलाई भ्रम र प्रभावमा पारेको उनले दाबी गरे । उनले मिलेमतो र आर्थिक चलखेलका आधारमा भएको चिनी प्रकरणमाथि छानबिन गर्न पनि आग्रह गरे ।

दोहोरिएको पुरानै कथा

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दसैंको मुखैमा आएर चिनीको मूल्य आकासिएको घटना यो पहिलो भने होइन । हरेक वर्ष चिनीको अभाव विभिन्न बहाना बनाएर आउँछ । यसलाई जानकारहरुले ‘सुगर पोलिटिक्स’ को संज्ञा दिने गरेका छन् । हरेक वर्ष यही समयमा यही किसिमको समस्या सिर्जना हुनु र उपभोक्ता मारमा पार्ने खेल खेलिनुले यसमा ठूलो आर्थिक चलखेल भएको बुझ्न सकिने जानकारहरु दाबी गर्छन् ।

यसपाली भने साल्ट ट्रेडिङले आफूसँग चिनीको मौज्दात नभएको बतायो । जसका कारण बजारमा चिनीको अभाव भएको अनुभव गराइयो । फलस्वरुप कालोबजारी गर्न तयार रहेकाहरु सल्बलाए, चिनीको मूल्य बढ्यो ।

केही समयअघि साल्ट ट्रेडिङले ५४ रुपैयाँमा चिनी खरिद गरेर ५९ रुपैयाँमा बेचेको थियो । यो चिनी बजारमा ६५ रुपैयाँमा उपलब्ध थियो । बजारमा ६५ रुपैयाँमा चिनी उपलब्ध भइरहँदा साल्ट ट्रेडिङले भने चिनीको मूल्य ७२ रुपैयाँ तोकिदियो । यसो गरेपछि ५९ रुपैयाँमा चिनी बेच्नेले पनि मूल्य क्रमशः बढाएर चिनीको थोक मूल्य ६९ रुपैयाँसम्म पुर्याए । यो मूल्यमा किनेर बिक्रेतासम्म पुगेको चिनी ८५ रुपैयाँ प्रतिकिलोसम्म बिक्री गरियो ।  बीचमा चिनीको आयात बन्द भनियो । यो अवस्थामा यहाँ उपलब्ध चिनीको माग बढ्यो ।

चिनी उत्पादकहरुले यही समयमा आफूले उत्पादन गरेको चिनीले बजार नपाएको कारण कृषकलाई उखुको मूल्य तिर्न पाइएन भनेर सरकारसँग आयात बन्द गर्न लबिङ गरे । सरकारले आयातमा कोटा छुट्याइदियो ।

यसअघि उपभोक्ताकर्मीले दुई वर्षदेखि उठाउँदै आएको विषयलाई कुल्चिँदै सरकारले गत भदौ ३० गते चिनी आयातमा कोटा प्रणाली स्थापना गरेको थियो । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चिनीमा खेल भएको निष्कर्ष निकालेको अवस्थामा मन्त्रिपरिषद्बाट चिनीमा उत्पादकको हितमा निर्णय गर्नुले उच्च तहका नेतृत्वको समेत संलग्नता रहेको आरोप पनि लागेको छ ।

नेपालमा गरिने ‘सुगर पोलिटिक्स’ यहाँको लागि नयाँ नभएको उपभोक्ता हितकर्मी तथा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन दाबी गर्छन् । 

बाह्रखरीसँग कुरा गर्दै उनले भने, “पछिल्ला ३–४ वर्ष यही खेल भइरहेको छ ।” 

उनका अनुसार यो खेलमा विशेष गरेर सरकारको नीति निर्माण र निर्णय गर्ने असक्षमतामाथि चिनी कारोबार गर्ने उद्योगी व्यवसायीले भ्रम सिर्जना गरेका छन् । फलस्वरुप उनीहरुकै प्रभाव र दबाबमा सरकारले निर्णय गर्दै आएको छ ।

उनले भने, “सरकारको अदुरदर्शी निर्णयले आज चिनीको खुद्रा मूल्य ८५–९० रुपैयाँ पुगिसकेको छ ।”

किनकी चिनीको मूल्य बढ्न नदिने उत्पादक र खुद्रा व्यापारीहरुको प्रतिवद्धता भएपनि सरकारले सो निर्णय गरेको चार दिनमै चिनीको मूल्य बढ्न थालिसकेको थियो । उत्पादको हित तथा उपभोक्ताको हितविपरीत गरिएको यो निर्णयमा चलखेल भएको शंका उब्जिएको हो ।

