site stats
बाह्रखरी :: Baahrakhari
विशेष

नामटार (मकवानपुर) । एक वर्षअघि गाँजा खेती नष्ट गर्न मकवानपुरको नामटार पुग्दा प्रहरीमाथि गोली प्रहार भयो । ५१ जनाको प्रहरी टोलीमाथि नामटार–६ स्थित भवाङको डाँडो चढ्दै गरेका बेला तस्कर र केही स्थानीय जाइलागेका थिए । मकवानपुरका नामटार, सरिखेत, राक्सीराङलगायत गाविसमा व्यावसायिक रूपमा सयौं रोपनीमा भइरहेको गाँजा खेती नष्ट गर्ने प्रहरीको प्रयास गत साल सफल हुन सकेन । २० वर्षदेखि गाँजा खेती भइरहेको सो स्थानमा पुग्ने आँट गर्न नै प्रहरीलाई लामो समय कुर्नुपरेको थियो ।
तर, एक वर्षपछि अहिले भने स्थिति उल्टो भएको छ । केन्द्रदेखि जिल्ला तहका प्रहरीलाई यहाँको गाँजा खेती नष्ट गर्न निकै सकस भइरहेकोमा अहिले स्थानीय नै यसलाई नष्ट गर्न सहयोगी बने । एक वर्षअघि त्यही प्रहरीमाथि जाइलागेका स्थानीयले एक वर्षपछि फूलमालाले स्वागत गरे । 
नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोका डीआईजी जयबहादुर चन्द भन्छन्, “गाँजा खेतीको मुख्य जड भनेको मकवानपुरका केही गाविस हुन्, जहाँ एक वर्षअघि प्रहरीमाथि गोली प्रहार गरिएको थियो । अहिले भने स्थानीय आफैं जागरुक भएर गाँजा खेती नष्ट गर्न सहयोगी बनेका छन् ।” 
गएको बिहीबार प्रहरी टोलीको नेतृत्व गरेर नामटार आएका डीआईजी चन्दले यहाँको गाँजा खेती नष्ट गर्न नसक्नुको कारण पनि यसरी खुलाए, “कुनै बेला देशमा द्वन्द्व चर्केको थियो । गाउँमा प्रहरी आउने अवस्था थिएन । त्यही मौका छोपेर गाँजा तस्करले नामटारलाई गाँजा खेतीको केन्द्र बनाए । जमिन बिगार्ने गरी रसायन मल प्रयोग लगाए स्थानीयलाई । पैसाको मुठा देखेपछि स्थानीय पनि लोभिए । 
अब भने नागरिकले बुझेका छन्, यो गलत रहेछ भनेर । त्यसको फलस्वरूप प्रहरीको छायाँ पनि देख्न नचाहने स्थानीयले प्रहरी चौकीको माग गरे । त्यसपछि त गाँजा खेती नष्ट गर्न हैन, गाँजाको एक बोट पनि रोप्न हँुदैन भन्दै जाग्न थाले । गाँजाको बोट रोप्नु भनेको अपराधको बोट रोप्नु हो । यो कुरा यहाँका नागरिकले बुझेका छन् । अब मकवानपुरलाई गाँजा खेतीमुक्त बनाउने अभियानमा हामी लागिपरेका छौं । गाँजा खेती हुने क्षेत्रका विद्यालयमा समेत पुगेर हामीले चेतना जगाएका छौं ।”
स्थानीयवासी पनि प्रहरीको अनुपस्थितिकै कारण गाँजा खेती फस्टाएको स्वीकार्छन् । नामटारका मणिकलाल मोक्तानले भने, “गाँजा खेती गर्नु गैरकानुनी हो भनेर हामीलाई कसैले सिकाएन । भारतीयहरू आएर गाँजा खेती गर्न सिकाए । त्यति बेला प्रहरी गाउँ छिर्ने कुरै थिएन । एक कट्ठा जमिनमा अरु बाली लगायो भने ५ हजार आम्दानी हुन्थ्यो, तर त्यही जमिनमा लगाएको गाँजाबाट डेढ लाख कमाइ हुने । अनि किन नलगाउने त गाँजा ?”
द्वन्द्व सकिएपछि प्रहरी गाउँ गाउँमा त पुग्यो, तर गाँजा खेती रोक्न सकेन । कारण, स्थानीयको असहयोग । प्रहरीसँग लुकामारी गर्दै गाँजा खेती चलि नै रह्यो । बल्ल स्थानीय प्रहरीको सहयोगी भएका छन् । धेरै उत्पादन गर्न तस्करहरूले रसायन हाल्न लगाएको र त्यसले माटो बिगारेको कुरा स्थानीयले बल्ल बुझेका छन् । 

