site stats
बाह्रखरी :: Baahrakhari
देश
‘ठमेल हत्याकाण्ड’ का मुखिया गुरुङ भारतमा पक्राउ, नेपाल ल्याइँदै 

काठमाडौं । २०५८ कात्तिक १८ गते काठमाडौंको ठमेलस्थित जुली स्टुडियो डिस्कोमा बानेश्वरका १९ वर्षीय सुवर्ण गुरुङको हत्या गरी फरार रहेका मुखिया गुरुङ १६ वर्षपछि भारतमा पक्राउ परेका छन् । 

मुखियाको नेतृत्वमा कर्मा गुरुङ, राजु घले, कर्मा शेर्पा लगायतको समूहले सुवर्णको हत्या गरेको प्रहरीले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हत्यापछि अन्य पक्राउ परेपनि मुखिया भने फरार थिए । प्रहरीको आँखा छली मकाउ पुगेका  मुखिया करिव २ महिनाअघि नेपाल आएर भारत हुँदै थाइल्याण्ड जाने क्रममा भारतको जयपुर विमानस्थलबाट पक्राउ परेका थिए । भारतीय प्रहरीले पक्राउ गरेर दिल्लीस्थित पटियाला अदालतमा उपस्थित गराएको थियो । अदालतको अादेशअनुसार उनलार्इ नेपाल ल्याउन लागिएको उच्च प्रहरी स्रोतले बाह्रखरीलाई जानकारी दिएको छ ।

उनलार्इ भारतीय प्रहरीले मंसिर २२ गते पक्राउ गरेको नेपाल प्रहरी स्रोतले जानकारी दियो । मुखियालाई नेपाल प्रहरीको इन्टरपोल शाखाले खोजी सूचीमा राखेको थियो । त्यसैका आधारमा भारतीय प्रहरीले पक्राउ गरेको थियो ।

“मुखिया पक्राउ परेको करिब २ महिना हुन लाग्यो, अपराध नियन्त्रण तथा अपराधी पक्राउ गर्न दुई देशबीच सुपुदर्गी सन्धी नभए पनि अदालति प्रक्रिया पूरा गरेर नेपाल ल्याउन लागिएको हो,” प्रहरी उच्च स्रोतले भन्यो । 

नेपाल र भारतबीच सुपदर्गी सन्धी नहुँदा अपराधी तथा अभियुक्त पक्राउ गरेर बुझाउने प्रक्रिया अहिले झन्झटिलो रहेको प्रहरी स्रोतको भनाई छ ।

निर्माण व्यवसायी महासंघको अध्यक्ष शरदकुमार गौचन हत्याका योजनाकार समीरमानसिंह बस्न्यातदेखि दर्जनौं घटनाका अभियुक्तलाई भारतमा प्रक्राउ गरी ल्याएको भए पनि प्रहरीले नेपालको सीमा क्षेत्रबाट पक्राउ गरिएको बताउँदै आएको छ ।

त्यसैगरी भारतीय प्रहरीको खोजी सूचीमा रहेर नेपालमा पक्राउ गरिएकाको हकमा पनि सीमा क्षेत्रबाट पक्राउ गरिएको बताइँदै आएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०७४  १०:२०
प्रतिक्रिया दिनुहोस्