यसो त उखु किसानलाई ३ वर्षदेखि भुक्तानी रोकेर उत्पादकले चिनीको मूल्य बढाउन खोजेको पनि देखिन्छ । उखु किसानलाई भुक्तानी दिने उद्योगीहरुको प्रतिवद्धतालाई आधार बनाएर नै सरकारले उत्पादकको पक्षमा निर्णय गर्नुले उत्पादकहरुले सरकारलाई भ्रम र दबाबमा राखेको स्पष्ट बुझ्न सकिने महर्जन बताउँछन् ।

आपूर्ति मन्त्रालय हाँकिसकेका सत्तारुढ दलका सांसदहरुले नै चिनीको मूल्यमा प्रश्न उठाइसकेको अवस्थामा खेल स्पष्ट भएको उनले बताए ।

यसअघि चिनीको मूल्य ७० रुपैयाँ बढ्न नदिने प्रतिवद्धताअनुसार काम भएको पनि थिएन किनकी असोज ११ गते भ्याटसहित ६१ रुपैयाँमा चिनी बिक्री गरिएकोमा १३ गतेयता यो मूल्य बढाएर ६४ रुपैयाँ पुर्याइएको छ ।

यो पनि पढ्नुहोस्

चिनीको भन्सारदर घटबढले कसलाई फाइदा, कसलाई घाटा ?

व्यवसायी भन्छन् – खरिद गर्दा नै ६९ रुपैयाँ पर्छ, ८० रुपैयाँमा बेच्नु स्वभाभिक

नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यका अनुसार खुद्रा व्यापारीले अहिले ७० देखि ७५ रुपैयाँमा चिनी बिक्री गरिरहेको बताए । उनले भने, “केही समयअघि खरिद गरेको यो मूल्यमा बेचिएको हो । अहिले साल्ट ट्रेडिङसँग चिनी किन्दा प्रतिकिलो ७२ रुपैयाँ तिर्नुपर्छ । सो मूल्यमा किनेको चिनीमा हाम्रो विभिन्न खर्च र नाफा जोडेर बिक्री गर्दा ८० रुपैयाँ पुग्छ ।” 

अझै टाढासम्म ढुवानी गर्नुपर्यो भने ती स्थानमा सर्वसाधारणले ८० रुपैयाँभन्दा पनि बढी तिर्नुपर्ने अवस्था सिर्जना हुने उनी बताउँछन् । “हरेक वर्ष यस्तै चलखेल हुन्छ, अनुगमन खुद्रा व्यापारीको पसलमा हुन्छ, मारमा खुद्रा व्यापारी पर्ने गरेका छन्,” उनले भने, “हामीलाई नै ६९ रुपैयाँ पर्ने भएपछि चिनीको मूल्य ८० रुपैयाँ पर्नु स्वभाविक हैन र?”

उपभोक्ताको ढाड यसरी सेकिँदैछ
भारतमा नेपाली ४५–५० रुपैयाँमा पाइने चिनी नेपाली जनताले ८५ देखि ९० रुपैयाँ तिर्नुपरेको छ । उपभोक्ताकर्मीका अनुसार कालोबजारी गर्नेहरुले २ वर्षअघि ५३ रुपैयाँमा बिक्री गरिरहेको चिनी लुकाएर अहिले महँगोमा बिक्री गरिहेका छन् । उनीहरुका अनुसार भन्सार बढेको र चिनी आयातमा कोटा सिस्टम लागु भएको कारण नेपालमा चिनीको अभाव रहेको देखावटी समस्या सिर्जना गरेर उत्पादक स्वयम् महँगोमा चिनी बेच्ने खेलमा लागेका हुन् ।

अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालमा चिनीको मूल्य कयौं गुणा बढी हुनुले पनि आर्थिक खेल स्पष्ट हुने उनीहरुको दावी छ ।

सरकार भन्छ – चिनीको मूल्य ७० कायम गरेका छौं

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनका अनुसार केही दिनयता अनुगमनकर्ता ग्राहक बनेर खरिद गर्दा पनि चिनी ७० रुपैयाँमा पाइएको छ । सुपरमार्केटहरुले ५९ रुपैयाँमा पनि चिनी बेचेको पाइयो । तीमध्ये एउटाले ७२ रुपैयाँमा चिनी बिक्री गरेको पाइएपछि सो मार्टलाई पनि मूल्य कम गर्न निर्देशन दिएको उनी बताउँछन् ।