यसरी सुरु भयो गाँजा खेती
स्थानीयका अनुसार ०५२ साल साउनमा दुई जना भारतीय नागरिक गाँजाको बीउ लिएर नामटार आए । उनीहरूले गाउँलेलाई यो खेती गरौं, राम्रो हुन्छ र धेरै फाइदा पनि हुन्छ भनेर लोभ्याए । साउनमा लगाएको गाँजा माघमा उठाइयो । पहिलो वर्षको उत्पादन राम्रै भएपछि हौसिएर खेती गर्ने क्षेत्रफल बढाए । 
सुरुका वर्षमा तस्करहरूले एक किलो गाँजाको एक हजार रुपैयाँसम्म दिए । बिना कुनै लगानी लाखौं रकम आउने भएपछि स्थानी अन्य बाली नलगाएर गाँजा खेतीमै हौसिए । बिस्तारै गाँजाको मूल्य पनि घट्यो, अनि एक हजारमा बिक्ने एक किलो गाँजाको मूल्य एक सयमा झर्यो । तस्करहरूले अन्य क्षेत्रमा पनि गाँजा खेती बिस्तार गरेर विकल्प बनाइसकेका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

स्थानीयलाई बीउ निःशुल्क दिएका तस्करहरूले निकै चलाखी गर्ने गरेको भेटियो । सुरुका वर्षमा गाँजाको बीउ दिए, दोस्रो पटक बीउ पनि उतै उत्पादन भयो । तर गाँजा बनाउने मिस्त्री र गाँजाको प्रकार छुट्याउने भने भारतीय नै थिए । 
स्थानीयका अनुसार भारतीय मिस्त्रीहरूले कहिल्यै पनि नेपालीलाई गाँजा बनाउन र भाले–पोथी छुट्याउन सिकाउँदैनन् । साउनमा लगाएको गाँजा केही समयपछि भाले–पोथी छुट्याउनुपर्ने हुन्छ । भाले बोटमा धेरै दाना भएका कारण गाँजा राम्रो हुँदैन । यस्तोमा भाले बोट मासेर पोथीमात्र राख्नुपर्ने हुन्छ । त्यो काम नेपालीले गर्न सक्दैनन् । भाले–पोथी छुट्याएकै भरमा भारतीय मिस्त्रीले एक भाग उत्पादन पाउँछन् । 

२१ वर्षमा ८ पक्राउ
लागु औषध नियन्त्रण ब्युरोका अनुसार २१ वर्षको अवधिमा नामटार गाविसका ८ जना चरेश–गाँजा कारोबारमा पक्राउ परी जेल पुगेका छन् । गाँजा खेती गर्न लगाएर तस्करहरू गायब हुन्छन् । रेखदेखको जिम्मा स्थानीयको हुन्छ । उत्पादनदेखि ओसारपसारमा पनि स्थानीय संलग्न हुने भएकाले सजाय पाउनेमा स्थानीय नै हुने प्रहरी बताउँछ । 

स्कुलमा सचेतना कार्यक्रम
लागु औषध ब्युरोको टोलीले गाँजा खेती हुने क्षेत्रका स्कुलमा सचेतना कार्यक्रम पनि चलाइरहेको छ । गाँजाबाट समाजमा पर्ने असर र यसको खेती गर्दाका बेफाइदा अनि यसबाट हुने समस्याका बारेमा विद्यार्थीमार्फत घरघरमा  चेतना फैलाउन सहज हुने प्रहरीको निष्कर्ष छ ।

प्रकाशित मिति: आइतबार, पुस १०, २०७३  १२:१५
प्रतिक्रिया दिनुहोस्