अनुगमनमा काठमाडौं उपत्यककाको प्राइम लोकेसनमा मूल्य सूचीमा ७५ लेखिएको भए ७० बनाउन निर्देशन दिइएको छ । गौचनले कतिपय व्यापारीले समाचारमा ७५ रुपैयाँ सुनिएका कारण प्रतिकिलो ७५ मा बिक्री गरिरहेको पनि पाइएको बताए ।
गौचनका अनुसार प्राइम लोकेसनमा चिनीको मूल्य प्रतिकिलो ७० रुपैयाँ नाघ्नुहुन्न भन्ने सरकारको मान्यता छ । उनले भने, “हामीले सोहीअनुसार आवश्यक निर्देशन पनि दिएका छौं ।”

यसपछाडिको कारण छ – चिनी उत्पादक संघले साढे ५७ रुपैयाँमा मूल्य अभिवृद्धि कर जोडर बिक्री गर्ने सहमति जनाएको आधारमा व्यवसायाीललाई खरिद मूल्य बढीमा ६५ हुन जान्छ ।  यसमा नाफा र अन्य खर्च जोड्दा सर्वसाधारणले चिनीको मूल्य ७० भन्दा बढी तिर्नुपर्दैन ।

यसो त कोही खुद्रा बिक्रेताले आफूलाई महँगो पर्न आएको उजुरी विभागलाई दिन्छ भने ती व्यवसायी तथा उत्पादकलाई कारबाही गर्न विभाग तयार रहेको पनि गौचनले बताए ।

खुद्रा मूल्य नियन्त्रण गर्ने संयन्त्र हामीसँग छैन – उत्पादक

नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालका अनुसार नेपालमा चिनीको मूल्य गतवर्षको तुलनामा २० रुपैयाँ सस्तो छ । उनका अनुसार नेपाली कच्चापदार्थमा निर्भर उद्योगको संरक्षण तथा उखु कृषकको हितमा होस् भनेर सरकारले परिमाणात्मक बन्देज लगाएको हो । उनले भने, “लागत मूल्यमा पनि उत्पादकलाई ७ देखि ८ रुपैयाँ घाटा हुने भएकाले सरकारले यो निर्णय गरेको हो ।”

उत्पादक अग्रवालका अनुसार परिमाणात्मक बन्देज लगाइनुपूर्व उत्पादकहरुले साढे ६१ रुपैयाँमा चिनी बिक्री गरेका थिए । अहिले सम्झौताअनुसार करसहित ६५ रुपैयाँमा बेच्दै आएको पनि उनले जानकारी दिए । उनले भने, “अहिले चिनीको खरिद मूल्यमा बढेको हैन र खुद्रा बजारमा चिनीको मूल्य नियन्त्रण गर्ने संयन्त्र हामीसँग पनि छैन ।” 

यद्यपि अहिले उत्पादकमाथि शंका गर्ने ठाउँ नभएको र व्यवसायीलाई चिनी आवश्यक परे उत्पाकहरु सरकारले तोकेको मूल्यमा चिनी बिक्री गर्न तयार रहेको उनले दावी गरे ।

यसैबीच बजारमा चिनीको मूल्य आकासिएको बेलामा देशैभर भाटभटेनी सुपरमार्केटले भने प्रतिकिलो ५९ रुपैयाँका दरले चिनी बिक्री गरिरहेको छ । चिफ अपरेटिङ अफिसर पानु पौडेलका अनुसार एकजनाले प्रतिदिन २ किलोसम्म खरिद गर्न सक्छन् भने त्योभन्दा बढी खरिद गर्न चाहनेले प्रतिकिलो ६९ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

सुपरमार्केटले यो सस्तोमा चिनी बिक्री गर्नुको कारण छ – दशैं, तिहार तथा छठ अफर । पौडेलका अनुसार नाफाबाहेक व्यापार गर्नुको अर्को पाटो सेवाका लागि घाटा खाएरै भएपनि सर्वसाधारणलाई सस्तोमा चिनी उपलब्ध गरिएको हो । 
उनले भने, “हामीले अहिले बिक्री गरेको चिनीमा प्रतिकिलो १२ रुपैयाँ घाटा छ । यो चिनीको खरिद मूल्य ७१ रुपैयाँ प्रतिकिलो हो ।” चिनीसहित भाटभटेनीले अन्य ४६ उपभोग्य खाद्यान्न वस्तु पनि सुपथ मूल्यमा उपलब्ध गराएको जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, असोज १७, २०७५  ०७:३१
प्रतिक्रिया दिनुहोस्